बेड अभावमा भेरी अस्पताल प्राङ्गणमै पाल टाँगेर संक्रमितको उपचार


बेड अभावमा भेरी अस्पताल प्राङ्गणमै पाल टाँगेर संक्रमितको उपचार

नेपालगन्ज २९ वैशाख : देशमै सबैभन्दा बढि कोरोना संक्रमणले ग्रसित बाँके जिल्लामा संक्रमितको उपचारमा समस्या थपिँदै गएकोछ । दिनहुँ ठूलो मात्रामा भेटिने कोरोना संक्रमितका नयाँ विरामीलाई बेड अभाव भएपछि उपचारमा समस्या भएको हो ।

भेरी अस्पतालमा कोरोना संक्रमित विरामी खचाखच भरिएकाछन् । कोभिड–१९ का लागि भनेर बनाइएको कोभिड–१९ वार्डको १४२ बेड संक्रमितले भरिएकाछन् । थप विरामी राख्ने ठाँउ छैन । यतिमात्र होइन कोरोना संक्रमितको चापका कारण अस्पतालको इमरजेन्सि कक्षमा समेत विरामी राखेर उपचार गर्नुपर्ने बाध्यता यतिबेला भेरी अस्पतालले खेपिरहेकोछ ।

बेड अभावमा उपचार गर्न समस्या भएपछि यतिबेला सरकारी तहको भेरी अस्पताल नेपालगन्जको प्राङ्गणमै अस्थायी रुपमा पालमुनी कोरोना संक्रमित उपचार गर्न बाध्य छन् । नेपालगन्जको वैशाख–जेठको चर्को घाम, हावा र पानीसंग जुध्दै कोभिड विरामी पालमुनी उपचार गराइरहेकाछन् ।

यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अक्सिजन अभावका कारण कोरोनाका थप नयाँ विरामी भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना समेत जारी गरिसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्लामा सरकारी तहको भेरी अस्पताल र निजी तहको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मात्रै कोरोना संक्रमित विरामीको उपचार भइरहेको छ । यी दुवै अस्पतालमा कोरोना संक्रमित विरामीका कारण बेड भरिएकाछन् ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कोभिड–१९ संक्रमितले भरिएपछि अन्य बिरामी लिन नसकिने अवस्था आएको छ ।

देशमै सबैभन्दा बढि बाँके कोभिड संक्रमणको दोस्रो लहरले आक्रान्त बन्दै जाँदा यस्तो समस्या उत्पन्न भएको हो । संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालका अन्य वार्डमा समेत विरामी राखेर उपचार गर्नुपर्ने बाध्यता आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापा बताउँछन् ।

उनले भने ‘अस्पतालको इमरजेन्सी, ड्रेसिङ्ग रुम, हल, गलीदेखि सबै खाली ठाउँमा बेड राखेर संक्रमितको उपचार गरिरहेकाछौं । कतिपयलाई भुई (जमिन) मै राखेर उपचार गर्न बाध्य छौं । थप विरामी आएर बस्ने ठाँउ नै नभएको अवस्था छ ।’

मेसु डाक्टर थापाले भने –कोभिडका विरामीको चापले अक्सिजनको खपत ह्वात्तै बढेकोछ । केही दिनअघिमात्रै दिनहुँ ४ सय अक्सिजन सिलण्डर खपत भइरहेको थियो तर, ठाँउ–ठाउँमा छरिएर रहेका विरामीको उपचार गर्नुपर्ने बाध्यता भएपछि सबैलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएकोछ ।’

‘पछिल्लोपटक आएका कोरोनाका संक्रमित विरामीलाई १० लिटरको अक्सिजन सिलिण्डरबाट फुल अक्सिजन सप्लाई दिँदासमेत सेचुरेसन मेन्टन भइरहेको छैन । यस्तो अवस्थामा पनि हामी पछि हटेका छैनौं अस्पतालले जेनतेन आफ्नो क्षमता अनुसार सेवा प्रवाह गरिरहेको छ तर यो समस्या समाधान भएन भने अवस्था झनै डरलाग्दो हुन्छ ।’ मेसु डाक्टर थापाले बताए ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित विरामीको भरपर्दो उपचारको केन्द्र बाँके यतिबेला स्वयम कोरोनासंग जुधिरहेकोछ । सो प्रदेशका विभिन्न जिल्लाबाट समेत कोरोनाका जटिल संक्रमितहरु भेरी र मेडिकल कलेज अस्पतालमा उपचारका लागि आउने गर्दछन् ।

यसैबीच, बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको पहल र युनिसेफको सहयोगमा भेरी अस्पताल इमरजेन्सी अगाडी अस्थायी रूपमा विरामीको उपचारको लागी (पाल) टेन्ट राखिदैछ । उक्त टेन्ट(पाल) निर्माणको काम नेपाली सेनाले गरिरहेको छ जहाँ ६ जना विरामीका लागि बेड राखिनेछ ।