नेपालगन्ज २९ असोज : नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यतिबेला गण्डकी प्रदेशको राजधानी पोखरामा जारी छ ।
साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ ।
नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । अर्थात नेपाली खेलकुदको महाकुम्भ हो । यो महाकुम्भ प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर, पटक–पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि पोखराले फेरि दोस्रो पटक नेपाली खेलकुदको महाकुम्भ आयोजना गर्न पाएको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
राष्ट्रिय खेलकुदको इतिहासलाई हेर्दा पहिलो पटक २०३८ सालमा आयोजना भएको थियो । काठमाडौँमा भएको पहिलो राष्ट्रिय खेलकुदमा १६ खेल समावेश गरिएको थियो । यी खेल एथलेटिक्स, फुटबल, ब्याड्मिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी हुन् ।
प्रथम राष्ट्रिय खेलकुदमा तत्कालीन १४ अञ्चलको सहभागिता रहेको थियो । जसमा बागमती, गण्डकी र कोसीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गरे । पहिलो पटकको बृहत् खेलकुदमा एक हजार २२० पुरुष र २२३ महिला गरी कुल एक हजार ४४३ खेलाडीले भाग लिएका थिए ।
दोस्रो संस्करण तोकिएकै समय दुई वर्षपछि नै पोखरामा २०४० सालमा सम्पन्न भयो । यस प्रतियोगितामा भाग लिने खेलाडीको सङ्ख्या थियो दुई हजार ५७, जसमा एक हजार ९६८ पुरुष र ५३९ महिला खेलाडी थिए । प्रतियोगितामा खेल सङ्ख्या बढाएर १९ पु¥याइएको थियो । यस प्रतियोगितामा पनि बागमती, गण्डकी र कोसीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
तेस्रो संस्करण पनि नियमित रूपमा २०४२ सालमा वीरगञ्जमा सम्पन्न भयो । २१ खेल समावेश यस संस्करणमा खेलाडी सङ्ख्या बढेर दुई हजार ७७५ पुग्यो । प्रतियोगितामा पुरुष खेलाडीको सङ्ख्या मात्र दुई हजार ३७ पुगेको थियो । ७३८ महिला खेलाडी पनि सहभागी थिए । बागमती अञ्चलले तेस्रो संस्करणमा पनि ६६ स्वर्ण जितेर आफ्नो च्याम्पियनको गरिमालाई कायम राख्यो ।
तेस्रो राष्ट्रिय खेलकुद भएको १३ वर्षपछि मात्र २०५५ सालमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भयो जसमा १२ खेललाई मात्र समावेश गरिएको थियो । खेलाडी सङ्ख्या पनि घटेर मात्र एक हजार ६२२ जना थिए ।
यस संस्करणमा अञ्चल नभई विकास क्षेत्रले भाग लिने नियम बनाइएको थियो । पाँच विकास क्षेत्रसहित नेपाली सेना र नेपाल प्रहरी गरी कुल सात टिमले सहभागिता जनाए । अङ्क तालिकामा मध्यमाञ्चल पहिलो, नेपाली सेना दोस्रो र नेपाल प्रहरी तेस्रो स्थानमा रहे । प्रतियोगितामा पौडी खेलाडी नयना शाक्यले नौ इभेन्टमा नै नौवटा स्वर्ण जितिन् । यो सफलतापछि उनी जलपरीको उपाधिले विभूषित भइन् ।
पाँचौँ राष्ट्रिय खेलकुद हुन पनि ११ वर्ष कुर्नु प–यो । पाँचौँ संस्करण सुदूरपश्चिममा गर्ने घोषणा गर्दै झण्डा हस्तान्तरण गरिएकोमा पछि विभिन्न कारण देखाउँदै प्रतियोगिता अन्ततः काठमाडौँमा आयोजना गरिएको थियो ।
३२ खेलमा प्रतिस्पर्धा गरिएको यस संस्करणमा तीन हजार १७३ खेलाडी सहभागी थिए । पाँच विकास क्षेत्र तथा तीन विभागीय टोली नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनमुक्ति सेना गरी नौ टिमको सहभागिता रहेको थियो । यद्यपि जनमुक्ति सेनाको टिमलाई प्रवेश दिएपछि पाँचौँ संस्करण केही विवादित बन्न पुगेको थियो ।
नेपाली खेलकुदको सशक्त टिम सेनाले खेलको मर्ममा ठेस पु–याएको भन्दै विरोधस्वरूप फुटबल, एथलेटिक्स, भलिबल, तेक्वान्दो, ब्याड्मिन्टनमा सहभागिता नजनाएपछि नै राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात नै नराम्रो भएको थियो ।
