प्रशिक्षण केन्द्र १७ वर्षदेखि वेवारिसे


प्रशिक्षण केन्द्र १७ वर्षदेखि वेवारिसे

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र १७ वर्षदेखि सञ्चालन नहुँदा वेवारिसे झै बनेको छ । सरकारी उदासिनताका कारण उक्त केन्द्र लामो समयदेखि प्रयोगमा आउन नसकेको हो । प्रशिक्षण केन्द्रमा सुविधा सम्पन्न ३५ वटा भवन छन् । तर, लामो समयदेखि कोही नबसेपछि खण्डहर बनेका छन् ।

तत्कालिन मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिनका लागि सरकारले स्थापना गरेको उक्त केन्द्र तत्कालिन माओवादीको शसस्त्र द्वन्द्वका कारण बन्द भएको थियो । तर, अहिले शान्ति सम्झौता भएर माओवादीले पटक–पटक सरकार चलाईसक्दा पनि उक्त केन्द्र सञ्चालनका लागि कसैले चासो देखाएको छैन् ।

सरकारी उदासिनताका कारण केन्द्रका भोीतक संरचना पनि जीर्ण भइसकेका छन् । फर्निचर लगायतका सामग्री केही पनि छैनन् । कर्मचारी त हुने कुरै भएन् । केन्द्रको उचित संरक्षण नहुँदा वर्षातमा पानी चहिुनेदेखि विविध समस्यामा केन्द्र रहेको छ ।

उक्त केन्द्रमा सहसचिव तहका कार्यालय प्रमुख रहने व्यवस्था छ । थप ११ जनासम्म कर्मचारीको आवश्यकता पर्ने देखिन्छ । तर, अहिले उक्त केन्द्रमा कुनैपनि हतका कर्मचारी नभएको स्थानीय बताउँछन् । भौतिक पूर्वाधार सुधारपछि कर्मचारीको दरबन्दी कायम गरि सञ्चालन गर्नपर्ने स्थानीयको माग छ ।

उपमहानगरपालिका क्षेत्रमा रहेको उक्त केन्द्रको व्यवस्थापनमा उपमहानगरपनि मोन देखिएको छ । यद्यपी अहिले प्रदेश पाँच सरकारले केन्द्र सञ्चालनमा चासो देखाईरहेको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरी बताउँछन् ।

प्रदेश सरकारले उक्त प्रशिक्षण केन्द्रलाई प्रदेशको प्रमुख सरकारी कर्मचारी प्रशिक्षण केन्द्रका रुपमा विकास गर्न खाजेको उनी बताउँछन् । यसका लागि प्रदेश
सरकारले केन्द्रका भौतिक संरचना जिर्णेद्वार गर्न ५५ लाख उपलब्ध गराएको निमित्त निर्देशक चौधरीले जानकारी दिए ।

उक्त रकमले सभाहल, कक्षा कोठा, प्रशासनिक भवन, होस्टेल लगायतको जिर्णेद्वार गर्ने काम भइरहेको उनी बताउँछन् । सभाहलमा पाँचवटा एसी जडान समेत गर्ने योजना रहेको उनले बताए ।

सहसचिवको दरबन्दी रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र अहिले कार्यालय सहयोगीको जिम्मामा आएको छ । २०६१ सालदेखि प्रशिक्षण केन्द्र सुनसान रहेको कार्यालय सहयोगी हरीबहादुर विष्ट बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नरम्बर १४ का वडाध्यक्ष ओमकानाथ मिश्रा प्रशिक्षण केन्द्र सञ्चालन हुँदा भवानियापुर क्षेत्रकै रौनकता आउने बताउँछन् ।
यसलाई सञ्चालनको लागि उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखसँग पटक–पटक छलफल भएपनि उपलब्धि केही हुन नसकेको अध्यक्ष मिश्राले बताए ।
सशत्र पहरीलाई ५ विघा २ का जमिन विक्रि पश्चात पनि केन्द्रको नाममा अझै १७ विघा जमिन र भौतिक संरचना रहेको छ ।

भौतिक पूर्वाधारले सम्पन्न यो केन्द्रमा एक सभागृह, तीन कोठे दुईवटा कक्षा भवन, तीनवटा अनुसन्धान भवन, १२ कोठे प्रशासनिक भवन, एउटा कृषि कार्यशाला भवन, चार कोठे एउटा कृषि कक्षा भवन लगायतका भौतिक पूर्वाधार रहेको अध्यक्ष मिश्रा बताउँछन् ।