नेपालगन्ज २८ असोज : पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् ।
उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आइपुगेकाछन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’लगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसकेकाछन् । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा पुगिसकेकाछन् ।
यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिए । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।
औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ ।
त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नम्बर– १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ ।
कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।
महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो । आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।
छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी