मान्छे खाने बाघले निकुञ्जले राखेको पाडो सुटुक्क खायो

रातिको समयमा पाडो खाएकाले समाउन समस्या : निकुञ्ज


मान्छे खाने बाघले निकुञ्जले राखेको पाडो सुटुक्क खायो

File Photo

नेपालगन्ज ८ असोज : बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ समात्न आहाराका रुपमा राखेको पाडो बाघले सुटुक्क खाएको छ । मान्छे खाने बाघ समात्न बाँके राष्ट्रिय निकुञ्जले आहाराका रुपमा राखेको पाडो ६ दिनका दिन दुई वटा पाटेबाघले सुटुक्क खाएका हुन् ।

मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले महेन्द्र राजमार्गभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र एउटा पाडो बाँधेर राखिदिएको थियो । पाटेबाघ समात्न निकुञ्जले राखेको पाडोलाई ५ दिनसम्म नखाएपछि बाघ समाउने निगरानी बढाइएको थियो । अन्ततः पाटेबाघले ६ औं दिन अर्थात असोज ४ गते राती पाडो खाएको निकुञ्जका सहायक संरक्षक अधिकृत एवम सूचना अधिकारी गोपाल घिमिरेले सेतोखरीलाई जानकारी दिए ।

‘यतिबेला बाघले पाडोलाई मारेर खाइसकेको छ, असोज ५ गते विहान क्यामेरामा निगरानी गर्दा रातीको समयमा बाघले पाडो मारेको पाइयो’ घिमिरेले अगाडी थपे–‘पाटेबाघ रातिको समयमा पाडो मारेर खाएको र बचेको आहारा(पाडो) खान सधैं रातको समयमा मात्रै आउने हुनाले बाघलाई एकीन गरि नियन्त्रण गर्न कठिनाई भएको हो ।’

बाघले गाभरमा मान्छे खाएपछि निकुञ्जले पाडो बाँधेर क्यामेरा जडान गरेको थियो । पाडोको आहारा खान आएका दुई वटा बाघ क्यामेरामा कैद भएका छन् । सहायक संरक्षण अधिकृत घिमिरेले सेतोखरीसंग कुरा गर्दै अगाडी थपे, ‘पाडो खान दुई वटा बाघ नियमित रुपमा आए, तर ती बाघले नै मान्छे र चौपाया खाएका हुन वा अरु नै हुन भनेर एकीन गर्न सकिएन । ती बाघलाई पछ्याइरहेका छौं ।’

Kids Festival 2022
kanti aarogya hospital
add

गाभरमा घटना गराएको बाघलाई मात्र नियन्त्रणमा लिने निकुञ्ज प्रशासनको योजना रहेता पनि बाघ रातको समयमा मात्र आउने गरेकाले एकीन गर्न समस्या भएको र नियन्त्रण गर्न पनि नसकिएको उनले प्रष्ट्याउँदै भने–‘राजमार्ग नजिकै आहाराको रुपमा पाडो राखेकाले सवारीसाधनको हलचलले ती बाघ दिउँसोको समयमा नआएको होकी भन्ने हाम्रो अनुमान छ । यद्यपी पाडो र मान्छे खाने बाघ ती एकै हुन् की भन्ने आंशका छ ।’

आहाराका लागि पाडो खान आएको बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको छ । अहिले रातको समयमा मात्र बाघको ‘मुभमेन्ट’ भइरहेकाले समाउन समस्या भएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले मान्छे खाने बाघ समात्न खोर, हात्तीसहित २२ जनाको प्राविधिक टोली जङ्गलमै रहेको बताए ।

‘हामीले राखेको पाडो पाटेबाघले ६ औं दिनमा मारेर खायो । भदौ २९ गते म आफैले घटनास्थल भन्दा करीब २ सय मिटर पर बाघ देखेको थिएँ । तर, भदौ ३० गते विहानदेखि बाघ देखिएका थिएनन् ।’ प्रमुख संरक्षण अधिकृत साहले भने –‘बाघ समाउन राखिएको आहारा खाइसकेका ती बाघ समाउन विशेष निगरानी बढाएकाछौं ।’

अहिले बाँके निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्तीसोनारीको गाभर र सौरीबीचको जंगल हो । निकुञ्जले राखेको क्यामेरामा चार वटा बाघ कैद भइसकेका छन् । अझै अरु बाघ पनि त्यस क्षेत्रमा हुन सक्ने निकुञ्जको अनुमान छ ।

बाँके जिल्लाको गाभर नजिकै भदौ २७ गते आईतबार बेलुका सडकबाट तानेर एक ४५ वर्षिय भारतीय पुरुषलाई २ वटा पाटेबाघले खाएका थिए । घटना लगत्तै बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रणमा लिन प्रयास थाल्यो । निकुञ्जले पाटेबाघ नियन्त्रणमा ६ वटा सेन्सर क्यामेरा जडान गरि दुई वटा घरपालुवा हात्तिसहित ठूलो संख्यामा नेपाली सेना परिचालन समेत गरेको छ ।

बाघले मान्छे खाएको करिब २ हप्ता पुग्नै लाग्दा बाघ नसमातिएपछि यतिबेला बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने हो की भनेर त्रसित बनेकाछन् । स्थानीय बासिन्दाले पटकपटक बाघ गाउँ नजिकै र राजमार्गमा ओहोरदोहोर गरिरहेकाले डरले दैनिक कामहरु समेत गर्न नसकेको भन्दै सरकारले बस्ति नै सारिदिनुपर्ने वा बाघलाई नियन्त्रणमा लिइनु पर्ने आवाज उठाउँदै आएकाछन् ।

मान्छे खाएको घटना र ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गमै पटक–पटक देखिएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले भदौ २८ गते सोमबार एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाएकोछ । विशेषगरि रात्रिकालिन समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएकोछ । भने दिनमा यी सवारीसाधन समुहमा पठाउन मात्र अनुमति दिएकोछ ।