मंगलबार, असार १, २०७८   ०७:५०:१६

‘डू एण्ड डाई’को अवस्था थियो, छतबाट हाम फाल्दा ज्यान बाँच्यो


ज्यान बचाउँन अस्पतालको एक तले छतबाट हाम फालेका स्टाफ नर्सद्वय सदिक्षा गैरे र अश्विनी गुरुङ्ग । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज १४ जेठ : भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ११ का कोरोना संक्रमित ५२ डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तले अस्पतालका चिकित्सक र स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरे ।

राजनीतिक पावरमा आफूहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै पीडित र स्वास्थ्यकर्मीहरुले शुक्रबार बिहानैदेखि दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका थिए ।

भेरी अस्पताल परिसरमा प्रर्दशन गरेका स्वास्थ्यकर्मीहरुले आफ्ना माग सुनुवाई नभएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरानुका साथै जिल्ला प्रशासन कार्यालयमा पुगी सर्वपक्षिय छलफल समेत गरेको छ ।

बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज रावत र भरत रावतविरुद्ध भेरी अस्पतालका ७ जना स्वास्थ्यकर्मीले किटानी जाहेरी दर्ता गराएको छन् ।

आक्रमणबाट बच्न अस्पतालको एकतले छतबाट हाम फालेका स्टाफ नर्सद्वय सदीक्षा गैरे र अश्विनी गुरुङ्ग यो घटनालाई भुल्न नसक्ने बताउँछन् । उनीहरुलाई त्यो घटनालाई सम्झिदाँ शरीरनै सिरिङ्ग हुन्छ । अझ पनि कोही आएर आफूमाथि आक्रमण गरिहाल्ने हो की भन्दै बेलाबखत झस्किन्छन् स्टाफ नर्सद्वय गैरे र गुरुङ्ग ।

बिरामीको उपचारमा औंला नकमाएका उनीहरु यतिबेला मानसिकरुपमा पीडित बनेकाछन् । अझ आफूहरुमाथि आक्रमण गर्ने ब्यक्तिलाई कारबाही नहोला भन्दै शंका समेत उनीहरुले ब्यक्त गरिरहेकाछन् । राजनीतिक पावरमा उनीहरु छुट्ने र पछि पनि आक्रमण गर्न सक्ने भन्दै आफू र आफ्नो परिवारको सुरक्षा हुनुपर्ने स्टाफ नर्सद्वयको भनाइ छ ।

अस्पतालको छतबाट हाम फालेर ज्यान बचाएका स्टाफ नर्सले सेतोखरीलाई सुनाएको घटना विवरण :

सदीक्षा गैरे, स्टाफ नर्स


मेरो नाईट ड्यिुटी थियो । बेलुका ७ बजेदेखि ड्यिुटी सुरु हुन्छ । कोडिभ आइसियुको बेड नम्बर १३ को विरामी बिहानैदेखि स्याचुरेसन अप एण्ड डाउन भइरहेको थियो । २–३ दिनअघि नै डाक्टरहरुले विरामीका मान्छेलाई काउसिलिङ्ग गरिसक्नुभएको थियो । मेरो नाइट ड्यिुटी सुरु भइसकेपछि उहाँको (बेड नम्बर १३ विरामी) स्वास्थ्य जटिल हुदैँ गयो । उहाँलाई सहज होला र अक्सिजन लेभल बढ्ला भनेर भेन्टिलेटरमा राख्यौं । भेन्टिलेटरमा राखिसकेपछि विरामीका आफन्तले मेरो मान्छेलाई झन मार्न लाग्यो भन्दै धम्कि दिराख्नु भएको थियो । अनि भेन्टिलेटरमा राखेपनि उहाँको स्याचुरेसन मेन्टेन्ट भएन । यस्तो भएपछि हामीले दिनुपर्ने सम्पूर्ण औषधीहरु दियौं । त्यसो गर्दा पनि उहाँको स्वास्थ्यमा सुधार आएन । अन्ततः उहाँको मृत्यु भयो ।

