मेडिकल कलेजद्वारा सार्वजनिक सूचना जारी, ‘अक्सिजन अभावले कोरोनाका थप विरामी भर्ना लिन सक्दैनौ’


मेडिकल कलेजद्वारा सार्वजनिक सूचना जारी, ‘अक्सिजन अभावले कोरोनाका थप विरामी भर्ना लिन सक्दैनौ’

नेपालगन्ज २२ वैशाख : नेपालमै सबै भन्दा बढी कोभिड–१९ महामारीसँग जुझिरहेको बाँके जिल्लामा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप विरामी भर्ना नलिने जनाएकोछ ।

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रबन्ध सञ्चालक डाक्टर सुरेश कुमार कनोडियाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो बताएको हो ।

‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट कोभिड विरामीको उपचार भइरहेको थियो । तर, सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङक सकिएको र भारतबाट आउन नसकेकोले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोना विरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिकरुपमा सबैलाई जानकारी गराउन चाहान्छौं ।’ मेडिकलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बाँकेमा बढ्दो कोरोना संक्रमितको प्रभावकारि उपचारका लागि मेडिकल कलेजले यसअघि कोहलपुर शिक्षण अस्पतालको सम्पूर्ण सेवा बन्द गरि तीन सय बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालन गर्ने तयारी गरेको थिया । तर, अक्सिजन अभावमा ती बेड सञ्चालन गर्न नसकिएको मेडिकल कलेजले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना विरामीको स्वास्थ्य उपचारप्रति अस्पताल गम्भीर रहेको भन्दै नेपाल सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याङक यथासक्य चाँडो उपलब्ध गराइदिए अस्पतालले तुरुन्त तीन सय बेड सञ्चालन गरि कोरोना विरामी भर्ना गर्ने विज्ञप्तीमा जनाइएकोछ ।

अस्पतालले अक्सिजन अभावका विषयमा यसअघि वैशाख १९ र २१ गते अक्सिजन आपूर्तीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरि अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउनसक्ने भन्दै जानकारी समेत गराएको उक्त विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै कोरोना विरामीको चाप यही अस्पतालमा हुने भएकाले कोरोना विरामीका लागि हरेक ५ दिनमा एउटा लिक्विड अक्सिजन ट्याङक वा दैनिक ८ सय अक्सिजन सिलिण्डरको आवश्यक्ता रहेको जानकारी दिदैं नेपाल सरकारलाई यथाशिघ्र अक्सिजन उपलब्ध गराउन मेडिकल कलेजका प्रबन्ध सञ्चालक डाक्टर कनोडियाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा भेरी अस्पतालमा कोरोना संक्रमित विरामीका कारण बेड भरिन थालेपछि मेडिकल कलेजले यही वैशाख ३ गतेदेखि कोभिड–१९ विरामीका लागि आइसियुसहित ४५ बेड सञ्चालन गरि उपचार शुरु गरेको थियो । पछि अस्पताल र नेपाल सरकारसंग सम्झौता भइ एक सय बेडको कोभिड–१९ वार्ड सञ्चालन गरेपनि विरामीको चाप बढ्दै गएपछि तीन सय बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालनको तयारी थालिएको थियो ।

यसैबीच, सेतोखरीले मङ्गलबार मात्रै ‘बाँकेमा अक्सिजन अभाव, भएको अक्सिजन भारत तस्करी, छट्पटीदै बिरामी शीर्षकमा समाचार सम्प्रषण गरेको थियो ।

नेपालगन्जमा भएको अक्सिजन भारतमा तस्करी भएपछि झन् समस्या थपिएको हो । नेपालगन्जको परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ यूपी सरकारले भारतमा रहेका आफ्ना बिरामी बचाउन अक्सिजन लग्ने गरेको छ ।

नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न भएको हो ।

सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका यहाँका अस्पतालहरुमा अक्सिजन अभाव हुन पुगेपछि अक्सिजन दिनु पर्ने बिरामीहरु अक्सिजन नपाएर अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन् ।

बाँकेको सरकारी स्तरको भेरी अस्पताल र निजिस्तरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना विरामीको उपचार हुँदै आएको छ ।