५ दिनदेखि निकुञ्जले राखेको पाडो खान बाघ आएन

‘डार्ट’ गरि मान्छे खाने बाघ समात्ने तयारी छ : प्रमुख संरक्षक अधिकृत साह


५ दिनदेखि निकुञ्जले राखेको पाडो खान बाघ आएन

मान्छे खाने बाघ समात्न खटेको नेपाली सेनाको टोली । तस्विरः दामोदर भण्डारी /सेतोखरी

नेपालगन्ज ३ असोज : बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ समात्न आहाराका रुपमा राखेको पाडो बाघले अझैँ खाएको छैन । पाडो खान नआएपछि बाघ समातिएको छैन ।

पछिल्लो ५ दिनदेखि मान्छे खाने बाघ समात्न बाँके राष्ट्रिय निकुञ्जले आहाराका रुपमा राखेको पाडो खान नआएपछि बाघ नसमातिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले सेतोखरीलाई जानकारी दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले भने–‘मान्छे खाने बाघ समात्न हामीले आहाराका रुपमा एउटा पाडो राखेका छौं । ५ दिन भयो आहारा(पाडो) खान बाघ आएको छैन ।’ साहले अगाडी थपे–‘बाघ समात्न खोर, हात्तीसहित प्राविधिक टोली फिल्डमै छ । हामीले राखेको पाडो यथास्थिती मै छ । बाघले खाएको छैन ।’

‘भदौ २९ गते म आफैले घटनास्थल भन्दा करीब २ सय मिटर पर बाघ देखेको थिएँ । तर, भदौ ३० गते विहानदेखि बाघ देखिएको छैन । हामीले राखेको सेन्सरसहितको सीसि क्यामेरामा पनि देखिएको छैन । बस्तीतिर पनि गएको छैन, आहारा खान पनि आएको छैन’ उनले भने भने हाम्रो निगरानी जारी छ ।

बाँके जिल्लाको गाभर नजिकै गत आईतबार सडकबाट तानेर ४५ वर्षिय एक पुरुषलाई २ वटा पाटेबाघले खाएका थिए । घटना लगत्तै बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रणमा लिन प्रयास थाल्यो । निकुञ्जले पाटेबाघ नियन्त्रणमा ६ वटा सेन्सर क्यामेरा जडान गरि दुई वटा घरपालुवा हात्तिसहित ठूलो संख्यामा नेपाली सेना परिचालन समेत गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले अगाडी थपे–‘मान्छे खाने बाघ नियन्त्रणमा लिने हाम्रो प्रयास जारी छ । यतिबेला पाटेबाघ नियन्त्रणमा लिन खोरसहित प्राविधिक टोली जङ्गलमै खटेकाछन् ।’

एकपटक सिकार गरेको आहारा नसक्कुञ्जेल पटक–पटक बाघले सिकार गरेको आहारा खान आउँछ । साहले भने–‘आफूले सिकार गरेको आहारा खान बाघ कम्तिमा ३ दिन आँउछ । त्यो आहारा गनाउने र नसढेसम्म बाघ आइरहन्छ । अस्तिको घटना पनि त्यही हो ।’

‘हामीले राखेको पाडो बाघले खायो भने पुनः त्यो आहारा खान बाघ आउँछ । यस्तो बेला कम्तिमा ५ सय मिटरदेखि एक किलोमिटरको दूरीमा बाघ भेटिन्छ अनि हामी बाघ समात्छौं ।’ साहले बताए ।

प्रमुख संरक्षक अधिकृत साहले सेतोखरीसंग कुरा गर्दै भने–‘बाघले मान्छे खाएको घटनापछि त्रसित बनेका सो क्षेत्रका सर्वसाधरणले चितुवा वा अन्य वन्यजन्तु देखेमा बाघ नै आएको भन्नुहुन्छ यो अस्वभाविक होइन । सुरक्षित रहन र सर्तकता अपनाउन हामीले आग्रह समेत गरेका छौं ।’

आहाराको खोजीमा बाघ विहान र बेलुका देखिने भएकाले अहिले बस्ती क्षेत्रमा प्रवेश नगरेको उनले बताए । उनले भने–‘बस्तीक्षेत्रमा प्रवेश गरेको भए बाघका पाईलाको छाप देखिन्थ्यो । तर, यसो भन्दैमा बाघ आक्रमणको जोखिम भने हटेको छैन ।’

बाघले मान्छे खाएको घटना स्थलको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ राप्ती नदिसंगै डिभिजन वन रहेकोछ । त्यसैले पनि सो क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको चहलपहल बढि हुन्छ ।

बाघ शान्त ठाँउमा बस्ने हुदाँ बढि हलचल र होहल्ला हुने ठाँउमा बस्दैन । त्यसैले पनि बाघलाई निकुञ्जभित्रै धपाउन दुई वटा घरपालुवा हात्ति र नेपाली सेनाको टोलीको दिनहुँ गस्ती र निगरानीले सो क्षेत्र वरपर हलचल बढाइहेको छ निकुञ्ज ।

यस्तै निकुञ्जले बस्ती छेउछाउ रहेका झाडी सफा गर्ने अभियान समेत चलाएको छ । घर छेउछाउ रहेका झाडीमा बाघ लुक्ने र आक्रमण गर्न सक्ने भएको भन्दै यो अभियान चलाइएको साहले बताए ।

‘निकुञ्ज क्षेत्रसंगसंगै सडक र बस्तीमा सुरक्षा सतर्कता अपनाएका छौं । नेपाली सेनाको गस्ति नियमीत गरेका छौं । रात्रिकालिन सवारी साधनमा लगाइएको रोक नियमित छ ।’ साहले –‘गत मङ्गलबार ती दुईवटै बाघ मान्छे खाएको घटना स्थल नजिकै पूर्वपश्चिम महेन्द्र राजमार्गमा देखापरे । मोटरसाईकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दुईजनामाथि ती दुईवटा बाघले आक्रमण गर्न खोजे तर, कसैलाई केही भएन ।’

यतिबेला बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने हो की भनेर त्रसित बनेकाछन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले डरले दैनिक कामहरु समेत गर्न नसकेको भन्दै सरकारले बस्ति नै सारिदिनुपर्ने वा बाघलाई नियन्त्रणमा लिइनु पर्ने आवाज उठाउँदै आएकाछन् ।

मान्छे खाएको घटना र ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गमै पटक–पटक देखिएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले गत सोमबार नै एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाएकोछ । विशेषगरि रात्रिकालिन समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएकोछ । भने दिनमा यी सवारीसाधन समुहमा पठाउन मात्र अनुमति दिएकोछ ।

‘डार्ट’ गरि मान्छे खाने बाघ समात्ने तयारी छ : प्रमुख संरक्षक अधिकृत साह

बाँके राष्ट्रिय निकुञ्जले ‘डार्ट’ गरि मान्छे खाने २ वटा पाटेबाघ समात्ने तयारी गरेकोछ । निकुञ्जका प्रमुख संरक्षक अधिकृत साहले भने–‘मान्छे खाने बाघ मानवबस्तीमा प्रवेश गरि थप दुर्घटना नघटोस् भन्नका लागि ‘डार्ट’ गरि ती दुई पाटेबाघ नियन्त्रणमा लिन्छौं । यसका लागि खोर, हात्तीसहित प्राविधिक टोली खटाइएकोछ ।’

प्रमुख संरक्षक अधिकृत साहका अनुसार बाघ समात्ने पद्धती ‘डार्ट’मा खोर, स्ट्रेचर, गन, चिकित्सक र प्राविधिक टोली पुरै बन्दोबस्तका रुपमा बाघ भेटिने सम्भावित क्षेत्रमा गोता लगाएर बाघको निगरानी गर्छन् ।

बाघको आहाराका लागि निकुञ्जले राखेको पाडोमा निगरानी गरिरहेको ‘डार्ट’ टोलीले उक्त आहारा खान बाघ आए वा खाएको थाहा पाए लगत्तै बेहोस गर्ने औषधि लोडेड गन बोकेर निश्चि दूरीको रुखमा चढ्छ वा आफू सुरक्षित स्थानमा रहन्छ ।

बाघ बेहोस गर्ने औषधी लोडेड गनले बाघमाथि प्रहार गरिन्छ । १० मिनेटको अवधिमा बाघ बेहोस् हुन्छ । लगत्तै बाघ समात्ने प्राविधिक टोलीले बाघको आँखा कपडाले छोपिन्छ, सगैं रहेका चिकित्सकले बाघको रगत स्याम्पल लिनुका साथै तापक्रम लगायतको बाघको स्वास्थ्य मापन गरिन्छ ।

बाघ बेहोस् बनाउन प्रयोग गरिएको औषधीको प्रभाव आधा घण्टासम्म रहने भएकाले तत्काल बाघलाई स्ट्रेचरमा राखेर र्पोटेबल खोरमा राखिन्छ । बाघको होस् आउनु भन्दा अघि सुरक्षितरुपमा बाघलाई उसको प्राकृतिक बास स्थानमा लगेर छोडिन्छ ।