मृत्यु भएपछि हामीले अन्ततः मृत्यु भएनभएको भने इसिजी गर्छौं । उहाँको इसिजी गर्ने बेला अर्को विरामीको स्वास्थ्य अवस्था जटिल बन्यो । उता अरु साथी ब्यस्त हुनुभयो म एक्लैले ईसिजी गरे । सोहीबेला एक्कासी ५–७ जना(पुरुष)को समूह भित्र प्रबेस ग¥यो । विरामीको छेउमा म थिए । सिधै मेरो घाँटी अठ्याउन आए । मेरो घाँटी अठ्याउँदै दुव्र्यवहार गरेका ती पुरुषबाट मलाई छुटाउन एकजना कोभिड विरामीका कुरुवा ‘दाई’ छेउबाट उठेर मलाई छुटाउनु भयो । र, उहाँले नानु तिमी यहाँबाट भागिहाल भनेपछि म डक्टर भएको स्थानमा गए । डाक्टरलाई म माथि भएको घटना सुनाए । तत्काल डाक्टरले हामी सबै नर्सलाई समातेर क्याबिनमा लानुभयो र भित्रबाट चुक्कुल लगाउदा लगाउँदै उनीहरुको समुहले हामीमाथि आक्रमण गरिहाल्यो । यो अवस्थासम्म वातावरण भयाबह भैसकेको थियो । लछारपछार, अश्लिल गाली गलौच होहल्लाको वातावरणले हामी सबै त्रसित बनेका थियौं ।

क्याबिन भित्रै पसेर हामीमाथि आक्रमण गरिरहेका तिनीहरुबाट बच्न हामी सबैजना क्याबिनमा रहेको अट्याच ट्वाइलेट भित्र पस्यौं, ढोका लगायौं । उनीहरुले बाहिरबाट ट्वालेटको ढोकामा लगातार प्रहार गरिरहे । उग्ररुपमा आक्रमण गरिरहेका उनीहरुले ट्वाइलेटको ढोका फोड्छन् र हामीलाई मार्छन भन्ने महसुस भएपछि ट्वाइलेटको छेउमा रहेको झ्याल खोल्यौं । चकमन्न रात थियो । अध्याँरोले बाहिर केही देखिदैनथ्यो । बाहिर के छ कस्तो छ त्यो देखिदैनथ्यो । यस्तोमा हाम फालेर ज्यान बचाउने हो भनेर पालैपालो हाम फाल्यौं । त्यहाँबाट भागेर अस्पताल परिसरभित्रकै एउटा भवनको कोठाभित्र लुक्यौं । एकघण्टा लुकेपछि अस्पतालकै एकजना दिदीलाई फोन गरेपछि हामीलाई लिन सरहरु आउनुभयो । त्यो एकघण्टासम्म हामीलाई के हुन्छ अब के गर्ने भनेर सबैजना रोयौं । त्रासदिपूर्ण त्यो रात हामी कहिल्यै विर्सनेछैनौं ।

अश्विनी गुरुङ्ग, स्टाफ नर्स

विरामीको मृत्यु भएपछि आक्रोसित विरामीका आफन्तले हामीहरुलाई लखेटि लखेटि कुटपिट गरे । उनीहरुले क्याबिनको ढोका फोडे, हामी त्यहाँबाट ट्वाइलेटमा लुक्यौं । त्यहाँपनि आक्रमण गर्न आए । कुनै विकल्प नभएपछि हाम फाल्यौं । ज्यान बचायौं ।

त्यो अवस्था अत्यन्त भयाबह र त्रासदीपूर्ण थियो । त्यसैपनि उहाँहरुले हामीलाई मार्दिन्छन् भन्ने तनाव थियो । बरु छतबाट हाम फालेर हात खुट्टा भाँचिएपनि बच्नुपर्छ सोँचेर ‘डू एण्ड डाई’को स्थितीमा त्यो निर्णय लिएका हौं ।

मृतक विरामीको आफन्तहरुले ज्यान लिने उद्देश्यका साथ गरेको आक्रमणबाट बच्न भेरी अस्पतालका डाक्टर चन्द्रप्रकाश साहु, स्टाफ नर्सहरु सदीक्षा गैरे, अश्विनी गुरुङ्ग, रिता भण्डारी, भावना श्रेष्ठ र अस्पतालका कर्मचारी अब्दूल एकतले भवनबाट हाम फालेर बाँचेका थिए ।