नेपालगन्ज: अष्ट्रेलियामा बसोबास गर्दै आएकी नेपालगन्जकी सन्ध्या शाह एनआरएनए ओमेन फोरम अष्ट्रेलियाको संयोजक बन्न सफल भएकी छन् ।
एनआरएनए अष्ट्रेलियाको यहि जुलाई ६ तारिखमा सम्पन्न निर्वाचनबाट शाह सर्वसम्मत संयोजक बनेकी हुन् ।
नेपालगन्जमा बसेर लामो समय पत्रकारिता गरेकी शाह एक दशक देखि पिआर लिएर अष्ट्रेलियामा बस्दै आएकी छन् । अष्ट्रेलियामा नेपाली माझ शाह पपुलर छिन् । त्यसैले त शाह चुनावनै नलडी संयोजकमा निर्विरोध निर्वाचित भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

शाह एनआरएनए अष्ट्रेलियाको ओमेन फोरम संयोजकमा सर्वसम्मत निर्वाचित भएपछि नेपालमा रहेका उनका साथीभाइ तथा सहकर्मी पत्रकारहरुले खुशी व्यक्त गर्दै बधाइ दिएका छन् ।
नेपालगन्जका पत्रकार विजय मल्ल भन्छन् ‘सन्ध्या अष्टे«लियामा त्यति ठुलो पदमा पुग्नु हाम्रो लागि गर्वको कुरा हो । यहाँ बस्दा सँगै काम गरेको साथी अष्ट्रेलियाको ओमेन फोरमको राष्ट्रिय संयोजक बन्दा हामी खुशी छौं ।’
ओमेन फोरम अष्ट्रेलियाले नेपालमा रहेका महिलाहरुका हकहितका लागि काम गर्दै आएको नवनिर्वाचित संयोजक शाहले सतोखरीलाई जानकारी दिइन् ।
उनले सेतोखरीसंग कुरा गर्दै भनिन्–‘नेपालमा रहेका महिलाहरुका लागि निःशुल्क सिलाइ कटाइ, पाठेघर खसेका महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र कृषी लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।’ नम्र स्वभावकी शाहले बाँके जिल्लामा समस्यामा परेका नेपालीलाई समेत व्यक्तिगत सहयोग गर्दै आइरहेकी छन् ।

संयोजक शाहले अष्टे«लियामा रहेका नारीहरुको हकहितमा पनि फोरमले ओकालत गर्दै आएको जानकारी दिइन् । अष्ट्रेलियामा काम गर्दै र समाजसेवा गर्न निकै कठिन रहेको उल्लेख गर्दै तर पनि समय निकालेर समाजसेवामा लाग्नु पर्ने संयोजक शाहले बताइन् ।