अनुगमन हुने तर कारबाही नहुने
नेपालगन्ज: बाँके र बर्दियामा अबैध औषधिको कारोबार बढ्न थालेकोछ । सरकारीतवरबाट प्रभावकारी अनुगमन हुननसक्दा अबैध औषधिको कारोबार बढेको हो ।
अबैध औषधिको कारोबार बढेसगैं मानव स्वास्थ्य जोखिममा समेत पर्दै जाँदा सम्बन्धित सरोकारवाला निकायबाट प्रभावकारी अनुगमन समेत हुनसकेको छैन ।
बाँके र बर्दियाका विभिन्न नाकाबाट भरियाको सहातामा नेपाल भित्र्याइने प्रतिबन्धित औषधिका कारण मानव स्वास्थ्य जोखिममा समेत परेकोछ ।
सरकारले नेपालमा दर्ता नभएका औषधि विक्रिवितरण गर्न कडाई गरेतापनि जिल्ला प्रशासन कार्यालय लगायतले अनुगमन प्रभावकारी गर्न सकेको छैन । सरकारी तवरबाट हुने मौसमी अनुगमनले अबैध औषधि कारोबारीलाई हौसलासमेत दिएकोछ । अनुगमनका नामा अनुगमन हुने तर कारबाही नहुने सरकारी कार्यालयको नियतले अबैध औषधिको कारोबार बढेकोहो ।
यसरी बाँके र बर्दियाका सीमा नाकाबाट ल्याइएका अबैध औषधि बाँके र बर्दिया लगायत दाङ्ग, सुर्खेत, जाजरकोट, दैलेख, सल्यान लगायत विभिन्न जिल्लाहरुमा पठाइने गरिन्छ ।
मानव स्वास्थ्यलाई असर गर्ने यस्ता औषधिहरु भारतीय सीमानाकाबाट सहजै नेपाल भित्रिने गरेका छन् । सीमामा रहेको भन्सार कार्यालयले पनि अबैध औषधिको कारोबारलाई नियन्त्रण गर्न कुनै चासो र पहल गरेको छैन ।
भारतीयबजारबाट नेपाल भित्रिने अबैध औषधि रोकथाम तथा नियन्त्रणका लागि नेपालगन्ज भन्सार कार्यालयले समेत वेवास्ता गर्दा दिनहुँजसो लाखौं मूल्यका अवैध औषधि नेपाल भित्रिरहेकाछन् । भन्सार कार्यालयको उदासिनता तथा जिल्ला प्रशासन लगायत सरोकारवाला निकायको मौनताले सर्वसाधरणको स्वास्थ्य जोखिममा परिरहेकोछ ।
अझ औषधि विक्रिका लागि खोलिएका अधिकांस मेडिकल हलमा औषधि विक्रिवितरणमा मेडिकल सम्बन्धि सामान्य पढेलेखेका व्यक्तिहरुकै हालिमुहालि छ । मेडिकल सम्बन्धि सामान्य पढेलेखेकाले औषधि बेच्दा सर्वसाधरणले म्याद गुज्रेका, फरक नामका औषधि सेवन गरिरहेकाछन् । जसका कारण उनीहरुको स्वास्थ्य अवस्था झन बल्झिने गरेकोछ ।
यसैबीच, नेपालमा दर्ता नभएका औषधिहरु विक्री वितरण गरेको आरोपमा दुई जनामाथि मुद्दा चलाइएको छ । बर्दियाको गुलरिया ६ स्थित मिन्सु सेवा क्लिनिकका सञ्चालक शैलेन्द्रकुमार गुप्ता र बझाङ जयपृथ्बी नगरपालिका ९ का रोहित धामीमाथि मुद्दा चलाइएको हो ।
गुलरिया ८ बस्ने २७ बर्षीय गुप्ताले अवैधरुपमा सञ्चालन गरेको औषधि पसलमार्फत नेपालमा दर्ता नभएका औषधिहरु गैरकानूनीरुपमा विक्रीवितरण गर्दै आएकोले औषधि व्यवस्था विभाग नेपालगन्जले जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता गरेको छ ।
विभागको टोलीले अनुगमन गर्दा औषधि ऐन २०३५ को दफा १० को बर्खिलाप पसल दर्ता नगरी मेडिकल सञ्चालन गरेको पाइएको भन्दै औषधि व्यवस्था विभाग नेपालगन्जकी प्रमुख निनु श्रेष्ठले नेपालमा दर्ता नभएका औषधि र फर्मास्टिबिना औषधिको कारोबार गरेकोले अनुसन्धान गरेर पसल सञ्चालक गुप्तामाथि मुद्दा चालइएको बताइन् ।
औषधि ऐन २०३५ को दफा ३४ को उपदफा १ र २ को उपदफा घ बमोजिम ५ वर्षसम्मको कैद र जरिवाना माग दाबी गर्दै गुप्तामाथि मुद्दा दायर गरिएको उनको भनाई छ ।
यसैगरी नेपालमा दर्ता नभएका ४४ प्रकारका औषधि झोलामा बोकेर ओसारपसार गरेको आरोपमा बझाङको जयपृथ्बी नगरपालिका ९ बस्ने रोहीत धामीमाथि मुद्दा दर्ता गरिएको छ । औषधि ऐन २०३५ को दफा ३४ को उपदफा १ बमोजिम ३ वर्षसम्मको कैद र जरीवाना मागदाबी गर्दै उनीमाथि कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका फार्मेसी निरीक्षक दिपेन्द्रकुमार साहले बताए ।
अवैध औषधिहरु गैरकानूनीरुपमा भारतबाट नेपाल भित्र्याएका धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग नेपालगन्ज पठाएको थियो ।
नेपालमा दर्ता नभएका औषधिहरु अवैध तरिकाले भारतबाट नेपालमा निकासीपैठारी गरेको कसुर पुष्टि भएकोले उनीमाथि मुद्दा चलाइएको फार्मेसी निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिए ।