नेपालगन्ज १ मंसिर : प्रधानमन्त्री चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
बारले आगामी मंसिर ३ गतेसम्म राजीनामा नदिए उच्च अदालतको इजलास भएका १८ स्थानमा पनि विरोध प्रदर्शन गर्ने बताएको छ ।
नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुले मंगलबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुसँग छलफल गरेका थिए । लगत्तै बसेको बारको बैठकले सर्वोच्च अदालत परिसरमा भइरहेको आन्दोलनलाई मंसिर ३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
त्यसबेलासम्म पनि जबराले राजीनामा नदिए उच्च अदालत र उच्च अदालतका इजलास भएका १८ स्थानमा पनि केन्द्रीय प्रतिनिधि खटाएर विरोध प्रदर्शनलगायतका कार्यक्रम गर्ने निर्णय भएको छ ।
बैठकले प्रधानन्यायाधीश जबरा सहभागी सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय समेत गरेको बारले जनाएकोछ । यस्तै बैठकले प्रधानन्यायाधीश जबराबाहेक संवैधानिक परिषद्को बैठक राख्न र निकासका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । साथै न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गर्दै ३ गते नै संसदमा भएका दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।