छारे रोग सरुवा रोग होइन, समयमै उपचार गरे निको हुन्छ : न्यूरो सर्जन डाक्टर न्यौपाने


छारे रोग सरुवा रोग होइन, समयमै उपचार गरे निको हुन्छ : न्यूरो सर्जन डाक्टर न्यौपाने

नेपालगन्ज २ फागुन : नेपालमा मात्र नभई विश्वका अधिकांश देशमा छारे रोगका बिरामीहरुलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । छारे रोगलाई देवीदेवताको श्राप, पूर्व जन्मको पाप लगायतका रुपमा हेर्ने गरिन्छ ।

यस्तै नकारात्मक दृष्टिकोणले गर्दा कतिपय बिरामी र उनका परिवारले रोग लुकाउनुका साथै उचित उपचारको बाटो नखोज्ने गरेको पाईन्छ । जसले गर्दा छारे रोगको समयमै उपचार नहुने र विरामीको संख्यामा बृद्धि हुनुका साथै मृत्यु समेत हुने क्रम बढ्दो छ ।

समयमै गरिएको उपचारले छारे रोग लोगेका बिरामी निको हुने र करिब २५ प्रतिशत छारे रोग लाग्नुभन्दा अगाडि नै रोकथाम गर्न सकिने नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरका न्यूरो सर्जन डाक्टर जोशन न्यौपाने बताउँछन् ।

नेपालमा छारे रोगलाई भूगोल अनुसार फरक–फरक नामले चिनिन्छ । छारे रोगलाई मृगि, झट्का, चरफाईँ लगायतका नामले चिनिन्छ । यो रोग लागेका ब्यक्तिसंग मानिसहरु नजिक हुन चाहादैनन् । यो सरुवा रोग हो भनेर आम सर्वसाधरणमा गलत बुझाई रहेकाले पनि अधिकांश विरामी स्वास्थ्य सेवा लिनबाट बञ्चित भइरहेको न्यूरो सर्जन डाक्टर न्यौपानेले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार छारे रोग कुनै पनि हालतमा सरुवा रोग होइन । जुठो खाँदा, संगै सुत्दा, लुगाकपडा, भाडाँवर्तन साटासाट गर्दा वा शारीरिक सम्पर्क गर्दा समेत यो (छारे रोग) सर्दै सदैन । सर्वसाधरणमा यो सरुवा रोग हो भनेर गहिरो छाप परेकोछ । उनका अनुसार पछिल्लो क्रम बाँकेमा उपचारका लागि आउने छारे रोगका विरामीको संख्या बढ्दै गएकोछ । उनी स्वयम आफैले नियमित ५–७ सय विरामीको उपचार गरिरहेकाछन् । समयमै औषधि सेवन, निरन्तर चिकित्सकसँग परामर्श गर्नाले बिरामी निको हुने र यो रोग नियन्त्रणमा आउन सक्ने डाक्टर न्यौपानेले बताए ।

अर्को जान्नै पर्ने कुरा के हो भने छारे रोगको झट्का जुनसुकै बेला जहाँ पनि आउनसक्छ । बिरामीलाई यसको केही जानकारी हुँदैन । झट्का आइरहेको अवस्थामा बिरामी माथि जोरजबरदस्ती नगरी वरपरको कडा, तिखो वा अन्य कुनै चोटपटक लाग्ने वस्तुहरु छ भने हटाइदिनुपर्छ । नजिकै खल्डाखुल्डी वा पानीको मुहान छ भने सक्दो चाँडो त्यँहाबाट टाढा हटाउनु पर्छ । अन्यथा पानीमा लड्न गएको खण्डमा बिरामीको फोक्सो भित्र पानी पस्छ । फलस्वरूप पछि गएर एस्पिरेशन निमोनिया हुन्छ र बिरामीको मृत्यु हुनसक्छ ।

झट्का आउन बन्द हुने र चेतना आएपछि बिरामीलाई देब्रे तिर कोल्टे पारेर आराम गर्न दिनुपर्छ । एपिलेप्टिक फिट्स (झट्का) सामान्यतता क्षणिक हुन्छ । यदि यो निरन्तर ५ वा ५ मिनेट भन्दा बढी समयसम्म रहिरहे तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्र वा अस्पतालमा लगेर उपचार थाल्नुपर्छ । यो एक किसिमको मेडिकल इमरजेन्सी हो । मेडिकल भाषामा यसलाई स्टेटस ऐप्लिलेप्टिकस भन्ने गरिन्छ ।

के हो छारे रोग ?

