ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारले बेवास्ता गर्यो : बाँके ट्राफिक प्रमुख मल्ल


ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारले बेवास्ता गर्यो : बाँके ट्राफिक प्रमुख मल्ल

नेपालगन्ज ७ कार्तिक : जिल्लाको ट्राफिक व्यवस्थापनमा स्थानीय सरकार उदासिन बन्दा प्रभावकारि ट्राफिक व्यवस्थापन हुन नसकेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताएकाछन् ।
जिल्लाको ट्राफिक ब्यवस्थापन सम्बन्धि पत्रकारसंग भएको भेटघाट तथा अन्तरक्रियामा बोल्दै बाँके ट्राफिक प्रहरी प्रमुख मल्लले यस्तो बताएका हुन् ।

एकातिर जनशक्तिसंगै श्रोतसाधनको अभावले ट्राफिक व्यवस्थापन गर्न समस्या भइरहेको छ ट्राफिक प्रहरी निरीक्षक मल्लले भने–‘जिल्लाको ट्राफिक व्यवस्थापनमा मुख्यरुपमा स्थानीय सरकार उदासिन भएको पाए । अपेक्षाकृतरुपमा सहयोग र समन्वय भएको पाएन ।’

बाँकेको ट्राफिक प्रमुख भएर हालै कमाण्ड सम्हालेका प्रहरी निरीक्षक मल्लले भने –‘अन्य जिल्ला भन्दा बाँकेमा ट्राफिक ब्यवस्थापन र ट्राफिकका लागि स्थानीय सरकार उदासिन रहेकोछ । न त बजेट छ न त काम गर्ने उत्प्रेरणा । ट्राफिक प्रहरीको एकल प्रयासले जिल्लाको ट्राफिक व्यवस्थापन सम्भव देखिएन ।’

ट्राफिक व्यवस्थापन र अपराध अनुसन्धानमा अब्बल मानिने ट्राफिक प्रहरी निरीक्षक मल्ल यसअघि कास्किको ट्राफिक प्रमुखका रुपमा काम गरिसकेकाछन् । कास्किमा ट्राफिक प्रमुखका रुपमा उल्लेख्य सुधार र उदाहरणीय कार्य गरि देशभर चर्चित बनेका ट्राफिक प्रहरी निरीक्षक मल्ल बाँकेको अपराध, समाज, बस्तुस्थिती र ट्राफिक व्यवस्थापनका चुनौती, समस्याका बारेमा जानकार छन् ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके सरुवा भएर आएदेखि जिल्लाको ट्राफिक व्यवस्थापनमा सुक्ष्म र गहनरुपले काम गरिरहेका ट्राफिक प्रहरी निरीक्षक मल्ललाई भने यहाँका स्थानीय सरकारले बेवास्ता गर्नुका साथै जिम्मेवारीबाट पन्छिदाँ कार्य सम्पादनमा असज भएको छ ।

पत्रकार भेटघाट तथा अन्तरक्रियामा बोल्दै ट्राफिक प्रहरी निरीक्षक मल्लले भने–‘अन्य जिल्लाका स्थानीय सरकारको जस्तो तदारुक्ता, चासो र समन्वय यहाँ पाउन सकिन । न बजेट न त स्रोतसाधनको उपलब्धता तर, पनि देशकै उत्कृष्ठ ट्राफिक व्यवस्थापन वहाँहरुको माग छ ।’

जिल्लाको ट्राफिक व्यवस्थापनका समस्या, चुनौती लगायतका विषयमा विभिन्न चरणमा यहाँका स्थानीय सरकार र सरोकारवालासंग समन्वयात्मक बैठक बसी पहल र प्रयास गर्दा समेत बाँकेको ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारले खासै चासो नदेखाएको मल्लले गुनासो गरे ।

