अस्पतालको शैयामै तीजको कोशेली, संक्रमितको मुहारमा छल्कियो मुस्कान


अस्पतालको शैयामै तीजको कोशेली, संक्रमितको मुहारमा छल्कियो मुस्कान

कोभिड वार्डमा उपचाररत संक्रमित महिलालाई तीजको कोशेलीसहित दर प्रदान गर्दै नर्सहरु । तस्बिर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज २१ भदौ : कोरोना भाइरस संक्रामणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व मनाउँदा पाहुना नबोलाउन तथा पाहुना नबन्नका लागि आग्रह गरेको छ । कोरोना महामारी साम्य नभइसकेको अवस्थामा सरकारले जारी गरेका मापदण्ड पालना गर्नु र आग्रहलाई मान्नु नागरिकको पनि कर्तव्य पनि हो ।

यसको अर्थ परम्परानै नमान्ने भन्ने होइन, तीज मनाउनको लागि धेरै भीडभाड गरेर तडकभडक देखाएर मात्रै मनाउन सकिने पनि होइन, सुरक्षित तरिकाले सामान्य रुपमा पनि तीज मनाउन सकिन्छ । यसको ज्वलन्त उदाहरण बनेका छन् भेरी अस्पताल नेपालगन्जका नर्सहरु ।

नेपाली महिलाको महान पर्व हरितालिका(तीज) संघारमा आइसकेकोछ । तीजको पूर्वसन्ध्यामा दिनहुँ दर खाने कार्यक्रम भईरहेका छन् । नेपालगन्जका होटल, कटेज तथा रेष्टुरेन्टमा तीजको दर खानेको उस्तै भीडछ । तर, कोभिड–१९ बाट संक्रमित भई अस्पताल शैयामा उपचाररत महिलालाई लक्षित गर्दै भेरी अस्पतालको कोभिड–१९ वार्डमा कार्यरत नर्सहरुले कोरोना संक्रमित महिलालाई तीजको कोशेली दर खुवाएर मनाएकाछन् ।

पीपिई लगाएर आफू नजिक आएका नर्सले चुरा, टिकुली र दर हातमा थमाएपछि उनीहरु दङ्ग परे । भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालले भनिन् ‘तीजको मुखमा संक्रमित भइ अस्पतालमा उपचार गराइरहेका महिला यस वर्षको तीज खल्लो भएको महसुस गरिरहेका थिए । तर, हामीले उहाँहरुको आत्मबल बलियो बनाउन र तीज मनाउनबाट बञ्चित नहुन भन्दै चुरा र टिकुलीसँगै विभिन्न परिकारका तीजको दर खुवायौं ।’

Kids Festival 2022
kanti aarogya hospital
add

नर्सिङ्ग अधिकृत अर्यालले अगाडी थपिन्– ‘महिलाको महान पर्व हरितालिका तीजका बेला बाहिर रौनकता छाएपनि कोभिड वार्डमा भर्ना भएका महिला मृत्युसँग लड्नु परिरहेको अवस्था छ । अलिकति भएपनि उहाँहको पीडा कम होस्, र सकारात्मक प्रभावले रोगसंग लड्ने आत्मबल मिलोस् भन्ने उद्देश्यले यस्तो कार्य गरिएको हो ।’

‘तीज नजिक आइरहेको छ, रमाईलो पनि भइरहेको छ, तर बिरामी भएर आउनु भएका दिदीबहिनीलाई मनमा कति पीडा हुन्छ, त्यही भएर उहाँहरुलाई पनि तीज मनाएको अनुभूति होस् भनेर हामीले सानो आर्थिक जुटाएर यो कार्यक्रम गरेका हौं,’ नर्सिङ अधिकृत अर्यालले अगाडी थपिन् –‘अस्पतालको कोभिड वार्डमा भर्ना भएका कतिपय संक्रमित निको भएर घर फर्किंदा नर्सलाई केही आर्थिक सहयोग गरेका थिए । सोही रकमलाई आफूहरुले पनि थपेर कोभिड वार्डमै भर्ना भएका संक्रमित महिलालाई तीजको कोशेली र दर खुवाएका हौं ।’

कोभिड–१९ संक्रमितको उपचारमा खटिने नर्सले वार्डमै पुगेर तीजको कोशेली दिँदा र दर खुवाउँदा अधिकांश संक्रमित महिला हर्षित थिए । अस्पताल शैयामै तीजको कोशेली र दर खान पाउँदा माइती कहाँ गएको जस्तो अनुभूति मिलेको ९ दिनदेखि उपचाररत एक संक्रमितले बताईन् ।

‘गत वर्ष कोरोना संक्रमणको असरले तीज मनाउन माइत जान पाइन । यस वर्ष जाउँला सोचेकी थिए आफै संक्रमित भए । तीज मनाउन नपाउँदाको पीडाले साह्रै दुःखी थिए, तर माइतीमा आमाले जसरी अस्पतालका नर्सले हामीलाई तीजको कोशेली प्रदान गर्नुभयो, दर खुवाउनु भयो, यो पल मेरा लागि अविष्मरणीय बन्यो,’ भावुक बन्दै उनले भनिन् ।

अस्पतालको कोभिड वार्डमा सोमबार दिउँसोसम्म करिब ४५ जना जति संक्रमित भर्ना छन् । त्यसमध्ये आधा जति महिला संक्रमित रहेको भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक(मेट्रोन) दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिईन् ।

पछिल्लो समय संक्रमणको दर केही घटेजस्तो भएपनि संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएकाले दिनहुँ संक्रमित थपिने क्रम चलिरहेको उनले बताईन् ।

‘बिरामीको सेवा गर्ने पेशा भएकाले चाँडपर्वलाई पनि नर्सले बिरामीसँगै मनाउनुपर्ने परम्परादेखि चल्दै आएको छ’ श्रेष्ठले अगाडी थपिन्–‘नर्सिङ्ग सेवा भनेको विरामीको वरिपरि रहेर सेवा दिनु हो । चाडपर्व भएपनि छुट्टै परिवारसंग बसेर मनाउन अवसर कम हुन्छ । त्यसैले आफू कार्यरत क्षेत्रमा तीज मनाउनुपर्ने बाध्यताछ ।’

भेरी अस्पतालका नर्सले कोभिड वार्डमा भर्ना भएका २३ जना संक्रमित महिलालाई तीजको कोशेली स्वरुप चुरा र टिकुली प्रदान गर्नुका साथै दरका रुपमा खिर, केरा, मिठाई, पुरी र तरकारीका परिकारहरु खुवाएका थिए । सोहीक्रममा कोभिड वार्डमा कार्यरत ५ जना विवाहित नर्सलाई समेत तीजको कोशेली प्रदान गरिएको थियो ।

यतिबेला बाँकेमा कोभिड–१९ का लागि ‘ए’ र ‘बी’ हल छुट्टयाइएकोछ । जसमध्ये ‘ए’ हल आइसियु र ‘बी’ हल अक्सिजनसहितको हल हो । कोरोना संक्रमणको दोस्रो लहरमा देशमै सबैभन्द बढि कोरोनाबाट बाँकेमा मृत्यु भएको छ ।