पोखरा २८ असोज : नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएकोछ ।
पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले खेलकुद उत्सवको सफलताको शुभकामना दिए ।
‘माछापुच्छ्रेको काख, फेवातालको किनार, रुपाताल, सेतीको किना र देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ’, उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।’
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् । भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे ।
उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।
यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा) ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ ।
प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घााटन गरेपनि प्रतियोगिताका कतिपय खेलहरू यसअघि नै सुरु भइसकेका छन् ।
शुक्रबारसम्म पदक तालिकामा आर्मी क्लब अगाडि छ । आर्मीले पाँच स्वर्ण, ६ रजत र सात कांस्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कांस्य जितेको छ । यस्तै एपीएफ क्लबले दुई स्वर्ण, चार रजत र सात कांस्य जितेको छ । पुलिस क्लब र सुदूर पश्चिम प्रदेशले एक एक स्वर्ण जितेको छ ।
कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।
यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् ।
राष्ट्रिय खेलकुदको चार दशक
नेपालमा विसं २०३८ देखी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हरेक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भएपनि राजनीतिक तथा विभिन्न कारणले सो अनुसार हुन सकेको छैन ।
राष्ट्रिय खेलकुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखी असोज ४ सम्म राजधानी काठमाडौंमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो ।
विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संस्करण वीरगन्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगन्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो ।
गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौंमा पाँचौँ संस्करण भयो । विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलो पटक तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेका थिए ।
सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौँ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगन्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो ।
थप समाचार
नवौँ राष्ट्रिय खेलकुद : समुद्घाटनका अवसरमा मार्चपास र सांस्कृतिक कार्यक्रम
नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर
यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर