बाँकेमा औंलो रोगी बढे, निःशुल्क जाँचको सेवा समेत लिदैनन्

औंलोका आयातीत बिरामी बढ्दो: सबै भन्दा बढि नरैनापुर, नेपालगन्ज पनि उच्च जोखिममा


बाँकेमा औंलो रोगी बढे, निःशुल्क जाँचको सेवा समेत लिदैनन्

नेपालगन्ज २ फागुन : आगामी सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औलोको जोखिम कायमै रहेको पाइएकोछ । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा अझैं औलोको जोखिम उच्च रहेको पाइएको हो । स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि लुम्बिनी प्रदेशका जिल्लामा समेत औंलोको प्रकोप अझैं देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

नेपालगन्जमा सोमबार आयोजित औंलो रोग सम्बन्धि बहुनिकाय अन्तरक्रिया तथा अभिमुखिकरणमा बाँकेमा पनि औलोको बिरामी बढेको बताइएको छ । बाँकेमा चालू आर्थिक वर्षको हालसम्म औलोका ७० वटा बिरामी भेटिएको छ भने सबै भन्दा बढि नरैनापुर गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय बाँकेका मलेरिया फोकल पर्शन दुर्गा गौतमले जानकारी दिइन् ।

लामो समयदेखि औलो रोगको सङ्क्रमण दर घट्दो मात्रामा छ, तर भारतलगायत बाह्य देशबाट भित्रिने नागरिकमा यो रोगको सङ्क्रमण बढी देखिएको स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ ।

आयातित औंलोको विरामीका कारण बाँके जिल्ला पुनः औलो रोगको उच्च जोखिम देखिएको हो । अन्य रोगको तुलनामा औलो उन्मूलनउन्मुख भएपनि आयातित विरामीका कारण जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय बाँकेकी मलेरिया फोकल पर्शन गौतमले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

चालु आर्थिक वर्षको पुषसम्म अर्थात डिसेम्बर १ तारिख २०२१ सम्म बाँकेमा औलो रोगका कुल ४५ विरामी फेला परेकोमा नरैनापुर गाउँपालिकामा मात्रै ४० जना रहेको उनले जानकारी दिइन् । उनका अनुसार सो अवधिसम्म नेपालगन्ज, कोहलपुर र डुडुवामा एक/एक जना र खजुरामा २ जना औंलो रोगको विरामी भेटिएको हो ।

यस्तै उनका अनुसार चालु आर्थिक वर्षको फागुन २ गतेसम्म बाँकेमा कुल ७० जनामा औलोका विरामी भेटिएकाछन् । यसरी भेटिनेमा अधिकांश आयातित विरामी भएता पनि केही आन्तरिक विरामी भेटिएकोले औंलोको जोखिम झन बढेर गएकोछ ।

स्वास्थ्य कार्यालय बाँकेको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बाँकेमा २०७५/०७६ मा ६१ जना, २०७६/०७७ मा ५६ जना र २०७७/०७८ मा ४२ जना औंलोको विरामी भेटिएकाछन् । विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने बाँके पछिल्लो समयमा सुरक्षित बन्दै गएपनि जोखिम भने कायमै रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले पुष्टि गरेकोछ ।

‘स्थानीय विरामीलाई शून्यमा झारेर यहाँको लामखुट्टेबाट औलो नसरोस् भन्ने हाम्रो लक्ष्य हो ।’ गौतमले भने– ‘त्यसका लागि स्थानीय तहबाटै औलोरोग विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ भने सबै स्वास्थ्य संस्थाबाट औलोको जाँच र औषधि निःशुल्क वितरण भईरहेको छ ।’

भारतसँगको खुलासीमा नाकाका कारण नेपालगन्जसहित बाँके औलोको उच्च जोखिममा छ । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरेपनि पछिल्लो समय यहीका स्थानीयमा पनि औंलो देखिन थालेपछि नियन्त्रण चुनौतिपूर्ण देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहको भनाइ छ ।

औलो सङ्क्रमित विरामीको उपचार नभएमा लामखुट्टेको माध्यमबाट यो रोग सर्ने भएकोले विदेशबाट आएका र स्वदेशका ज्वरोका विरामीले २४ घण्टाभित्रै जाँच गर्नुपर्ने उनको सल्लाह छ ।
रगत जाँचका क्रममा एकजनामा सङ्क्रमण देखिएमा विरामीको घरलाई केन्द्र मानेर शहरमा २५–५० घरको दूरी र गाउँमा २ किलोमिटर वरिपरि जाँच गर्ने गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले बढ्दो प्रविधिको प्रयोग र उपयोगितासंगै स्वास्थ्य सम्बन्धि जागरुकता हराउँदै गएको प्रति चिन्ता ब्यक्त गरे ।

उनले भने ‘स्वास्थ्य जाँच गराउँदा औलो रोग पनि जाँच गराऔं, औंलो रोग उन्मुलनको अभियानमा सबै नागरिकले सहयोग र साथ दिऔं । समुदायस्तरमा जनचेतना फैलाउन तथा समुदायस्तरमा नै रोकथामका उपायहरु अपनाउन मद्दत गर्ने गर्नुपर्छ । तसर्थ हामी सबैले जानेका र बुझेका कुराहरु एक–आपसमा साटसाट गरेर यो अभियानमा हातेमालो गरौं ।’

नेपाल सरकारले औंलो रोगीको संख्या सन् २०२२ सम्ममा शून्यमा पुर्याउने र सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुने नेपालगन्जका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार सर्वसाधरण औंलो रोगप्रति सचेत र जागरुक देखिदैनन् । स्वास्थ्य जाँचमा ठूलो रकम खर्च गर्छन् तर राज्यले प्रदान गरेको सुविधा निशुल्क प्रयोग गर्दैनन् । उनका अनुसार कतिपयको स्वास्थ्य अवस्था जटिल भएपछि मात्र थाहा पाउने हुँदा उपचारमा समेत सकस भइरहेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका मलेरिया रोग फोकल पर्शन तेज ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले जमुनाह नाकामा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ ।

‘लामखुट्टेको टोकाइका कारण मानिस तथा अन्य केही जनावरमा सर्ने औंलो प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेको टोकाइबाट परजीवी शरीरमा प्रवेश गरेमा १० देखि १५ दिनमा लक्षण देखिन थाल्छ, उनले अगाडी थपे–‘घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शङ्कास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा बचाउन सकिने छ ।’

लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो ।

उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।