यस्तो छ राष्ट्रिय खेलकुदको इतिहास


यस्तो छ राष्ट्रिय खेलकुदको इतिहास

नेपालगन्ज २९ असोज : नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यतिबेला गण्डकी प्रदेशको राजधानी पोखरामा जारी छ ।

साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ ।

नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । अर्थात नेपाली खेलकुदको महाकुम्भ हो । यो महाकुम्भ प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर, पटक–पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि पोखराले फेरि दोस्रो पटक नेपाली खेलकुदको महाकुम्भ आयोजना गर्न पाएको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

राष्ट्रिय खेलकुदको इतिहासलाई हेर्दा पहिलो पटक २०३८ सालमा आयोजना भएको थियो । काठमाडौँमा भएको पहिलो राष्ट्रिय खेलकुदमा १६ खेल समावेश गरिएको थियो । यी खेल एथलेटिक्स, फुटबल, ब्याड्मिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रथम राष्ट्रिय खेलकुदमा तत्कालीन १४ अञ्चलको सहभागिता रहेको थियो । जसमा बागमती, गण्डकी र कोसीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गरे । पहिलो पटकको बृहत् खेलकुदमा एक हजार २२० पुरुष र २२३ महिला गरी कुल एक हजार ४४३ खेलाडीले भाग लिएका थिए ।

दोस्रो संस्करण तोकिएकै समय दुई वर्षपछि नै पोखरामा २०४० सालमा सम्पन्न भयो । यस प्रतियोगितामा भाग लिने खेलाडीको सङ्ख्या थियो दुई हजार ५७, जसमा एक हजार ९६८ पुरुष र ५३९ महिला खेलाडी थिए । प्रतियोगितामा खेल सङ्ख्या बढाएर १९ पु¥याइएको थियो । यस प्रतियोगितामा पनि बागमती, गण्डकी र कोसीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

तेस्रो संस्करण पनि नियमित रूपमा २०४२ सालमा वीरगञ्जमा सम्पन्न भयो । २१ खेल समावेश यस संस्करणमा खेलाडी सङ्ख्या बढेर दुई हजार ७७५ पुग्यो । प्रतियोगितामा पुरुष खेलाडीको सङ्ख्या मात्र दुई हजार ३७ पुगेको थियो । ७३८ महिला खेलाडी पनि सहभागी थिए । बागमती अञ्चलले तेस्रो संस्करणमा पनि ६६ स्वर्ण जितेर आफ्नो च्याम्पियनको गरिमालाई कायम राख्यो ।

तेस्रो राष्ट्रिय खेलकुद भएको १३ वर्षपछि मात्र २०५५ सालमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भयो जसमा १२ खेललाई मात्र समावेश गरिएको थियो । खेलाडी सङ्ख्या पनि घटेर मात्र एक हजार ६२२ जना थिए ।

यस संस्करणमा अञ्चल नभई विकास क्षेत्रले भाग लिने नियम बनाइएको थियो । पाँच विकास क्षेत्रसहित नेपाली सेना र नेपाल प्रहरी गरी कुल सात टिमले सहभागिता जनाए । अङ्क तालिकामा मध्यमाञ्चल पहिलो, नेपाली सेना दोस्रो र नेपाल प्रहरी तेस्रो स्थानमा रहे । प्रतियोगितामा पौडी खेलाडी नयना शाक्यले नौ इभेन्टमा नै नौवटा स्वर्ण जितिन् । यो सफलतापछि उनी जलपरीको उपाधिले विभूषित भइन् ।

पाँचौँ राष्ट्रिय खेलकुद हुन पनि ११ वर्ष कुर्नु प–यो । पाँचौँ संस्करण सुदूरपश्चिममा गर्ने घोषणा गर्दै झण्डा हस्तान्तरण गरिएकोमा पछि विभिन्न कारण देखाउँदै प्रतियोगिता अन्ततः काठमाडौँमा आयोजना गरिएको थियो ।
३२ खेलमा प्रतिस्पर्धा गरिएको यस संस्करणमा तीन हजार १७३ खेलाडी सहभागी थिए । पाँच विकास क्षेत्र तथा तीन विभागीय टोली नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनमुक्ति सेना गरी नौ टिमको सहभागिता रहेको थियो । यद्यपि जनमुक्ति सेनाको टिमलाई प्रवेश दिएपछि पाँचौँ संस्करण केही विवादित बन्न पुगेको थियो ।