‘जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने दायित्व र जिम्मेवारी स्थानीय सरकारको पनि हो । सडक, पुलपुलेसा निर्माण मात्र गरेर भएन । शहरबजारमा ट्राफिक सम्बन्धि न्यूनतम मापदण्ड, अब्यवस्थित पार्किङ, निर्माण समाग्रीको भण्डारण, सडकपेटिका र सडक मिचेर पसल, ब्यवसाय सञ्चालन गर्ने, ट्राफिक सम्बन्धि जनचेतनामुलक गतिविधि गर्नुका साथै ट्राफिक प्रहरीसंगको समन्वय र सहकार्य गरिनु पनि स्थानीय सरकारको प्रमुख दायित्व मध्य हो’ ट्राफिक प्रहरी निरीक्षक मल्लले अगाडी थपे–‘बाँकेमा ई–रिक्सा र छाडा पशुचौपायाको उचित ब्यवस्थापन हुन नसक्नुले यहाँको ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको पाएकोछु । यी दुबैलाई ब्यवस्थापन गर्न स्थानीय सरकारबिना सम्भव छैन ।’

जिल्लाको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनिकरण, अब्यवस्थित पार्किङ र सवारी साधन सञ्चालन, मापसे चेकजाँज, ओभरलोड, तिव्र गति तथा चर्को ध्वनी प्रदुषण समेत जिल्लामा समस्याका रुपमा रहेको भन्दै क्रमिकरुपमा जिल्लाको ट्राफिक व्यवस्थापन गरिने बाँके ट्राफिक प्रमुख मल्लले बताए ।

उनले भने –‘म आएको केही दिनमै चर्को स्वरमा गुड्ने २०३ वटा सवारी साधनलाई नियन्त्रणमा लिए, ७३ वटालाई कारबाही गर्दै जरिवाना समेत तिराए ।’

ट्राफिकको काम कर्तब्य भनेकै जिल्लामा ट्राफिक व्यवस्थापन गर्नु हो, तर प्राविधिक पाटोमा सम्बन्धित पक्ष नै जिम्मेवार नबन्दा बाँकेको ट्राफिक व्यवस्थापनमा समस्या र चुनौती थपिदँै गएको ट्राफिक प्रहरी प्रमुख मल्लले सुनाए ।

जिल्लाको समग्र ट्राफिक व्यवस्थापन सुदृढ गर्न कम्तिमा १५० जना जना जनशक्ति चाहिन्छ । बाँकेमा २८ जना दरबन्दी रहेता पनि ६२ जना कार्यररत रहेको बताउँदै ट्राफिक प्रमुख मल्लले भने–‘हामीसंग उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्नेछौं ।’

‘हामी हाम्रो जिम्मेवारी र दायित्व निर्वाह गर्छौं, सम्बन्धित निकायले चासो र तदारुक्ता नदेखाँउदा बाँकेको ट्राफिक व्यवस्थापन हुन नसकेको हो’ ट्राफिक प्रमुख मल्लले भने–‘स्थानीय निकायको साथ र सहयोगविना ट्राफिक व्यवस्थापन हुन सक्दैन । समन्वय र सहकार्यका लागि हामी तयार छौं ।’

बाँके ट्राफिक प्रमुख मल्लले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि छुट्टै योजना सार्वजनिक गर्नुभन्दा पनि नियमित कार्यलाई थप प्रभावकारिरुपमा अघि बढाउँदै जिल्लाबासीलाई असन्तुष्टि नहुनेगरि बैज्ञानिक ढंगबाट ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

बाँके ट्राफिक प्रमुख मल्लले जिल्लामा बेलाबखत ट्राफिक प्रहरीको आँचरण र कार्यशैलीमाथि प्रश्न उठ्ने गरेकोले जिल्लामा खटिएका ट्राफिक प्रहरीलाई ३–३ महिनामा परिर्वतन गर्ने बताए । सोही अनुरुप उनी जिल्लाको कमाण्ड सम्हाले लगत्तै जिल्लामा ट्राफिक प्रहरी फेरबदल समेत गरिसकेकाछन् ।

जिल्ला ट्राफिक कार्याल बाँकेका अनुसार अहिले जिल्लामा ट्राफिकलाई सवारी साधन, सिसिटिभी, मापसे चेकजाँचमा प्रयोग हुने ‘ब्रेथलाइजर’, गति मापन उपकरण ‘राडर’ लगायतका स्रोतसाधनको अभाव भएको बताए । उनले यसका लागि जिल्लाका स्थानीय सरकार र सम्बन्धित निकायमा समेत जानकारी गरि सहयोग जुटाउने प्रयास जारी राखेको जानकारी दिए ।