‘संक्रमित बढेसंगै अस्पताल भर्ना हुने दर बढ्न थाल्यो’


‘संक्रमित बढेसंगै अस्पताल भर्ना हुने दर बढ्न थाल्यो’

नेपालगन्ज ६ माघ : कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा पुनः कोरोना संक्रमण बढ्न थालेकोछ । कोरोना संक्रमण बढ्न थालेपछि यतिबेला बाँकेका अस्पतालहरु विरामीको चाप बढ्दै गएकोछ ।

पछिल्ला केही दिनयता बाँकेमा दिनहुँ संक्रमित संख्या थपिनेक्रम बढ्दो छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यतिबेला बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार गराउन आउने संक्रमित संख्या बढिरहेकोछ । संक्रमित बिरामी थपिदै जाँदा कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ठूलो क्षती बोकेको बाँकेको भावि अवस्थालाई मध्यनजर गर्दै चिन्ता र चासो समेत ब्यक्त हुन थालेकोछ ।

संक्रमित थपिनेक्रम दिनहुँ बढ्दो छ । यस्तोमा आम सर्वसाधरणबाट स्वास्थ्य सम्बन्धि सर्तकता तथा सावधानी अपनाउने कार्य वेवास्ता भइरहेकोछ ।

यतिबेला बाँकेमा कोभिडको संक्रमण दिनानुदिन फैलिरहेको छ । भेरी अस्पतालमा दिनहुँ संक्रमित थपिरहेकाछन् । केही दिन अघिसम्म ९ जना भर्ना भएका अस्पतालमा बुधबार बेलुकासम्म २६ जना उपचाररतछन् ।अस्पतालमा थेग्न नसक्ने गरि संक्रमित नआएको भएपनि यसको सुरुवाती संकेत राम्रो नभएको भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ्गअधिकृत मौनता अर्याल बताउँछिन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यकातिर जिल्ला प्रशासन कार्यालय बाँकेले बजारमा सर्वसाधरणको भीड र स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गराउन आदेश जारी गरेको भएपनि त्यसको पूर्ण र प्रभावकारी ढंगमा कार्यान्वयन नभएको प्रष्ट देख्न पाइन्छ । प्रशासन र प्रहरीले स्वास्थ्य सम्बन्धिको मापदण्ड पालनामा लापरबाही गरेको हुदाँ आम सर्वसाधरण गैरजिम्मेवार बन्दै गएका हुन् ।

अहिले नै कोरोना भाइरस संक्रमणको यो स्वरुपलाई आँकल गरि स्वास्थ्य सम्बन्धिको मापदण्ड पालनमा कडाई नगरिए यसपटकको अवस्था भयाबह हुने र बिरामीलाई बचाउनै मुस्किल हुने कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासकाबीच संक्रमित भएर आउनेहरु बढ्दै गएकाछन् तर, लक्षण नभएका संक्रमितलाई भर्ना नगरि आवश्यक परामर्शका साथ औषधी लेखेर चिकित्सकको सम्पर्कमा रहन भन्दै घर पठाइरहेका छौं भेरी अस्पतालको कोभिड वार्डमा कार्यररत नर्सिङ अधिकृत अर्यालले बताईन् ।

पहिले स्वाद हराउने, गन्ध हराउने जस्ता लक्षण आउने भएपनि अहिले ज्वोरो, रुघाखोकी, घाँटी र शरीरर दुख्ने लगायतका लक्षणसहित बढिमात्रामा आउने गरेकाछन् । उनले भनिन्–‘कोभिड–१९ वार्डमा भर्ना हुने दर केही दिन यता बढिरहेको छ । केही समयअघिसम्म खाली जस्तै रहेको यहाँका बेड क्रमश भरिदैं गएकाछन् ।’