यस प्रतियोगितामा पौडी खेलाडी करिश्मा कार्की एक्लैले १२ स्वर्ण पदक जितिन् । यसैगरी, पहिलो पटक नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी केशरी चौधरीले पाँच स्वर्ण जितेर राष्ट्रिय खेलकुदकी नायिका बनिन् ।
पाँचौँ राष्ट्रिय खेलकुदमा टिम च्याम्पियनमा सहभागी हुने कुल १९२ स्वर्ण र रजत तथा २९० काँस्य तथा टिम च्याम्पियनमा गणना नहुने खेलका ९७÷९७ स्वर्ण र रजत तथा १२० काँस्यका लागि प्रतिस्पर्धा भएको थियो जसमा मध्यमाञ्चल पहिलो, एपीएफ दोस्रो र नेपाल प्रहरी तेस्रो भए ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन हजार ६६८ खेलाडीले सहभागिता जनाए । यस प्रतियोगितामा खेल सङ्ख्या ३२ थियो । प्रतियोगितामा पछिल्लो संस्करणमा समावेश खोखोलाई हटाइयो भने तेक्वान्दो युनियनको खेल समावेश गरियो ।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ सालमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल पदक तालिकामा सबभन्दा अगाडि रह्यो ।
पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ सालमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । यो संस्करणमा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो भने तीन हजार ९७२ जनाले सहभागिता जनाए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ सालमा बाँके, बर्दिया, दाङलगायत जिल्लामा आयोजना गरियो । यस प्रतियोगितामा पाँच हजार ३०५ खेलाडीले ३५ खेलमा एक हजार १५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
पहिलो पटक रनिङ ट्रफी
राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करणदेखि रनिङ ट्रफीको सुरुवात भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सुन र चाँदी जडित करिब दश लाख लागतमा ‘रनिङ ट्रफी’ तयार पारेको छ ।
रनिङ ट्रफीलाई देश भ्रमण गराएर राखेपले देशभर नै यस प्रतियोगतातर्फ सबैको ध्यान आकृष्ट गर्ने प्रयास गरेको छ । पदक तालिकामा शीर्ष स्थानमा रहने टिमलाई यो ट्रफी प्रदान गरिनेछ । तीन पटक लगातार प्रतियोगिता जित्ने टोलीलाई ट्रफी नै सधैँका लागि प्रदान गरिनेछ । ट्रफीबाहेक यसपटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिक तर्फका स्वर्ण पदकधारीलाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइनेछ ।
लोगो र मस्कट
ठूला खेलकुद मेलामा प्रतीकको रूपमा देखाइने मस्कट पनि आकर्षणको रूपमा रहेको हुन्छ । यो मस्कट प्रत्येक संस्करणमा परिवर्तन भइरहन्छ । नवौँ राष्ट्रिय खेलकुदको मस्कटका रूपमा लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ ।
यसैगरी, लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे नीलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । चार धर्साले साविकको प्रदेश ४ लाई इङ्गित गरेको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।
थप समाचार
नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन
नवौँ राष्ट्रिय खेलकुद : समुद्घाटनका अवसरमा मार्चपास र सांस्कृतिक कार्यक्रम
नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर
यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह
पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टूर : कार्यतालिकामा परेन खेलकुदमन्त्री अथकको गृह जिल्ला
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर