नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघले बहुउद्देश्यीय सभागृह निर्माण गर्ने भन्दै सडक डिभिजन कार्यालयको जमिन लिजमा लिएको थियो । उक्त जमिनमा सभागृहका लागि कुनैपनि भौतिक संरचना अहिलेसम्म निर्माण प्रक्रिया अघि नबढेपछि केही दिनअघिको मन्त्रीपरिषद्को बैठकले उक्त जमिनमा भएको सम्झौता खारेज गरिदियो ।
संघले सभाहलको नाममा बर्षेनी महोत्सव आयोजना गरेर करोडौं बचत गरेपनि अहिलेसम्म उक्त जमिनको भाडा भने नतिरेको खुलेको छ । संघले तीन लाख २५ हजार रुपैयाँ भाडा नतिरेको पाइएको छ । सभाहल तथा प्रदर्शनीस्थलका लागि संघको नेतृत्वले नै बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।
संघले सभाहल निर्माणका लागि भोगाधिकारका प्राप्त गरेको सडक डिभिजन कार्यालयको १० विघा जग्गाको सम्झौता मन्त्रीपरिषदले खारेज गरेको हो । मन्त्री शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सभाहल र प्रदर्शनी स्थलका लागि एक अर्ब बजेट विनियोजन भएको बताएका छन् । उनले सडक डिभिजनको जमिनमा होइन अब अरु कुनै जमिनमा सभागृह निर्माण हुने बताएका छन् ।
यसका लागि पाँच विघा जग्गा आवश्यक पर्ने भएकोले जमनिको खोजी भइरहेको पनि मन्त्री राईले जानकारी दिए । मन्त्री राईले नेपालगन्जमा जग्गा नभेटिए डुडुवा वा जानकी गाउँपालिकाको क्षेत्रमा सभागृह निर्माण गर्न सकिने बताए । मन्त्री राईको एकल पहलमा सभागृह र प्रदर्शनीस्थलका लागि एक अर्ब बजेट विनियोजन भएको हो ।
तर, संघले सभागृहका नामै संकलन गरेको करोडौ रकम गुपचुप हिनामिना गरेको छ । यतिसम्मकी जमिनको भाडा बापतको रकम समेत संघका अध्यक्ष नन्दलाल बैश्य र केही पदाधिकारीले हिनामिना गरेको अनुमान गर्न सकिन्छ । किनकी अहिलेसम्म संघले भाडा बापतको रकम समेत तिर्न सकेको छैन् ।
भोगाधिकारका लागि प्राप्त भएको जग्गालाई लिजमा परिणत गर्ने निर्णय २०७१ सालमा भएपनि नेपालगन्ज उद्योग बाणिज्य संघले लिजको प्रक्रियामा नगएको, भाडा नतिरेको र सडक डिभिजन कार्यालयलाई बनाई दिनुपर्ने ८ वटा भवन समेत बनाउन नसकेको बताईएको छ ।
भौतिक संरचना निर्माण गर्न नसकेको संघले भाडा बापतको रकम नै पचाउँन खोज्नुले पनि झनै आशंका उत्पन्न भएको हो । मेला महोत्सवको रकम पारदर्शी रुपमा सार्वजनिक गर्न नसकेको संघले जमिनको भाडा बापतको रकममा समेत बम्ह्रलुट गरेको हुन सक्ने नागरिक बताउँछन् । संघले सडक डिभिजनलाई भाडा बापतको तीन लाख २५ हजार तिरेको छैन् ।
उक्त शिर्षकको रकम कहाँ छ भन्ने बारे समेत संघका अध्यक्ष बैश्य नै अनविज्ञता जनाउँछन् । यसैले अहिले आम नागरिकले संघ र संघका अध्यक्ष बैश्यलाई प्रश्न गरिरहेका छन् । अध्यक्ष ज्यू: कहाँ छ जमिनको भाडा ? तर, यसको जवाफ नदिन अध्यक्ष बैश्ले विभिन्न तानावाना बुनिरहेका छन् ।