बेमौसमी वर्षामा भिजेको धान उम्रन थाल्यो

वर्षदिनको मेहनत खेर जाँदा किसान चिन्तित


बेमौसमी वर्षामा भिजेको धान उम्रन थाल्यो

नेपालगन्ज ३ कार्तिक : बेमौसमी वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर उम्रन थालेको छ । चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि काटेर भित्र्याउन ठिक्क पारेको धान आईतबारदेखि लगातार परेको पानीमा भिजेपछि खेतमै उम्रिन थालेको हो ।

खेतमा काटेर सुकाएका धान भिजेर पाँजा मै उम्रिन थालेपछि वर्षभरीको मेहनत खेर गएको भन्दै किसान चिन्तित बनेकाछन् । खेतमै काटेर सुकाएको अवस्थामा धान पूर्ण रुपमा भिज्दा टुसा उम्रेकोछ । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै आइतबार बेलुका भएको वर्षाले क्षति पु¥याएपछि बाँके खजुराका किसान रेशम मल्ल चिन्तित बनेका छन् ।

उनले भने, ‘गत वर्षभन्दा यस वर्ष धान राम्रो भएको थियो, खेतमा धान पाकेर पहेँलपुर भएपछि दशैँ लगत्तै काटेर भित्र्याउने तयारीका साथ धान काटेर खेतमै सुकाएकै दिन पानी पर्दा खेतमा काटेको धान सबै पानिमा डुबेर क्षति भयो ।’

पानीमा भिजेको धान स्याहार्दै बाँके खजुराका किसान ।

१५ कठ्ठा जग्गामा धान खेती गरेका मल्लले अगाडी थपे–‘भित्र्याउन तयारी अवस्थामा रहेको धान वर्षाका कारण सबै भिजेर क्षति भयो । अहिले त टुसा उम्रिएर आएको जसोतसो केही धान जोगाउन सक्छु भन्ने आशा थियो त्यो पनि हरायो’ निराश हुदैँ मल्लले थपे–‘वर्षभरीको मेहनत पनि डुब्यो, लगानी पनि डुब्यो ।’

Kids Festival 2022
kanti aarogya hospital

आईतबारदेखि भइरहेको वर्षाले मल्ल जस्तै बाँके जानकी गाउँपालिकाको बनियाँ गाउँका किसान पवन काँदूको पनि समस्या उस्तैछ । उनले भने –‘पाकेको धान काटेर खेतमै सुकाएका थियौं तर, अचानकको वर्षाले सबै नष्ट गरिदियो ।’

चाडपर्वका कारण केही ढिलो गरि काटेको धान थ्रेसर गरि भित्र्याउनै लाग्दा पानीले सबै भिजाएर नष्ट गरेकोमा उनले चिन्ता ब्यक्त गरे । काँदूले भने–‘खेतमा काटेर सुकाएको धान उम्रिन थालेकोछ । पानिले पराल पनि सढ्यो पशुचौपाका लागि पनि आहाराको समस्या हुने भयो ।’

खजुरा गाउँपालिका वडा नम्बर–४ डि गाउँका किसान दाताराम पौडेलले वर्षाका कारण खेतमै डुबेको धान अब उम्रन थालेको भन्दै दुःखेसो पोखे । उनले भने–‘समयमै धान उठाउन नपाउँदा राम्रो उत्पादन भए पनि नोक्सानी भयो । भिजेको धान उम्रिन थालिसकेकाले स्याहार्न पनि सकिन्न ।’

उनले भने–‘पानीमा डुबेर भिजेको धान उम्रिन थालेपछि काम नलाग्ने भयो । जसोतसो पानीबाट भिजेको धान बचाएपनि कुटाई गर्दा काटिने, बढि कनिका पर्ने, स्वाद हराउने हुँदा धानले राम्रो मूल्य पाउदैन ।’
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कार्तिक १ गतेसम्म बेमौसमी वर्षाका कारण १० प्रतिशत धानबाली पूर्णरुपमा नष्ट भएकोछ ।

बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धानमा वर्षाले क्षति पु¥याएको छ । त्यस्तै १० हजार हेक्टर जमिनको धान काट्न बाँकी छ भने १ हजार १ सय हेक्टर जमिनको धान भित्र्याइएको छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा प्रति हेक्टर ४.८ मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको छ ।

बाँकेका सबैजसो किसानको धान खेतमै छ । चाडबाडका कारण केही समय अघि र दशैं लगत्तै काटेर सुकाएको धान पानीले भिजेर उम्रिन थालेपछि उनीहरुमा झनै चिन्ता थपिएको हो । धान नकाटेका किसानका धान हावाहुरी र खेतमा जमेको पानीमा डुबेकाछन् ।

बाँकेको आठ वटै पालिकामा बेमौसमी वर्षाले धानबालीमा नोक्सानी पु¥याएकोछ । राप्ती नदी, डुडुवा खोला र मान खोलाको तटिय क्षेत्रमा खेती गर्ने किसानको धान भने बाढीले बगाएकोछ ।

पाकिसकेको धान भित्राउन नपाउँदै पानी र हावाले ढलाउँदा किसानहरुलाई ठूलो नोक्सानी पुगेको छ । धान बालीमा लगानी धेरै लाग्ने तर, मूल्य नपाउने समस्या यथावत रहेको अवस्थामा आईतबारदेखि भइरहेको वर्षाले किसानलाई ठूलो बर्जपात परेकोछ । वर्षाले धानमा क्षती पुगेपनि भिजेको धानलाई स्याहार गरेर बचाउन खोजेका किसानको धान खेत र पानीमै डुबेको अवस्थामा उम्रन शुरु भइसकेकोछ ।

किसानको मुख्य आम्दानी स्रोतका रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान बालीको उत्पादन बृद्धि हुने आँकलन गरिएको थियो । यद्यपी धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको थियो ।

लुम्बिनीमा ३६ हजार हेक्टरमा काटेको धानमा क्षती

यसैबीच, लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो ।

प्रदेशभर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् । ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी छ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् । बर्दियामा २५ हजार २ सय हेक्टर जमिनको धान काट्न बाँकी छ ।

कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । जिल्लामा २७ हजार ४ सय ५५ हेक्टर खेतमा धान काट्न बाँकी छ । दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा क्षति पुगेको छ । दाङमा ४ हजार ३ सय हेक्टर जमिनको धान काट्न बाँकी छ ।

रुपन्देहीमा काटेर खेतमा रहेको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ । जिल्लामा २० हजार ७ सय ९३ हेक्टर खेतको धान काट्न बाँकी छ । प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने ७ सय ८८ हेक्टर खेतको धान काट्न बाँकी छ ।

नवलपरासी पश्चिममा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा वर्षाले क्षति गरेको छ भने ४ हजार १ सय हेक्टर खेतको धान काट्न बाँकी छ । रुकुम पूर्वमा काटेर राखेको ४ सय १२ हेक्टर खेतको धान डुबानमा परेको छ ।

गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर खेतको धान बर्षाले भिजाएर क्षति पु¥याएको निर्देशनालयले जनाएको छ । पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको छ । पाल्पामा २ सय ६५ हेक्टर खेतको धान काट्न बाँकी छ । रोल्पामा २५ हेक्टर खेतको धान बालीमा क्षति पुगेको छ । त्यस्तै ३५ हेक्टर जमिनमा लगाइएको मकै र १३ हेक्टरमा गरिएको सिमी बालीमा पनि वर्षाले क्षति पु¥याएको छ ।

अर्घाखाँचीमा वर्षाले धान बालीमा खासै क्षति नपु¥याएको निर्देशनालयले जनाएको छ । वर्षाले धान डुबानमा परेको र भिजेको भएपनि कति क्षति भयो भन्ने यकिन भइनसकेको बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् । यद्यपी वर्षाले धानमा क्षती पु¥याएपछि सरकारले राहत दिनुपर्ने किसानको माग रहेकोछ ।