यो एक किसिमको स्नायु प्रणालीको डिसअर्डर हो । जसमा मष्तिष्कको न्यूरोन्सहरुमा भइरहेको समान्य गतिविधि अचानक असामन्य भइदिन्छ । फलस्वरूप मानिसको शरीर वा शरीरको केहि भागमा अनैच्छिक चाल उत्पन्न हुनुको साथै क्षणिक चेतना(होस्) र मांशपेशीको टोन गुम्छ । त्यसैले यसलाई कहिलेकाँही सिजर डिसअर्डर पनि भन्ने गरिन्छ ।

छारे रोगबारे अहिले पनि हाम्रो समाजमा भूतप्रेतका कारणले लाग्ने रोग, कहिले निको नहुने रोग, सरुवा रोग भन्ने जस्ता थुप्रै यस्तै भ्रम छ । तर, चिकित्सा विज्ञानका अनुसार यो रोग कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ ।

छारे रोग वा मिर्गी कुनै खास व्यक्ति, समुदाय, वर्ग, जात, धर्मका व्यक्तिमा मात्र नभई जोसुकैलाई पनि हुनसक्छ । प्रायः ब्रेन इन्फेक्शन, ब्रेन ट्यूमर, इलेक्ट्रोलाइट असन्तुलनले गर्दा यो रोग हुन्छ । बच्चा जन्मिने बेलामा ढिलो हुँदा बच्चाको मष्तिष्कमा सही मात्रामा अक्सिजन नपुगेपछि हाइपोक्सिक–इस्केमिक इन्सेफ्यालोप्याथी हुन्छ र यस्तो बच्चामा पछि गएर छारे रोग हुने सम्भावना बढ्छ । केही वंशाणुगत पनि हुने गर्छ । छारे रोग आफैमा एक रोग नभई मष्तिष्क रोगको लक्षण हो भन्न सकिन्छ । तर, समयमा निदान र उपचार गरेमा यो रोग निको हुन्छ ।

कसरी लाग्छ छारे रोग ?

छारे रोग लाग्ने थुप्रै कारणहरु छन् । सामान्यतय यसका प्रमुख कारणहरुका बारेमा बुझौं :

-बच्चा जन्मदा टाउकोमा चोट लागेमा,
-मस्तिष्कमा इन्फेन्क्सन भएमा,
-टाउकोको गम्भीर र गहिरो चोट,
-मस्तिकमा रक्तश्राव भएमा,
-नाम्ले जुकाको अण्डाको संक्रमणले,
-अत्याधिक मदिरा सेवन गरेमा,
-वसांणुगत प्रमुख कारणहरु हुन् ।

छारे रोगका लक्षणहरु कस्ता हुन्छन् ?

समान्यतया अनियन्त्रित सिजर्स, चेतना र जागरुकता गुम्नु, सिजर्स पश्चात स्वाद, सुघ्ने, सुन्ने क्षमतामा परिवर्तन आउने इत्यादि लक्षणहरु छारे रोगका बिरामीमा देखिन्छ । छारे रोगका बिरामीहरुमा निन्द्रा पुरा नभएको, अत्यधिक थाकेको, मादक पदार्थ सेवन गरेको, चमकदार प्रकाशमा धेरै बेर बस्दा, डर र चिन्ताको अवस्थामा सिजर्सको मात्रा र दर बढेर आउँछ । यद्यपी छारे रोगका लक्षणहरु यसरी बुझ्न सकिन्छ ।

-मुर्छा पर्ने,
-हात खुट्टा काप्ने,
-शरीर लल्याकलुलुक हुने,
-आँखा पल्टाउने,
-मुखमा सेतो फिंज काढ्ने,
-जिब्रो टोक्ने,
-बेहोस् हुने,
-लुगामा दिसा पिसाब हुने,
-आचानक लड्ने
प्राय यी लक्षणहरु नै हुन्, तर यी मध्ये कुनै लक्षणहरु देखिएमा तत्काल विशेज्ञ चिकिस्तकलाई देखाउनुपर्छ ।

छारे रोगले अट्याक (छोप्दा) गर्दा के गर्ने ?