नेपाली खेलकुदको सशक्त टिम सेनाले खेलको मर्ममा ठेस पु–याएको भन्दै विरोधस्वरूप फुटबल, एथलेटिक्स, भलिबल, तेक्वान्दो, ब्याड्मिन्टनमा सहभागिता नजनाएपछि नै राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात नै नराम्रो भएको थियो ।

यस प्रतियोगितामा पौडी खेलाडी करिश्मा कार्की एक्लैले १२ स्वर्ण पदक जितिन् । यसैगरी, पहिलो पटक नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी केशरी चौधरीले पाँच स्वर्ण जितेर राष्ट्रिय खेलकुदकी नायिका बनिन् ।

पाँचौँ राष्ट्रिय खेलकुदमा टिम च्याम्पियनमा सहभागी हुने कुल १९२ स्वर्ण र रजत तथा २९० काँस्य तथा टिम च्याम्पियनमा गणना नहुने खेलका ९७÷९७ स्वर्ण र रजत तथा १२० काँस्यका लागि प्रतिस्पर्धा भएको थियो जसमा मध्यमाञ्चल पहिलो, एपीएफ दोस्रो र नेपाल प्रहरी तेस्रो भए ।

छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन हजार ६६८ खेलाडीले सहभागिता जनाए । यस प्रतियोगितामा खेल सङ्ख्या ३२ थियो । प्रतियोगितामा पछिल्लो संस्करणमा समावेश खोखोलाई हटाइयो भने तेक्वान्दो युनियनको खेल समावेश गरियो ।

सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ सालमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल पदक तालिकामा सबभन्दा अगाडि रह्यो ।

पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ सालमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । यो संस्करणमा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो भने तीन हजार ९७२ जनाले सहभागिता जनाए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ सालमा बाँके, बर्दिया, दाङलगायत जिल्लामा आयोजना गरियो । यस प्रतियोगितामा पाँच हजार ३०५ खेलाडीले ३५ खेलमा एक हजार १५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

पहिलो पटक रनिङ ट्रफी

राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करणदेखि रनिङ ट्रफीको सुरुवात भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सुन र चाँदी जडित करिब दश लाख लागतमा ‘रनिङ ट्रफी’ तयार पारेको छ ।

रनिङ ट्रफीलाई देश भ्रमण गराएर राखेपले देशभर नै यस प्रतियोगतातर्फ सबैको ध्यान आकृष्ट गर्ने प्रयास गरेको छ । पदक तालिकामा शीर्ष स्थानमा रहने टिमलाई यो ट्रफी प्रदान गरिनेछ । तीन पटक लगातार प्रतियोगिता जित्ने टोलीलाई ट्रफी नै सधैँका लागि प्रदान गरिनेछ । ट्रफीबाहेक यसपटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिक तर्फका स्वर्ण पदकधारीलाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइनेछ ।

लोगो र मस्कट

ठूला खेलकुद मेलामा प्रतीकको रूपमा देखाइने मस्कट पनि आकर्षणको रूपमा रहेको हुन्छ । यो मस्कट प्रत्येक संस्करणमा परिवर्तन भइरहन्छ । नवौँ राष्ट्रिय खेलकुदको मस्कटका रूपमा लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ ।

यसैगरी, लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे नीलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । चार धर्साले साविकको प्रदेश ४ लाई इङ्गित गरेको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

थप समाचार

नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

नवौँ राष्ट्रिय खेलकुद : समुद्घाटनका अवसरमा मार्चपास र सांस्कृतिक कार्यक्रम

नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टूर : कार्यतालिकामा परेन खेलकुदमन्त्री अथकको गृह जिल्ला

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक