नेपालगन्ज: हरेक मानिसको बानी, ब्यवहोरा र स्वभाव फरक हुन्छ । मानिसको बानी, ब्यहोरा कस्तो छ भन्ने उसको लवाई, खवाई, हिंडाई र काम गराईको शैलीबाट पनि थाहा पाउन सकिन्छ । मानिसको झुकाव अर्थात कुन क्षेत्रमा रुची छ, भन्ने सानै उमेरमा नै थाहा हुन्छ । यस्तै सानै उमेरदेखि राजनीतिमा लागेका मध्ये नेकपाका यूवा नेता रत्न खत्री पनि एक हुन् ।
विक्रम सम्वत् २०३४ साल चैतमा सुर्खेत, साविक घोरेटा गाविस–२, सुन्तोलामा जन्मिएका रत्नको राजनीतिप्रति झुकाव सानै उमेरदेखि जाग्यो । उनी ११ वर्षको छँदा पञ्चायती ब्यवस्था बिरुद्ध संघर्षरत उनका काका स्वर्गीय ऋषिप्रसाद शर्मालाई प्रहरीले गिरफ्तार गरेको सुनेपछि उनीमा पनि पञ्चायत बिरोधी भावना जागृत भयो । त्यतिबेला देखि नै उनले कम्युनिष्टका नेताहरुले दिएको झण्डा आँपको रुखमा बाँध्ने, झुण्ड्याउने गर्न थाले ।
त्यसपछि उनी २०४५ सालमा बाँके आए । २०४६ सालमा जनता मावि सन्तकुटीको तत्कालिन अनेरास्ववियू पाँचौका बिद्यालय प्रारम्भिक कमिटीको अध्यक्ष भएपछि उनको संगठित राजनीतिक यात्रा शुरु भयो । माले र माक्र्सबादी एकीकरणपछि उनी अनेरास्ववियू बाँके क्षेत्र नं. ३ को अध्यक्षको भूमिका निर्वाह गरे ।
२०५० सालमा एसएलसी दिएपछि उनी पुनःजन्मथलो सुर्खेत फर्किए । झण्डै सात महिना शिक्षण पेशा गरे । एसएलसीको रिजल्ट आएपछि उनी बाँके झरे । ‘ऋषि काकाले क्याम्पस पढ्ने र राजनीति गर्ने भनेर नेपालगन्ज फर्काउनु भयो,’ उनले भने ।
नेपालगन्ज आएदेखि नै उनी एमालेको राजनीतिमा सक्रिए भए । क्याम्पसमा भर्ना भए लगत्तै उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको प्रारम्भिक कमिटीको सह–सचिव, त्यसलगत्तै अनेरास्ववियू जिल्ला कमिटी सदस्यमा मनोनित भए । ०५१ देखि ०५३ सम्म जिल्ला कमिटी सहसचिव पदको भूमिका निर्वाह गरेका रत्न ०५४ देखि ०५७ सालसम्म जिल्ला कमिटी अध्यक्ष भएर संगठनलाई चुस्त, दुरुस्त बनाए ।
तैपनि उनको विद्यार्थी राजनीतिक यात्रा रोकिएन । बुटवलमा भएको अनेरास्ववियूको १७ औँ राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रिय सदस्यमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रामा थप बल पुग्यो । राजनीतिलाई निरन्तरता दिने क्रममा उनी ०५७ सालमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा उम्मेदवार भए । तर, विजय हुन सकेनन् ।
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सभापति भएर छाड्ने दृढ संकल्पका साथ अगाडी बढेका उनी २०६० को स्ववियू चुनावमा सभापतिमा निर्वाचित भए । ‘पराजय पछि सभापति भएरै छाड्ने ईख जाग्यो र निरन्तर अभियानमा लागेँ,’ उनले भने ।
उनी २०५७ सालदेखि २०६४ सालसम्म अनेरास्ववियूको साविक मध्यपश्चिम क्षेत्रको इन्चार्जको भूमिका निभाई सकेका छन् । त्यसलगत्तै २०६४ सालमा भएको १९ औँ अनेरास्ववियूको राष्ट्रिय सम्मेलनमा उनी केन्द्रिय प्रचार विभाग सदस्यमा निर्वाचित भए । तर, २० औँ राष्ट्रिय सम्मेलनमा कोषाध्यक्षमा पराजित भए । कोषाध्यक्षमा पराजयसँगै उनी भूगोलको राजनीति गर्ने भन्दै बाँके फर्किए । ‘कमरेड माधव नेपाल र अमृत बोहराले बाँके नफर्किन भन्नु भएको थियो, तर नमानेर म भूगोलको राजनीति गर्न बाँके फर्किएँ,’ उनले आफ्नो राजनीतिक यात्रा बारे सुनाए ।
बाँके फर्किएपछि झण्डै ६ महिना उनी भूमिका बिहिन भए । एमालेको आठौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उनी साविक बाँके क्षेत्र नं. ४ बाट अत्यधिक मत ल्याएर विजयी भए । ‘त्यतिबेला नन्दलाल रोकाय पहिलो र म दोस्रो पपुलर भोट ल्याएर विजयी भएका थियौँ,’ उनले सम्झिए ।
महाधिवेशनबाट देवराज भार केन्द्रिय सदस्यमा निर्वाचित भएपछि मात्र उनले एमाले बाँकेको सदस्य हुने मौका पाए । त्यसपछि उनी बिद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा सक्रिय भए । उनी जिल्लाको छैठौँ अधिवेशनबाट उपसचिवमा भारी मतका साथ निर्वाचित भए । भने, सातौँ अधिवेशनमा पनि अत्यधिक मतकासाथ सचिवमा निर्वाचित भए । ‘निरन्तर राजनीतिमा लागेका कारण मैले एकपछि अर्को सफलता पाउँदै गएँ,’ उनले भने, ‘राजनीतिमा निरन्तरता चाहिन्छ, थोरै समयमा धेरै सफलता खोज्नेहरु राजनीतिमा टिक्न सक्दैनन् ।’
राजनीति गर्दा महिनौ प्रहरीको हिरासत
राजनीति गर्ने क्रममा उनले अनेकौ किसिमका हन्डर खाएका छन् । प्रहरीको लाठी, बुट, हिरासतको अनुभव उनले लिएका छन् । २०४८ सालमा साविक उढरापुर गाविसको गिजरामा बसेका सुुकुम्बासीलाई हटाउन हुँदैन भन्ने विरोध गर्दा उनले प्रहरीको बुट, लाठी र हिरासतको पहिलो अनुभव गरे । सरकारको विरोध गर्दा उनले २४ घण्टा हिरासत बस्नु परेको थियो ।
तत्कालिन राजा ज्ञानेन्द्रले शासन लिएका बेला उनी बिगुल साप्ताहिकको सम्पादक थिए । भाषा सम्पादन पत्रकार एवम् साहित्यकार रेशम बिरहीले गर्दै आएका थिए । राजाले शासन सत्ता टिकाउन मिडियामाथि अंकुश लगाए । तर उनी राजाले लगाएको अंकुशको प्रवाह नगरि बिगुल प्रकाशनलाई निरन्तरता दिए ।
नेपालगन्जबाट पत्रिका प्रकाशन गर्न नपाइने भएपछि उनी भारतको नानपाराबाट पत्रिका प्रकाशन गर्ने र नेपालगन्ज, कोहलपुर, खजुरा, सुर्खेत, दाङ लगायत जिल्लामा वितरण गर्ने ब्यवस्था मिलाए । बिगुल पत्रिकाको सम्पादक भएको जानकारी पाएपछि सुरक्षाकर्मीले उनको खोजी गर्न थाल्यो र प्रभात मावि जी गाउँमा पार्टीको जिल्ला कमिटी बैठक चलिरहेका बेला उनलाई पक्राउ गर्न सेनाको टोली त्यहाँ पुग्यो । देवराज भारले सेनालाई भुलाए भने, अशोक कोइरालाले मोटरसाईकलमा बोकेर बाबुराम गौतमको घर पु¥याए । उनी गौतमको घरमा तीन दिन लुकेर बसे । सेनाबाट जोगिन उनले कपाल मुन्डन गरेर भूमिगत भए ।
सेनाबाट जोगिन उनी भारतको सीमावर्ती बजार रुपईडिहा पुगे । त्यहिँबाट पत्रिका र पार्टीको काम गर्न थाले । तर, त्यहाँ पनि उनलाई सेनाले पिछा गर्न छोडेन । भारतीय प्रहरीको सहयोगमा सेनाले नेपाल ल्याउन खोजेको सूचना पाएपछि उनी नेपालगन्ज फर्किए । त्यसपछि उनलाई प्रहरीले गिरफ्तार गरेर एक महिना हिरासतमा राख्यो । ‘स्ववियू निर्वाचनको घोषणा भएपछि प्रहरीले हिरासतमुक्त ग¥यो,’ उनले भने ।
तर, स्ववियू निर्वाचनपछि पुनः उनलाई प्रहरीले मानसिक यातना दिन सुरु ग¥यो । त्यसपछि उनी पार्टीको सल्लाह बमोजिम काठमाडौं गए । काठमाडौंमा संगठनले उनलाई गंगबु क्षेत्रको कमाण्ड सम्हाल्ने जिम्मा दियो । उनी प्रकाश ज्वालाको नेतृत्वमा २०६२–०६३ को जनआन्दोलनमा सहभागी भए । आन्दोलन सफल भएपछि उनी बाँके फर्किए ।
माओवादी र सेनाको दोहोरो मार खेपें
तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता शासन हत्याएको बेला उनी दशैंमा जन्मथलो सुर्खेत गएका थिए । उनी आफ्ना साथीभाईसँग मिलेर भलिबल खेलिरहेका बेला तत्कालिन माओवादीले बुवालाई यातना दिइरहेको सूचना उनले पाए । र, साथीभाईलाई लिएर बुवा भएको ठाउँमा पुगे । उनी र उनका साथी मिलेर माओवादीको हतियार खोसेर फालिदिए ।
दशैंको टिका लगाइरहेको बेला झण्डै १५० जना हतियार बोकेका कम्ब्याट ड्रेस लगाएका माओवादी लडाकु घरतिर आउन लागेको देखेर उनी टिका नलगाएर घरबाट भागे । उनलाई घरमा नभेटेपछि माओबादीको टोलीले मृत्यू दण्डको घोषणासहितको पत्र घरमा टाँसेर गए । ‘उक्त घटनापछि लामो समयसम्म म जन्मथलो गएन,’ उनले भने ।
राजाले प्रत्यक्ष शासन लिएर संकटकाल लगाएको बेला उनका बुवालाई माओवादीले अपहरण गरेर लगे । त्यतिबेला उनी स्ववियू सभापति थिए । बुवालाई माओवादीले अपहरण गरेर लगेको जानकारी पाएपछि उनी दोधारमा परे । जाउँ भने माओवादीले मृत्यू दण्डको घोषणा गरेको छ । नजाउँ त बुवालाई नै माओवादीले अपहरण गरेर लगेको छ । उनको दिमागले काम गरेन । तै पनि उनी आफ्नो ज्यानभन्दा बुवालाई अपहरण मुक्त गराउनु नै महानता सम्झेर सुर्खेत जाने निधो गरे ।
सुर्खेत जान क्याम्पसबाट निस्किनासाथ ट्राफिक चोकबाट उनलाई सशस्त्र प्रहरीले गिरफ्तार गरि विद्युत रोडस्थित डिआइजी कार्यालय पु¥यायो । र, आँखामा कालो पट्टी बाँधेर बन्दुकको कुन्दा, बुट र लाठी बर्षायो । त्यतिले नपुगेपछि २–३ घण्टा गन्हाउने शौचालयमा लगेर थुन्यो ।
त्यसपछि छतमा लगेर प्रश्नोत्तर सुरु भएको उनले बताए । त्यहाँ नक्कली माओवादी खडा गरेर उनको परीक्षा लिइयो । अनेकथरि प्रश्न र सवाल, जवाफ पछि उनलाई सशस्त्र प्रहरीले निर्दोष भएको भन्दै छोड्ने निधो ग¥यो । ‘तेरो नजिकको मान्छेलाई बोला, उसको रोहबरमा तँलाई छोड्छौं भनियो । मैले गोविन्द कोइरालाको नाम र फोन नम्बर दिएँ, उनीहरुले मानेनन् । अनि नजिकै डेरा गेरर बस्ने सरस्वती जिसीको नाम दिएँ,’ उनले भने ।
अनाहकमा सशस्त्र प्रहरीको यातना
हिरासत मुक्त भएपछि एकजना सईले तँलाई पोल्ने तेरै साथी बिर्ख रावलले हो भन्यो । म सरासर कोठामा गएँ । सिरानीमा राखेको खुकुरी झिकेर बिर्ख रावललाई खोज्न उनको कोठामा गएँ । तर, उनी त्यहाँ थिएनन् । त्यसपछि म उनी खाना खाने होटलमा पुगेँ । त्यहाँ पनि उनी थिएनन् । ‘मेरो भाग्य भनौकी उनको भनौ उनी त्यहि दिन काठमाडौँ गएका रहेछन्,’ उनले भने ।
बुझ्दै जाँदा प्रहरीले मलाई भनेको कुरामा त्यति धेरै सत्यता रहेनछ । बिर्खले अखिल क्रान्तिकारीको बारेमा मलाई भन्दा अलि धेरै जानकारी रत्न खत्रीलाई हुन सक्छ मात्र भनेका रहेछन् । त्यसैलाई आधार मानेर सशस्त्र प्रहरीले ममाथि आशंका गरेको थियो ।
ब्यवसायभन्दा राजनीतिमा निस्वार्थ भाव
रत्न अहिले राजनीति सँगै ब्यवसायमा छन् । उनलाई राजनीतिभन्दा ब्यवसाय गाह्रो लागेको छ । राजनीतिमा निष्ठा, ईमान्दारिता, छलकपट नहुने उनको बुझाई र भोगाई छ । ‘तर, ब्यापारमा कहिले काँही छलकपट गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘राजनीतिमा निस्वार्थ भाव हुन्छ ।’
उनले ब्यवसायीले राज्यलाई ठग्नु हुँदैन भन्ने मान्यता राख्दछन् । राज्यलाई राजश्वमा ठग्नु भनेको महापाप भएको उनले बताए । ‘राज्यलाई तिर्नुपर्ने रकम सवैले तिर्ने हो भने मात्र देशको अर्थतन्त्र बलियो हुन्छ र हामी पनि सम्पन्न हुन्छौँ,’ उनले भने ।