खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि

गुणस्तरीय उपचार सेवा सुरु भएपछि बिरामीको बिश्वास बढ्दै गएको छ : कार्यकारी निर्देशक डाक्टर आचार्य


खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि

नेपालगन्ज २४ मंसिर : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले गुणस्तरीय उपचार सेवा दिन सुरु गरेपछि उपचारका लागि क्यान्सर अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको छ ।

पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २२ जिल्लाका विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।

एक वर्षसम्म दैनिक १५/२० उपचारका लागि आउने क्यान्सर अस्पतालमा पछिल्ला दिनहरुमा दैनिक एक सय पचास जनाको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । क्यान्सर अस्पतालबाट हालसम्म ४ सय बढिले सर्जरी सेवा लिइसकेका छन् भने ६ सय बढिले हिस्टोप्याथोलोजी सेवा लिएकाछन् ।

बहिरंग सेवा सुरु गरेको अस्पतालले सिटी स्क्यान, रेडियोलोजी, केमोथेरापी, फार्मेसी, प्याथालोजीलगायतका सेवा दिदैँ आएकोछ । त्यसैगरी ल्याब, एक्सरे, भिडियो एक्सरे सेवा प्रदान गर्नुका साथै दुईवटा अत्याधुनिक अप्रेसन थियटरबाट सर्जरी सेवा दिइ रहेको छ ।

यसअघि अस्पताल सञ्चालनमा आएपनि विशेषज्ञ डाक्टर, स्टाफ नर्स तथा कर्मचारीको संख्या निक्कै कम थियो । क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर आचार्य आएपछि बिशेषज्ञ चिकित्सक, नर्सको संख्या बृद्धि भई उपचार सेवा बिस्तार हुदैँ गएको छ । एक वर्ष अघिसम्म ४ जना विशेषज्ञसहित १ जना मेडिकल अफिसर, १२ जना नर्सिङ स्टाफ र १ जना मात्र फार्मेसी स्टाफ रहेका थिए । अहिले विशेषज्ञ डाक्टर १३ जना, मेडिकल अफिसर ८ जना, नर्सिङ स्टाफ २२ जना र ४ जना फार्मेसी कर्मचारी रहेकाछन् ।

यसैगरि कार्यकारी निर्देशक डाक्टर आचार्यको सक्रियता, लगावले क्यान्सर अस्पतालमा एक वर्ष अघिसम्म सर्जरी सेवा थिएन, यसले पूर्णता पायो । भने हिस्टोप्याथोलोजी सेवा समेत थिएन । हिस्टोप्याथोलोजी मानिसमा क्यान्सर रहे नरहेको पत्ता लगाइन्छ । यो सुविधा नभएपछि यस क्षेत्रका विरामी चितवन, काठमाण्डौं र भारतका विभिन्न सहर धाउने गर्दथे ।

हाल फेला परेका बिरामीहरुमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामी बढी भेटिएको आचार्य बताउँछन् । उनले भने ‘प्रायजसो अन्तिम स्टेजमा पुगेका क्यान्सरका विरामी धेरै आउने गर्नुहुन्छ ।’

सरकारी अस्पतालमा अत्याधुनिक प्रबिधिबाट उपचार सेवा पाएपछि बिरामीहरु लाभान्वित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक आचार्यका अनुसार निकट भविष्यमा क्यान्सरका थप विशेषज्ञ ल्याउने तयारी भएको छ ।
किमो थेरापी सेवालाई निरन्तरता दिएको अस्पतालले क्यान्सरका बिरामीहरुको उपचार सेवालाई बिस्तार गर्ने उद्देश्यले काठमाण्डौबाट बिशेषज्ञ चिकित्सकहरु ल्याएर दुरबिन प्रबिधिबाट क्यान्सरका बिरामीको अप्रेशन सहितको उपचार सेवा समेत सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर आचार्यले बताए ।

पछिल्ला दिनहरुमा महिलाहरुको प्रजनन अंगमा देखिएको क्यान्सर रोगको दुरबिन प्रबिधिबाट अप्रेशन गर्ने क्रम बढ्दै गएको छ । दुरबिन प्रबिधिबाट गरिने अप्रेशन सहज र प्रभावकारी हुने उनले बताए ।

एक सय बेडको स्वीकृति पाएको अस्पतालले हाल ६० बेडवाट सेवा सुरु गरेको जनाएको छ । एक दशकअघि प्रखर परोपकार मिसनले क्यान्सर अस्पताल सञ्चालनका लागि धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र संस्थाको तीन करोड २६ लाख रुपैयाँमा नेपाल क्यान्सर अस्पतालको नाममा पूर्वाधार निर्माणका कामहरू थालेको थियो ।

सरकारीस्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताल लगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।