छोपेको बेला बिरामी लाई चोट पटक लग्न बाट बचाउने तिर लग्नु पर्छ । रोगी बेहोस या कामीरहेका छन् भने उसलाई सफा नरम ठाउँमा कोल्टो फेरेर सुताउनुपर्छ । टाउको तल कपडा वा तकिया हाल्नुपर्छ । पोसाकलाई खुकुलो पर्नुपर्छ । मुखमा जम्मा भएको र्याथल, थुक, फिजलाई सफा रूमालले पुछ्नुपर्छ । छोप्ने बेलामा बिरामी डर लाग्दो देखिए पनि खतरनाक भने हुन्नन् । बिरामीको मुख मा औला हाल्ने, मोजा सुघाउने जस्ता कार्य नगर्ने । छारे रोगबाटै विरामीको मृत्यु हुने क्रम कम हुन्छ यद्यपी यस रोगका कारण हुने स्वास्थ्य जटिलताले विरामीको मृत्यु हुन्छ ।

छारे रोगबाट कसरी बच्ने ?

उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने, टाउकोमा चोटपटक लाग्न नदिने, काँचो साग, सलाद, फलफूल बोक्रा फालेर पानीले राम्रोसँग पखालेर मात्र खाने, टाउकोमा चोटपटक लाग्न नदिने, ज्वरो आउँदा समयमै उपचार गर्ने, अनिँदो नबस्ने, ज्यादा तनाव नलिने र स्वास्थ्य सर्तकता अपनाएमा छारे रोगबाट धेरैजसो बच्न सकिन्छ । तर, कहिलेकहीँ यी सबै गर्दा पनि छरे रोग लाग्न सक्छ ।

खाने कुराबाट पनि छारे रोग लाग्छ, के–के नखाने ?

छारे रोग लागेका वा नलागेकाले सबै प्रकारका खाना खान सक्दछन् । तर, मदिरा खादै नखाने तथा तरकारी, सागसब्जी, सलाद र फलफूल खाँदा राम्रोसंग पकाएर, धोएर मात्र खाने गर्नु पर्दछ ।
बंगुर वा सुंगुरको मासु ‘नाम्ले’ जुका पाइन्छ । यही जुकाको अण्डाबाट छारे रोग लाग्छ । बंगुर र सुंगुरको मासु खाँदै न खाने, खानु पर्ने भए सकेसम्म पानीमा उमालेर पकाएर मात्र खाने ।

अर्को कुरा हाम्रो समाजमा कुखुरा वा खसीको मासु पनि बार्नु पर्ने भन्ने धारणा छ तर त्यसो होइन । अरु प्रकारका मासुहरुबाट यो रोग हुनसक्ने आहिलेसम्म प्रमाण भेटिएको छैन । आफुलाई कुनै खानेकुराले छारे वा छोप्ने हुन्छ जस्तो लाग्छ भने त्यो खानेकुरा नखाने ।

छारे रोगीले के गर्ने के नगर्ने ?

पहिलो कुरा छारे रोगीले सामान्य मानिससरह जीवनयापन गर्नसक्छन् । तर, छारे रोग लागेकालाई कुन बेला झट्का (छोप्छ) त्यो थाहा हुँदैन । त्यसैले यसका लागि सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ ।
विशेष गरेर, छारे रोगीहरुलाई शारीरिक, सामाजिक, आर्थिक तथा व्यवहार र भारहरु पर्न सक्छ । छारे रोग लागेका मानिस जुन सुकै ठाउँमा पनि बेहोस हुन सक्छन् । घाँस दाउरा गर्दा, खाना पकाउँदै गर्दा, बस वा गाडी चढ्दा, खेतीपाती गर्दा, गाईगोठ गर्दा वा राति निदाएको बेला पनि हुनसक्छ । यस्तो रोगले छोपेको बेला एक्लै वा अन्य व्यक्ति भएको बेला पनि हुनसक्छ ।

बेहोस भएका बेला व्यक्तिले दिशा, पिसाब छोड्न सक्छन् । यस्तो दुर्घटनाले बिरामी स्वयम् र अरुलाई पनि हानी नोक्सानी गर्नसक्छ । केहि पल देखि केहि मिनेटसम्म बेहोस हुने हुन सक्दछ । त्यसपछि सामान्य अवस्थामा आएपनि कतिपय व्यक्तिमा थकित हुने, शरीरमा बल र शक्ति नहुने, अनौठो व्यवहार देखाउने, टाउको दुख्ने, मांशपेसी दुख्ने वा कम्जोरीपन हुन्छ । कतिपय अवस्थामा उनीहरु समाज तथा घरपरिवारबाटै अपहेलित हुनुपर्ने, कहिलेकाहिं छारेरोग अनियन्त्रित भइ ठुलै मानसिक समस्या पनि आइपर्ने अवस्था पनि आउन सक्छ ।

नेपालमै छारे रोगको उपचार हुन्छ ? उपचार विधी के हो ?

