फेरिएन नेपाली उपभोक्ताको बानी, सामान्य खरिदका लागि भारत जान्छन्

उता दैनिक ५ करोड नेपाली कारोबार, यता ग्राहक कुर्दै ब्यापारी


फेरिएन नेपाली उपभोक्ताको बानी, सामान्य खरिदका लागि भारत जान्छन्

सीमावर्ती बजार रुपैडिहाबाट किनमेल गरि नेपाल फर्कदै नेपाली । तस्विर: विजय मल्ल /सेतोखरी

जमुनाह (बाँके) १० असोज : कोरोना कहरकाबीच नेपालीको महान चाड दशैं नजिकिएको छ । दशैं नजिकिएसँगै सर्वसाधरणको चहलपहल समेत बढेकोछ । कोरोना भाइरस संक्रमणको दोस्रो कहरले थला परेको नेपाली ब्यापार पुरानै लयमा फर्किरहेका बेला नेपालगन्ज बजार सुनसान देखिन्छ।

कोरोना कहरकैबीच शनिबार भारतीय रूपैडिहा बजारमा नेपाली ग्राहकको भीडले अटसमटस थियो । यता नेपालगन्जका व्यवसायीक पसल भने सुनसान देखिएका थिए । यहाँका व्यवसायी ग्राहकको पखाईमा आँखा सडकपेटीतिर तेर्साई हाई काटिरहेका थिए । नेपालगन्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको बानीमा परिर्वतन आउँन सकेको छैन ।

कोरोना भाइरस संक्रमणका कारण स्वदेशमै ब्यापार ब्यवसाय फस्टाउने अपेक्षा गरिएको थियो । तर, कोरोना भाइरस संक्रमणको यस्तो महामारिमा समेत नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार धाउन छाडेका छैनन् । दिनहुँ नेपाली उपभोक्ता सामान्य किनमेलका लागि भारतीय बजार रुपैडिहा धाइरहेका छन् । उनीहरु नुनदेखि लत्ताकपडा खरिदका लागि दिनहुँ भारतीय बजार धाउने गरेका हुन् । नेपाली उपभोक्ताको यो प्रवृति नयाँ भने होइन ।

त्यसो त नेपाली उपभोक्तालाई स्वदेशी बजारमै खरिद विक्री गर्न चाहान्छन् । तर, वर्षौंदेखि नेपाली उपभोक्ताको प्रवृत्तिमा भारतीय बजार रुपैडिहाले गहिरो छाप गाडेकोछ । त्यो हो सीमावर्ती बजार रुपैडिहामै हरके समान सहज र सस्तो मूल्यमा पाईने । यही गलत संस्कार बसेकाले पनि नेपाली उपभोक्ताको बानीमा परिर्वतन हुन नसकेको हो । भने यसरी सामान खरिद गर्न जाने नेपालीहरु वर्षौंदेखि ठगिदैँ आएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

खासगरी चामल, तेल, चिनी, दाल, फलफूल, पेयपदार्थ, सौन्दर्यका सामग्री र अन्य विभिन्न किसिमका पूजा सामग्रीसँगै घर सजाउने सामान खरीद गर्न नेपाली उपभोक्ता नियमित रुपैडिहा पुग्ने गर्दै आएका छन् ।
दशैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगन्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

चिनी, तेल, आलु तथा प्याजमा प्रतिकिलोमा ३० देखि ४० रुपैयाँसम्म सस्तोमा पाइने गरेको भन्दै चाडबाडमा सधैं सामान खरिद गर्न भारतीय बजार रुपैडिहा जाने गरेको दाङकी मायाकुमारी जिसी बताउँछिन्।

यस्तै दशैंका लागि घरायसी सामान खरिद गर्न नेपालगन्ज बजार पार गरि ६ किमी पर भारतीय बजार आएकी सुर्खेतकी भूमिसरा खत्री नेपालगन्ज बजारभन्दा सस्तो र सुलभरुपमा एकैठाँउमा समान पाइने भएपछि आउने गरेको तर्क राखिन् । 

खत्रीले भनिन्– ‘नेपालगन्ज र भारतीय बजार रुपैडिहामा सामानको मूल्य फरक छ । दुई रुपैयाँ सस्तो पाउने भएपछि आफू पनि भारतीय बजार रुपैडिहा जान बाध्य भएँ ।’

नेपालगन्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् । यसले नेपाली बजार फस्टाउनुको साटो यहाँको ब्यापार ब्यवसाय धरासयी बन्दै गएको यहाँका उद्योगी ब्यपारिको मत रहेकोछ । हिन्दूहरूको मुख्य पर्व दशैं आउन केही दिन बाँकी रहेपनि नेपालगन्ज बजार सुनसान छ । बजारमा उपभोक्ताको चहलपलह कम छ । तर, सीमा पारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेका छन् । नेपालगन्जमा एउटै समानको पसलैपिच्छे फरक/फरक मूल्य हुने गरेको उपभोक्ताको गुनासो छ । सामान पनि गुणस्तरहीन हुने भएकाले बाँकेबासी भारतीय बजारप्रति आकर्षित भएको भारतीय बजार रुपैडिहामा सामान खरिद गर्न पुगेका बर्दियाका आशिष थापा बताउँछन् ।

कोरोना भाइरस संक्रमणको कहर सुरु हुनु एक वर्ष अघि दशैँलाई लक्षित गरि रुपैडिहा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्न वाणिज्य संघले दशैं बजार सञ्चालन गरेको थियो । बागेश्वरी मन्दिर प्राङ्गणको पूर्वपट्टि रहेको पार्कमा उक्त दशैं बजार सञ्चालन गरेपनि लक्ष्य अनुसार सफलता प्राप्त गर्न नसकिएको तत्कालिन उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य बताउँछन् ।

उनले भने हामीले नेपाली ग्राहकलाई रोजेको, खोजेको, गुणस्तरीय र सुपथ मूल्यमै नेपाली बजार नेपालगन्जमै प्रदान गरिरहेका छौं । तर, पनि नेपाली उपभोक्ताहरु भारतीय बजार रुपैडिहा धाए । उनले अगाडी थपे–‘संघका तर्फबाट धेरै नै प्रयास भएपनि संघ एक्लैले मात्रै गरेको प्रयास सफल हुन सकेन । यस विषयमा बहस पनि नचलेको भने होइन् ।’

सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपालगन्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको देखिएको छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघको रेकर्डअनुसार भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब पाँच करोड बराबरको घरायसी सामान खरीद गर्ने गरेका छन् । यो आँकडा कोरोना भाइरस संक्रमण पहिलो लहर अघिको भएपनि पछिल्लो समय सीमानाकामा आउजाउ सहज भएसंगै नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा धाइरहेकाछन् ।

घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरीदका लागि दैनिक सयौंको संख्यामा स्थानीयबासी सीमावर्ती बजारतिर जाने गरेको सीमा प्रहरी जमुनाहको रेर्कडले देखाएको छ ।