‘गर्भा दरबार’ चिनाउन साइकल यात्रा


‘गर्भा दरबार’ चिनाउन साइकल यात्रा

नेपालगन्जः कैलालीमा रहेको गर्भा दरबार चिनाउन साईकलयात्रा गरिने भएकोछ । यही मंसिर २० गते शुक्रबार उक्त साईकल यात्रा गरिन लागेको हो । यात्रा दुईदिन सम्म चल्नेछ ।

सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश पाँचका चिरपरिचित तथा नयाँ साईकल यात्रीहरुले उक्त यात्रा पुरा गर्ने तयारी गरिएको साइकल यात्री भरतविक्रम शाहले सेतोखरीलाई जानकारी दिए ।

कैलालीको ऐतिहासिक गर्भा दरबारसम्म साइकल यात्रा गर्ने तयारी भइसकेकोछ, तीनै प्रदेशका साईकल यात्रीको सहभागिता रहनेछ । साइकलयात्री भरतबिक्रम शाहले भने ।

उनीहरुले यसलाई ‘प्रथम ऐतिहासिक गर्भादरबार साइकल यात्रा’को नाम दिएका छन् । साइकल यात्रामा दाङबाट साइकलयात्री रेशम केसीको टोली, प्रदेश पाँचको नेपालगन्जबाट सतिस निरौलाको टिम र सुदूरपश्चिम प्रदेशबाट भरतबिक्रम शाहको टिम सहभागी हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

सोही क्रममा पश्चिम नेपालको साइकले परिवारलाई फरक ढंगले अगाडि बढाउने र यस क्षेत्रका ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको पहिचान उजागर गर्ने निर्णय पनि गरिने साइकलयात्री शाहलेले बताएका छन् ।

कैलालीको साविक खैराला गाविसमा रहेको ‘गर्भा दरबार’ विक्रम संबत १९८२ मा निर्माण सुरु भई १९८४ मा सम्पन्न भएको हो ।
तत्कालीन राणा साशकले निर्माण गरेको यो दरबार सुदूरपश्चिम प्रदेशभरिकै जीवित ऐतिहासिक संरचना मध्ये एक हो ।

यसअघि साइकलयात्री भरतबिक्रम शाहले यहाँसम्म साइकल यात्रा गरिसकेका छन् । उनकै पहलमा एक साताअघि धनगढी र फुलबारीको दारी ग्याङले दरबार क्षेत्रको सरसफाई समेत गरेको थियो ।

लामो समयदेखि पत्रपत्रिकामा लेखिँदै आए पनि सुदूरपश्चिमका चर्चित साईकल यात्री शाहकै प्रयासमा यतिवेला यो दरबार पहिचानमा आउन थालेको हो ।

यस्तै केही दिन अघि मात्रै जिल्ला समन्वय समितिको बैठक पनि दरबारमा गएर बसेको थियो । हालै दरबारसम्म पुग्ने सडक मार्गको ट्रयाक खोलिएको छ । जोखिमपूर्ण बाटो भएकाले यसको मर्मत र थप स्तरोन्नती गर्नुपर्ने स्थानीयहरु बताउँछन् ।

यस्तो छ गर्भा दरबारको ईतिहास
खड्क शम्शेर जबराले बि.स. १९८२ सालमा बनाउन सुरु गरेको दरवार ३ वर्ष लगाएर वि.सं. १९८४ मा पुराभएको थियो । खासमा यो दरवारको नाम ‘शम्शेर जंग दरवार’ हो ।

करिब एक सय वर्ष पुग्न लागेको यो दरवार उचित संरक्षणको अभावमा जिर्ण बन्दै गएकोछ । नेपाली कलाकृति जडित पर्खाल २०५५ साल यता भत्किन सुरुभएको जानकार बताउँछन् ।

राणा शासकहरुले यो दरवार सुदूरपश्चिमको मुद्दा मामिला मिलाउन र तिरो (कर) उठाउन बनाएका स्थानीय जानकार बताँउछन् ।
मासको मसलाले चुनेको दरवारमा ८३ झ्याल र ५३ ढोकाहरु थिए । १० रोपनी जग्गामा फैलिएको यो दरवार ३ तले छ ।

सुरक्षाको दृस्टिकोणले दरबारमा भुइँतले सुरुङ्ग समेत बनाइएको थियो जो अझै पनि छ । ऐतिहासिक यो दरबारमा भने खड्क शम्शेर १ रात मात्रै बसेको स्थानीयको भनाईछ ।

यो दरबारमा २०३२ सालसम्म धेरै चहलपहल हुने गर्दथ्यो । स्थानीयले यो दरबारलाई ‘सुन्दर सुदूरपश्चिमको हिरा’ को उपमाबाट चिन्ने पनि गर्छन् ।

सरकारले लिएको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिन लागेको ‘प्रथम ऐतिहासिक गर्भा दरबार साइकल यात्रा’ले सुदूर पश्चिमको प्रमुख गन्तब्य बन्नसक्ने साईकलयात्री तथा यसको संरक्षण र सम्बद्र्धनमा लागेका भरतविक्रम शाह बताँउछन् ।

जसरी हुन्छ सबैले मिलेर यो दरबारको संरक्षण र प्रचारप्रसारका लागि आवाज उठाउने बेला आएको छ । त्यही विषयलाई आत्मसाथ गर्दै साईकलयात्रा गरिन लागेको हो। शाहले बताए ।