छारे रोग उपचारका लागि नेपाल बाहिर जानुपर्दैन । नेपालमै यसको उपचार सम्भव छ । समाजमा अहिले पनि एउटा धारणा छ की छारे रोगको औषधि उपचार हुँदैन । जबकी लगभग ८० प्रतिशत बिरामीहरु सीमित अवधिसम्म औषधि सेवन गरेपछि पुर्णरुपमा निको भएको पाइन्छ । केही बिरामीलाई अलिक लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले नियन्त्रण हुन नसकेको बिरामीलाई माईक्रो–इन्वेसिव सर्जरी र अबल्याशन विधिद्वारा पनि निको पार्न सकिन्छ । कतिपय छारे रोग ब्रेन ट्यूमरले गर्दा पनि भईरहेको हुन्छ यस्तो अवस्थामा ट्यूमर झिकेपछि ठिक हुन्छ । आजको आधुनिक युगमा यस्ता थुप्रै प्रविधिको विकास भएको छ जसले गर्दा छारे रोगलाई सजिलै जित्न सकिन्छ ।

छारे रोगको लक्षण देखिएमा सकेसम्म तुरुन्त अस्पताल ल्याउनुपर्छ । चिकित्सकको सल्लाह आनुसार टाउकोको सीटि स्क्यान, ईईजी लागायत रगतका जाँचहरु गर्नुपर्छ । मैले यसअघि बताएको केही कारणहरु देखिएमा त्यसको उपचार गर्न बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने पनि हुन सक्छ ।

छारे रोग नियन्त्रणका लागि चिकिस्तकको सल्लाहमा औषधी सुरु गर्नुपर्छ । कतिपयलाई औषधी शुरु गरेको २–३ वर्षपछि निको हुन्छ । भने कतिपयलाई औषधीले रियाक्सन गर्नेहुँदा औषधी र यसको मात्रा समेत परिर्वतन गर्नुपर्ने हुन्छ ।

विश्व छारे रोग दिवसका अवसरमा यहाँको सुझाव

जनचेतना र शिक्षाको कमिले आज पनि ग्रामीण क्षेत्रमा छारे रोगको बिरामीलाई झट्का आइरहेको बेला गन्हाउने जुत्ता, मोजा र चप्पल सुँघाउने चलन छ । जसबाट छारे रोग निको हुने अन्धविश्वास छ । जबकी वास्तविकता के छ भने एपिलेप्टिक फिट्स (झट्का) एकदम छोटो समयको हुन्छ जून केही क्षणमा (बढ़ी भन्दा बढ़ी २–३ मिनेट) आफैं ठिक भएर जान्छ । तर, मानिसहरुलाई जुत्ता सुँघाएपछि ठिक भएको हो भन्ने भ्रम पर्न गएको हुन्छ । केही समुदायमा छारे रोग एक सरुवा रोग हो भन्ने अवधारणा छ जसले गर्दा छारे रोगका बिरामीलाई धेरै ठाउँमा गलत दृष्टिले हेर्ने समाजिक अवहेलना र छुवाछूतको समस्या खेप्नु पर्छ । केहीले त यो शैतानिक शक्ति वा भगवानले पठाएको शैतानले आक्रमण गरेपछि हुन्छ भनेर धामी–झांक्रीसम्म पुग्ने गरेका छन् । समुदायमा रहेको यस्तो अन्धविश्वासहरुमा अलिकति पनि सत्यता छैन । त्यसैले यस्तो भ्रममा नपरौं । यो सरुवा रोग होइन । समयमै उपचार गरौं, गराऔं । छारे रोग निको हुन्छ । 

-नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरका न्यूरो सर्जन डाक्टर जोशन न्यौपानेसंग गरिएको कुराकानीका अधारमा ।