नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगु पुष्टि

नेपालगन्ज, कोहलपुर र बैजनाथ उच्च जोखिममा, लार्भा मार्ने अभियान सुरु


नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगु पुष्टि

नेपालगन्जमा डेंगु देखिएपछि बसपार्क क्षेत्रमा लामखुट्टेका लार्भा नष्ट गरिदैं ।

नेपालगन्ज २० भदौ : नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगुको पुष्टि भएकोछ ।

बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा ११ जनामा डेंगुको पुष्टि भएको हो । ती मध्ये ३ जना बाँके बाहिरका भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

बाँकेमा रहेका तर, बाहिरी जिल्लाका तीन जनामा डेंगु पुष्टि भएको हो । डेंगु पुष्टि हुनेमा बर्दिया र कैलाली जिल्लाका ३ जना ब्यक्ति रहेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको फोकल पर्सन गौतमले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

सेतोखरीसँग कुरा गर्दै बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले भनिन्–‘बाँकेका ८ जनामा डेंगु देखिदाँ एक जनाको ट्राभल हिस्ट्री पाइएन । उनी स्थानीय संक्रमितको लिष्टमा रहेकाछन् भने अन्य डेंगु पुष्टि हुनेहरुको डेंगु प्रभावित क्षेत्र भएर फर्केपछि डेंगु पुष्टि भएको हो ।’

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित ५३ वर्षीय पुरुषमा डेंगुको संक्रमण देखिएपछि बसपार्क क्षेत्रलाई उच्च जोखिममा लिइएको पनि उनको भनाइ छ । संक्रमण पुष्टि भएका अधिकांशमा ट्रयाभल हिस्ट्री देखिए पनि ती पुरुष भने घरमै थिए । घरमै रहेको अवस्थामा उनीमा डेंगु पुष्टि भएको हो ।

बाँकेका किटजन्य रोग फोकल पर्सन गौतमले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले प्रचारप्रसारसंगै डेंगु पुष्टि भएको क्षेत्रमा लार्भा, अण्डा र प्यूपा नष्ट गर्न सुरु गरिसकेको जानकारी दिइन् ।

‘जहाँ डेंगु देखियो त्यहीँ गएर लामखुट्टेका लार्भा, अण्डा र प्यूपा नष्ट गर्ने कार्यको थालनि गरिएकोछ’ गौतमले अगाडी थपिन्–‘यो अभियान निरन्तर हुन्छ । जहाँ जहाँ जोखिम छ त्यही त्यही डेंगु नियन्त्रणको अभियान चलाइन्छ ।’

यसैबीच, संक्रमणको जोखिम उच्च बनेपछि नेपालगन्ज उपमहानगरपालिकाले डेंगु रोग सार्ने लामखुट्टेका लार्भा मार्ने अभियान सुरु गरिसकेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

नेपालगन्जको गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–४ स्वास्थ्य कार्यालयको टोलीले डेंगु सार्ने एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्न सुरु गरेको छ । लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान थालिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द, फोकलपर्सन तेज ओली, वडा नम्बर– ४ का अध्यक्ष गोपाल पुनलगायत लार्भा मार्ने अभियानमा निस्केका थिए ।

डेंगुका लक्षण

डेंगु एडीस एजिप्टी र एडिस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ । एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने,आफ्नो दैनिकी खानपानमा रुचि नलाग्ने हुन्छ ।

पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमला प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने र पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न चिकित्सकहरूको सुझाव छ ।

नेपालमा विशेषतः मनसुन सिजनको अन्त्यतिर कतै न कतै प्रकोपको रूपमा डेंगु देखिने गरेको छ । दशैँ–तिहारतिर डेंगु बढी देखिने गर्दछ । तर, सन् २०१९ मा भने मनसुन सिजन सुरु हुनु पूर्व नै डेंगुले आफ्नो प्रभाव देखाउन सुरु गरिसकेको थियो । त्यो वर्ष डेंगु महामारी नेपालको इतिहासमा नै सबैभन्दा लामो अवधि रहेको र हजारौँलाई सङ्क्रमण गरेको वर्षको रूपमा रह्यो ।

डेंगु भाइरस एडीस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । धेरैमा राति सुत्ने बेला झुल लगाएर सुत्ने गरेकोले सङ्क्रमण नहुनु पर्ने धारणा भएको देखिन्छ । तर, धेरैलाई यो जानकारी नहुन पनि सक्दछ कि एडीस जातको लामखुट्टे विशेषत सूर्योदय पछि र सूर्यास्त हुनु पूर्व बढी सक्रिय हुने र टोक्ने गर्दछ । यसै कारणले पनि सम्भवतः धेरै मानिस एकै समय र ठाउँमा सङ्क्रमित हुने गर्दछ । किनभने यसै समयमा (दिनमा) धेरै मानिसहरू आ–आफ्नो कार्य थलोमा व्यस्त हुने र सो समयमा कार्य व्यस्तताको कारणले टोकेको समेत थाहा नहुने गर्दछ । तसर्थ धेरैलाई आफू बस्ने घरबाटभन्दा पनि कार्य थलोबाट बढी डेंगु सङ्क्रमण हुने गरेको लेखकको अनुभव छ ।

सङ्क्रमित सबैमा डेंगुको कडा लक्षण देखिँदैन । अधिकांशले घरमा नै बसेर स्वास्थ्य लाभ गर्न सक्दछन् । तर, कतिपयलाई भने डेंगुको कडा लक्षण देखिने गर्दछ । यो अवस्थालाई ‘चेतावनीको सङ्केत’ अर्थात् ‘वार्निङ साइन’ को रूपमा लिने गरिन्छ । डेंगु भएर बसिरहेको अवस्थामा अचानक पेट दुख्ने, तारन्तार बान्ता हुने, अलश्य हुने, रक्तश्राव हुने (गिजा, नाक आदिबाट रगत बग्ने), कलेजो सुन्निने र प्रयोगशाला परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटोकृत उकालो लाग्ने गरेको हुन्छ । यस्तो अवस्थामा संक्रमितले जति सक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ ।

डेंगुको हाल विशेष औषधी र खोप छैन । तसर्थ लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य उपाय हो । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे वृद्धि विकास हुने वातावरण नै सिर्जना हुन नदिनु हो । पानी सङ्कलन हुने ठाउँहरूले नै लामखुट्टे वृद्धि विकास गराउन सघाउने गर्दछ । तसर्थ घर÷टोल वरिपरि पानी सङ्कलन हुने ठाउँहरू हुनु दिनुहुँदैन। आफ्नो घर÷टोलमा मात्र नभई आफ्नो कार्यस्थल वरिपरि पनि पानी सङ्कलन हुने ठाउँहरू हुन दिनु हुँदैन । डेंगुले प्रकोपको रूप लिई सकेपछि ‘लामखुट्टे, खोज र नष्ट गर’ अभियान गर्नुभन्दा पहिले नै लामखुट्टे वृद्धि विकास हुने स्थिति सिर्जना हुन नदिए धेरैलाई सङ्क्रमित हुनबाट बच्न र बचाउन सकिनेछ ।

थप समाचार

नेपालगन्ज बसपार्क क्षेत्रका एकजनामा डेंगु देखियो