बाघ समात्न खोरसहित प्राविधिक टोली जङ्गलमा


बाघ समात्न खोरसहित प्राविधिक टोली जङ्गलमा

मान्छे खाने बाघ नियन्त्रण गर्न ल्याइएको घरपालुवा हात्ति । तस्विर :दामोदर भण्डारी /सेतोखरी

गाभर (बाँके) ३० भदौ : बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोली खोरसहित मान्छे खाने बाघ नियन्त्रणमा लिन जङ्गलमा खटेकोछ । आईतबार पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पर्ने बाँके जिल्लाको गाभर नजिकै सडकबाट तानेर ४५ वर्षिय एक पुरुषलाई २ वटा पाटेबाघले खाएका थिए ।

घटना लगत्तै बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रणमा लिन प्रयास थाल्यो । निकुञ्जले पाटेबाघ नियन्त्रणमा ६ वटा सेन्सर क्यामेरा जडान गरि दुई वटा घरपालुवा हात्तिसहित ठूलो संख्यामा नेपाली सेना परिचालन समेत गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले यतिबेला पाटेबाघ नियन्त्रणमा लिन खोरसहित प्राविधिक टोली जङ्गलमा खटेको बताए ।

उनले भने–‘मङ्गलबार फेरि ती दुईवटै बाघ मान्छे खाएको घटना स्थल नजिकै राजमार्गमा देखापरे । मोटरसाईकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दुईजनामाथि ती दुईवटा बाघले आक्रमण गर्न खोजे तर, कसैलाई केही भएन ।’ साहले अगाडी थपे–‘बाघ नियन्त्रणमा लिनका लागि एउटा राँगा आहाराका रुपमा घटना स्थल नजिकै राखेका छौं । त्यो अहारा खान आउँदा बाघलाई नियन्त्रणमा लिने तयारीका साथ खोरसहितको प्राविधिक टोली जङ्गलमा खटेकोछ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

पाटेबाघले मान्छे खाएलगत्तै पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक वरपरको बस्ती छेउछाउ देखिन थालेपछि बाघ नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जले तदारुक्ता देखाएको हो ।

‘मङ्गलबार ती दुईवटै बाघ मान्छे खाएको घटना स्थल नजिकै राजमार्गमा देखापरे । मोटरसाईकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दुईजनामाथि ती दुईवटा बाघले आक्रमण गर्न खोजे तर, कसैलाई केही भएन’ निकुञ्जका प्रमुख संरक्षक अधिकृत साहले बताए ।

उनले भने–‘थप कुनै घटना हुन नदिन दुईवटा घरपालुवा हात्ति र ठूलो संख्यामा सेना परिचालन गरेका छौं । हामीले बाघलाई लोभ्याउन उसलाई आहारा समेत राखेका छौं । आज आहारा राखेको क्षेत्रमा जडित क्यामेरामा समेत बाघ आएको पाइएकोछ । त्यसैले पुरै बन्दोबस्तका साथ टोली जङ्गलमा खटेकोछ ।’

निकुञ्ज स्रोतका अनुसार सम्भवत आज राती वा बिहीबार बिहानसम्म बाघलाई नियन्त्रणमा लिइने तयारी गरिएको छ ।

उनले भने–‘हामीले पहिलो चरणमा हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउन लागिरहेका थियौं । यसका लागि दिनभर हात्ती र सेनाबाट गस्ती गराइयो । तर, घटनास्थलबाट ती बाघ बस्ती आसपास पटक–पटक देखिन थालेपछि नियन्त्रणमा लिइ जङ्गलभित्र राख्ने योजनामा पुगेका हौं ।’

प्रमुख संरक्षण अधिकृत साहले ती दुईवटा बाघ भर्खर माउबाट छुट्टिएको बताउँदै स्थानीय जनतालाई भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको बताए । उनले ‘ती दुईवटा बाघलाई नियन्त्रणमा लिन पुरै बन्दोबस्तका साथ प्राविधिकसहितको टोली जङ्गलमा खटेकोले नतिजा छिटै आउनेमा विश्वास ब्यक्त गरे ।

यतिबेला बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने हो की भनेर त्रसित बनेकाछन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँमा नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले डरले दैनिक कामहरु समेत गर्न नसकेको भन्दै सरकारले बस्ति नै सारिदिनुपर्ने वा बाघलाई नियन्त्रणमा लिइनु पर्ने आवाज उठाउँदै आएकाछन् ।

मान्छे खाएको ठाँउमा सोमबार निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै पुग्दा ती दुई बाघ आधा बचेको मान्छेको शरीर नजिकै बसेर टुलुटुलु हेरिरहेका थिए । मान्छे खानु दुईदिन अघिदेखि नै गाभर सडकको वरपर दुईवटा बाघ घुमिरहेको स्थानीय बासिन्दाले बताए । मान्छे खानु अघिल्लो दिन दुईवटा पाटेबाघ गाउँमै पसि एउटा गाई र एउटा बाछो मारिदिएका थिए ।

मान्छे खाएको घटना र ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गमै पटक–पटक देखिएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार नै एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाएकोछ ।

विशेषगरि रात्रिकालिन समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएकोछ । भने दिनमा यी सवारीसाधन समुहमा पठाउन मात्र अनुमति दिएकोछ ।

यसैबीच, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाघले मान्छे खाएको घटनाप्रति गम्भी भएको बताउँदै बाघ ब्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरिसेकेको बताए । उनले भने–‘बाघ हामी सबैको सम्पत्ती हो । सम्पत्ती संरक्षण गर्ने सबै नागरिकको कर्तब्य हुन्छ । तर, त्यही सम्पत्तीले आम नागरिकलाई समस्या पार्छ भने त्यसको ब्यवस्थापन समयमै गरिनुपर्छ ।

अध्यक्ष थारुले अगाडी थपे–‘निकुञ्ज क्षेत्र आसपासका जनतालाई सचेत र सजग हुन मैले आग्रह गरिसकेको छु । बाघ नियन्त्रणमा लिन र हुनसक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न निकुञ्जलाई गाउँपालिकाले भरपूर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्छु ।’

यता आईतबार बाघले खाएको ती ४५ वर्षिय पुरुषको पहिचान अझैँ खुल्न नसकेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीले भने–‘मृतक पुरुषको पहिचान खुल्न सकेको छैन । उनका कुनै पनि ब्यक्ति अझैं सम्पर्कमा आइनसकेकोले मृतकको पहिचान गर्ने कार्य जारी छ ।’

बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ रहेकोछ । यसअघि भित्री जङ्गलमा मात्र मानिसमाथि आक्रमण गरेको बाघले राजमार्गमै आएर मान्छे खाएको घटना पहिलो हो ।