बाँकेमा अक्सिजन अभाव, भएको अक्सिजन भारत तस्करी, छट्पटीदै बिरामी


बाँकेमा अक्सिजन अभाव, भएको अक्सिजन भारत तस्करी, छट्पटीदै बिरामी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित अक्सिजन अनुगमन गर्दै बाँकेका सिडिओ शिवराम गेलाल लगायत सर्वदलिय टोली । तस्बिर : सेतोखरी

नेपालगन्ज २१ वैशाखः नेपालमै सबै भन्दा बढी कोभिड–१९ महामारीसँग जुझिरहेको बाँके जिल्लामा अक्सिजन अभाव भएको छ ।
 
सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका यहाँका अस्पतालहरुमा यतिखेर अक्सिजन अभाव हुन पुगेपछि अक्सिजन दिनु पर्ने बिरामीहरु अक्सिजन नपाएर अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन् ।
 
बाँकेको सरकारी स्तरको भेरी अस्पताल र निजिस्तरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना विरामीको उपचार हुँदै आएको छ ।

भेरी अस्पतालले बेड अभावमा कोरोना बिरामी भर्ना बन्द गरिसकेको छ भने जेनतेन सिलिण्डरबाट विरामीलाई अक्सिजन पु¥याइरहेको छ । तर, मेडिकल कलेजमा बेड भएपनि अक्सिजन अभावमा नयाँ बिरामी भर्ना हुन नपाउँदा अस्पताल परिसरमा छट्पटाइरहेका हुन्छन् ।

कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायत जिल्लाका कोराना बिरामीलाई भेन्टिलेटरसम्मको उपचार दिइरहेको नेपालगन्ज मेडिकल कलेजले यतिखेर अक्सिजन अभाव भएपछि कलेजका उप–निर्देशक डाक्टर नितेश कनोडिया हैरानीमा छन् ।
 
उप–निर्देशक डाक्टर कनोडियाले कोरोना बिरामी उपचार गर्न ३ सय बेड तयार पारेपनि अक्सिजन अभाव भएकाले १४० बेड मात्र सञ्चालन गरिरहेको बताए ।

अक्सिजनको अभावमा थप बेड सञ्चालन हुन नसकेपछि कोरोनाका बिरामीहरु अस्पताल परिसरमा पालो कुरेर बसिरहेका देखिन्छन् ।

भएको लिक्विड अक्सिजन ट्याङ्क सकिन लागेको र भारतले लिक्विड अक्सिजन ट्याङ्क ल्याउन नदिएपछि कोरोना उपचारका लागि सञ्चालन गर्ने भनिएको ३ सय बेड सञ्चालन हुन नसकिरहेको उप–निर्देशक डाक्टर कनोडियाले सेतोखरीलाई जानकारी दिए ।

हामी खरिद गर्छौ सरकारले लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाइदेवस तुरुन्त हामी ३ सय बेड सञ्चालन गर्छौं । उप–निर्देशक डाक्टर कनोडियाले भने अक्सिजन दिनु पर्ने नयाँ बिरामी आएर अस्पताल परिसरमा पालो कुरेर बसिरहेका हुन्छ, बिरामीको छटपटी हामी टुलुटुलु हेरिरहेका हुन्छौं । हाइफ्लो अक्सिजन चाहिने बिरामी हुन्छन् सिलिण्डरको अक्सिजन दिएर पुग्दैन, पुरोना विरामी डिसचार्ज भएपछि मात्र नयाँ भर्ना गर्न मिल्छ ।
 
भएका बिरामीलाई पनि अब केही दिन मात्र अक्सिजन पुग्ने जानकारी दिंदै उप–निर्देशक डाक्टर कनोडियाले साच्चिकै बिरामी बचाउने हो भने सरकारले छिटो भन्दा छिटो लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाई दिन अनुरोध गरे ।

यता नेपालगन्जमा भएको अक्सिजन भारतमा तस्करी भएपछि झन् समस्या थपिएको छ । नेपालगन्जको परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ यूपी सरकारले भारतमा रहेका आफ्ना बिरामी बचाउन अक्सिजन लग्ने गरेको छ ।

नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न भएको हो । सीमानाकामा रहेको ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी नायब निरीक्षक सई बिष्णु गिरीले यस सातासम्म नेपालगन्जबाट दैनिक २,३ गाडी अक्सिजन भरिएको सिलिण्डर भारत निकासी भएको जानकारी दिए । उनले अहिले रोक्नु भन्ने आदेश आएको पनि बताए ।
Kids Festival 2022
kanti aarogya hospital
add