नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन


नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

पोखरा २८ असोज : नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएकोछ ।

पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले खेलकुद उत्सवको सफलताको शुभकामना दिए ।

‘माछापुच्छ्रेको काख, फेवातालको किनार, रुपाताल, सेतीको किना र देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ’, उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।’

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् । भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे ।

Kids Festival 2022
kanti aarogya hospital

उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।

यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा) ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ ।

प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घााटन गरेपनि प्रतियोगिताका कतिपय खेलहरू यसअघि नै सुरु भइसकेका छन् ।

शुक्रबारसम्म पदक तालिकामा आर्मी क्लब अगाडि छ । आर्मीले पाँच स्वर्ण, ६ रजत र सात कांस्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कांस्य जितेको छ । यस्तै एपीएफ क्लबले दुई स्वर्ण, चार रजत र सात कांस्य जितेको छ । पुलिस क्लब र सुदूर पश्चिम प्रदेशले एक एक स्वर्ण जितेको छ ।

कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।

यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् ।

राष्ट्रिय खेलकुदको चार दशक

नेपालमा विसं २०३८ देखी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हरेक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भएपनि राजनीतिक तथा विभिन्न कारणले सो अनुसार हुन सकेको छैन ।

राष्ट्रिय खेलकुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखी असोज ४ सम्म राजधानी काठमाडौंमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो ।

विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संस्करण वीरगन्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगन्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो ।

गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौंमा पाँचौँ संस्करण भयो । विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलो पटक तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेका थिए ।

सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौँ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगन्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो ।

थप समाचार

नवौँ राष्ट्रिय खेलकुद : समुद्घाटनका अवसरमा मार्चपास र सांस्कृतिक कार्यक्रम

नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै