नेपालगन्ज : पछिल्लो समय बाँकेमा सहकारीको संख्या बढ्दै गएपछि भारतीय सहकारीमा बचत गर्ने क्रम न्यून भएको छ । बाँकेमा बचत तथा ऋणसँगै कृषि क्षेत्रमा पनि सहकारी संस्थाहरु खुल्ने क्रम तीव्र भएपछि करोडौं नेपाली रुपैयाँ स्वदेशमै रोकिएको छ ।
बाँकेमा बचत सहकारीहरुको स्थापनापछि नेपाली पूँजी बाहिरिन कम भएको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी बताउँछन । उनले यहाँका सहकारीले पुँजी पलायनलाई रोकेको बताउँदै भारतमा बचत गर्ने बचतकर्ताको संख्या न्यून भएको जानकारी दिए ।
बाँकेमा ४ सय बढी सहकारी सञ्चालनमा रहेको अध्यक्ष सुवेदीले बताए । उनकाअनुासर बाँकेमा मात्रै ११ लाख ६५ हजार सदस्य सहकारीमा आबद्ध छन ।
उनले २७ सय भन्दाबढी व्यक्ति सहकारीको सञ्चालक समितिमा आबद्ध रहेको बताउँदै सहकारीमा दुई हजार जनाले रोजगारी पाएको जानकारी दिए ।
अध्यक्ष सुवेदीले बाँकेमा सञ्चालित कृषि सहकारीले मात्रै दैनिक ८ हजार लिटर दुधको कारोबार गर्ने गरेको बताए ।
उनले भने, ‘बार्षिक १५ सय मेट्रिक टन बढी धान र १ हजार मेट्रिक टन गहुँको बिउ सहकारीले तयार गर्छन् ।’ जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालित छन् । यसबाट विपन्नलाई आयआर्जनमा समेत टेवा पुगेको छ ।
ऋण परिचालनले धेरैलाई स्वरोजगार समेत बनाएको अध्यक्ष सुवेदीको भनाईछ । ठूला सहकारीले वैदेशिक रोजगार, सवारीसाधन र घर निर्माणमा लगानी गरिरहेका छन् । सरकारी बैंक तथा वित्तीय संस्थामा ऋण लिन लामो र धेरै प्रक्रिया पु¥याउनुपर्ने भएकाले सहकारीप्रति सेवाग्राहीको आकर्षण बढेको उनको भनाई छ ।
आफू अध्यक्ष रहेको पौरखी सहकारीले एक महीनामा २२ लाख शेयर विक्री गर्न सफल भएको उनले बताए । सामान्य खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने महिलाहरु बचत गर्न थालेपछि आत्मनिर्भर भएको उनको भनाई छ ।
बचत समूहमा आबद्ध केही महिलाले बाख्रापालन, कुखुरापालन व्यावसायिक पशुपालन, च्याउ खेती, तरकारी तथा फलफूल खेती, घरेलु तथा साना उद्योग तथा व्यवसाय गरेका छन् ।