बेमौसमी वर्षाले पाकेको धानबाली नष्ट, किसानको विचल्ली

बुधबारसम्म वर्षा रहने


बेमौसमी वर्षाले पाकेको धानबाली नष्ट, किसानको विचल्ली

नेपालगन्ज १ कार्तिक : आईतबारदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि बाँकेका किसान विचल्लीमा परेकाछन् ।

चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि बाँके खजुराका किसान रेशम मल्ल चिन्तित बनेका छन् ।

उनले भने, ‘गत वर्षभन्दा यस वर्ष धान राम्रो भएको थियो, खेतमा धान पाकेर पहेँलपुर भएपछि दशैँ लगत्तै काटेर भित्र्याउने तयारीका साथ धान काटेर खेतमै सुकाएकै दिन पानी पर्दा खेतमा काटेको धान सबै पानिमा डुबेर क्षति भयो ।’

१५ कठ्ठा जग्गामा धान खेती गरेका मल्लले अगाडी थपे–‘भित्र्याउन तयारी अवस्थामा रहेको धान वर्षाका कारण सबै भिजेर क्षति भयो ।’ निराश हुदैँ मल्लले थपे–‘मेहनत पनि डुब्यो, लगानी पनि डुब्यो । पानी पर्नेक्रम रोकिएन भने अब काटेर राखेको धान खेतमै उम्रन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

आईतबारदेखि भइरहेको वर्षाले मल्ल जस्तै जानकी गाउँपालिकाको बनियाँ गाउँका किसान पवन काँदूको पनि समस्या उस्तैछ । उनले भने –‘पाकेको धान काटेर खेतमै सुकाएका थियौं तर, अचानकको वर्षाले सबै नष्ट भयो ।’
चाडपर्वका कारण केही ढिलो गरि काटेको धान थ्रेसर गरि भित्र्याउनै लाग्दा पानीले सबै भिजाएर नष्ट गरेकोमा उनले चिन्ता ब्यक्त गरे ।

खजुरा गाउँपालिका वडा नम्बर–४ डि गाउँका किसान दाताराम पौडेलले वर्षाका कारण खेतमै डुबेको धान अब उम्रने भन्दै दुखेसो ब्यक्त गरे । उनले भने–‘समयमै धान उठाउन नपाउँदा राम्रो उत्पादन भए पनि नोक्सानी भएको छ । भिजेको धान कुटाई गर्दा काटिने, बढि कनिका पर्ने, स्वाद हराउने हुँदा धानले राम्रो मूल्य पाउदैन ।’

पाकिसकेको धान भित्राउन नपाउँदै पानी र हावाले ढलाउँदा किसानहरुलाई ठूलो नोक्सानी पुगेको छ । धान बालीमा लगानी धेरै लाग्ने तर, मूल्य नपाउने समस्या यथावत रहेको अवस्थामा आईतबारदेखि भइरहेको वर्षाले किसानलाई ठूलो बर्जपात परेकोछ । वर्षाले धानमा क्षती पुगेपछि सरकारले राहत दिनुपर्ने किसानको मागछ ।

यतिबेला बाँकेका अधिकांश किसान धान काट्ने अवस्थामा पुगेका छन् । चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिनदेखि किसान व्यस्त थिए । तर, मौसममा आएको परिर्वतनसंगै वर्षाका कारण खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको हो ।

आइतबार दिउँसोसम्म बाँकेका अधिकांस किसान धान काट्नमै व्यस्त थिए, राति अचानक हावाहुरी सहित भएको वर्षाले धान बालीमा क्षति पु¥यायो । क्षतिको एकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिन अघि नै बाली भित्र्याइसकेको भएपनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए ।

किसानको मुख्य आम्दानी स्रोतका रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान बालीको उत्पादन बृद्धि हुने आँकलन गरिएको थियो । यद्यपी धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको थियो ।

यसबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझैँ दुईदिन वर्षा हुने जनाएकोछ । बाँके लगायत लुम्बिनी प्रदेशमा आईतबारदेखि भएको वर्षा अझैं रोकिएको छैन । यतिबेला वर्षा भइरहेकोछ । वर्षा अझैँ दुई दिनसम्म हुने अनुमान गरिएको छ ।

प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले अझै दुई दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।