कोभिड–१९ वार्डमा दिनहुँ संक्रमित संख्या बढिरहदाँ नर्सिङ अधिकृत अर्यालले चिन्ता ब्यक्त गर्दै भनिन्–‘ओमिक्रोन संक्रमणकाबीच पोजेटिभ केस धेरै हुने हुन्छ । यो संक्रामक छ । त्यसैले पनि संक्रमित भेटिने क्रम बढेको हो । अब पनि स्वास्थ्य सम्बन्धिको मापदण्ड पालना कडाईका साथ नगरिए केही दिनमै अवस्था जटिलतर्फ उन्मुख हुन्छ ।’

स्वास्थ्य अवस्था कमजोर भएका, खोप नलगाएका व्यक्तिहरु अझै पनि समुदायमा छन् । उनीहरु जोखिम समूहमा पर्ने हुनाले बढी प्रभावित हुन सक्छन् । तर, अहिले बाँके सहित देशभर संक्रमित बढे पनि अस्पताल भर्ना हुने बिरामीहरुको संख्या ह्वात्तै बढेको छैन । यसअघिको डेल्टा भेरियन्टले जस्तो भयावह स्थिति भएको छैन यद्यपी अस्पतालमा संक्रमितको चाप बढ्यो भने उपचारमा सकस हुनेछ, उनले थपिन् ।

नर्सिङ्ग अधिकृत अर्यालका अनुसार बुधबार बेलुकासम्म भेरीको कोभिड वार्डमा २६ जना भर्ना भएकाछन् । यसबीच ६ जना कोभिड पोजेटिभ गर्भवतीको सफल डेलिभरी गरिएकोछ । यसरी भर्ना हुनेहरुमा कोभिडसगैं अन्यरोगबाट ग्रसित भएका विरामी बढिछन् ।

‘अस्पताल भर्ना भएका र भर्ना हुन आउने कोभिड संक्रमितहरु प्राय टिबी, किड्नी, मुटु, सुगर र गाइनोसंग जोडिएका केसहरु बढि छन्’ नर्सिङ्ग अधिकृत अर्यालले थपिन्–‘यसरी आउनेहरुको स्वास्थ्य अवस्था जटिल हुने हुदाँ संक्रमित भएको वा संक्रमितको सम्पर्कमा आएको थाहा पाए लगत्तै सावधानी अपनाउनुपर्छ ।’

‘कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत पोजेटिभ केस बढ्दै गएकोछ । केही साथीहरु पोजेटिभ भइसक्नु भएकोछ । केहीमा लक्षण समेत देखिएको छ ।’ उनले भनिन्–‘कोभिडलाई मध्यनजर गर्दै भेरीमा हल ‘ए’ १७ बेडको र हल ‘बी’ ४७ बेडको सञ्चालनमा छ । जसमध्ये ‘ए’ हल आइसियु र ‘बी’ हल अक्सिजनसहितको हल हो । यसका लागि २३ जना जनशक्ति खटेकोछ ।’ ‘हामीलाई जनशक्ति अभावले नै सताउने गर्छ, प्रयाप्त मात्रामा जनशक्तिको उपलब्धता भए कोभिड वार्ड व्यवस्थापन थप सहज हुने थियो’ उनले थपिन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका–नलगाएका दुवैलाई सङ्क्रमण गर्ने हुँदा संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा¥हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

कोरोना संक्रमणबाट बच्न हामीले पूर्णरुपमा स्वास्थ्य सम्बन्धि सावधानी अपनाउनु नै हो । अहिलेको संक्रमण निकै नै संक्रामक छ । तर, यस्तो अवस्थामा सर्वसाधारणले कुनै सावधानी अपनाएको पाइँदैन । सर्वसाधरणले जानाजान माक्सको सही प्रयोग, सामाजिक दूरी कायम गर्ने लगायतका सावधानी अपनाएको देखिदैन । यो लापरबाहीले कोरोना महामारीको फेरि भयावह स्थिती नआउला भन्न सकिदैन ।