नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह


यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

नेपालगन्ज २८ असोज : ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिताअन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहौल तातेको छ ।

हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।

प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् । विसं २०७६ मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्य प्रदान गर्दैछ । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो ।

प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी तयारीका काम भएका छन् ।

खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बताए ।

उद्घाटनमा झल्किने छ सात प्रदेशको संस्कृति

राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रङ्गशालामा दुई सातादेखि तयारी भइरहेको छ । रङ्गशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको तयारी छ । शुक्रबार साँझ ४ः०० बजे प्रतियोगिता विधिवत् उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा रङ्गशाला उद्घाटन समारोहका लागि सिँगारिएको छ । ठाउँ–ठाउँमा स्वागत बोर्ड, ब्यानर र बत्तीले साँझमा झिलिमिली छ ।

उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ ।

प्रदेश नं १ को राई/लिम्बूको चर्चित साकेला नृत्य, मधेशको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारु संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले उद्घाटन समारोहलाई भव्य बनाएर राम्रो सन्देश देशभर दिने गरी उद्घाटन समारोहको तयारी गरिएको बताउनुभयो ।
नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विविधता र त्यसभित्रको जातीय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरू प्रस्तुत गरिने उनले जानकारी दिए । उनले भने,‘उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौँ, सिङ्गो देश खेलकुदमय हुनेछ ।’

पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ । सेनाका तीन सय जनाले मार्चपास गर्नेछन् । मार्चपासपछि सलामी अर्पणको कार्यक्रम हुनेछ । त्यसपछि सेनाको एक टुकडीले नाच प्रस्तुत गर्नेछ । नेपाली सेनाका १८ जना महिलाको टोलीले सात प्रदेश, विभाग र खेल सङ्घको झण्डा बोकेर रङ्गशालामा मार्चपास गर्नेछन् ।

संस्कृतिको अनुपम नमुना गण्डकी प्रदेशको विभिन्न जाति, जनजाति र समुदायको संस्कार र संस्कृति झल्कने १२ वटा झाँकी प्रस्तुत हुनेछ । गण्डकी प्रदेशको चर्चित मगर समुदायको कौडा, गुरुङको घाँटु, हिमाली भोटेको याक लगायतका नृत्य प्रस्तुत प्रदर्शन हुनेछ ।

पोखरा रङ्गशालाको खेल मैदान ढाकिने गरी चार सय विद्यार्थीले खेलकुदसँग सम्बन्धित र अन्य यहाँको मौलिक गीतमा नृत्य गर्नेछन् । नृत्यका लागि चार सय जनाका दरले तीन वटा समूह बनाइएको छ । तीन वटै समूहले फरक फरक गीतमा नृत्य प्रस्तुत गर्नेछन् ।

‘गण्डकी प्रदेश लोकसंस्कृतिको खानी भएकाले यहाँका जातजातिको विभिन्न किसिमका सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । साथै देशका सातै प्रदेशका संस्कार र संस्कृति अनुसारका झाँकी हुनेछन् । जसले खेलकुदका माध्यमबाट देशलाई एकताबद्ध बनाउने छ ।’ समारोह उपसमितिका संयोजक कुँवरले भने ।

चर्चित लोक गायक शिव परियार, कुन्ति मोक्तान, रचना रिमाल सहितको छ जनाको टोलीले पुरै रङ्गशाला गुञ्जने गरी स्टेजबाट गीत प्रस्तुत गर्नेछन् । सो गीतमा व्यावसायिक नृत्य गर्ने ४० जना कलाकारको समूहले मैदानमा नृत्य प्रस्तुत गर्नेछन् ।

समारोहलाई भव्य र उल्लासमय बनाउन उद्घाटन समारोहको अन्तिममा आतिसबाजीको तयारी गरिएको छ । भारतको लखनउबाट आएको आतिसबाजीको समूहले केहीदिनदेखी नेपाली सेनाको ब्यारेकमा बसेर तयारी गरिरहेको छ ।

सात वटा प्रदेशलाई समेट्ने गरी पूर्वदेखि पश्चिमसम्मको संस्कृति देखाउने नृत्य र झाँकीले राष्ट्रिय भाव दर्साउने समारोहको झाँकी तथा नृत्य उपसमितिका संयोजक नन्दा बस्यालले बताए । त्यससँगै गण्डकीका विभिन्न समुदायको संस्कृतिले प्रदेशवासीलाई राष्ट्रिय खेलकुदको अपनत्व हुने उनको भनाइ छ ।

उनले भने,‘छोटो समयमा समारोहका लागि तयारी गरेका छौँ । सांस्कृतिक, झाँकी राम्रो हुन्छ । अग्रज कलाकारसँग सहकार्य गरेर समारोहलाई रङ्गीचङ्गी बनाउने र खेलकुदका माध्यमबाट राम्रो सन्देश दिने गरी लागि परेका छौँ ।’ प्रतियोगिताको समारोहको तयारीका लागि मात्र रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

तयार छन् खेलस्थल

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखी नै सुरु भएका छन् । अधिकांश खेलहरू (आज) शुक्रबारदेखी सुरु हुँदै छन् ।

विशेषगरी पूर्वाधार अभाव र समयलाई मध्यनजर गरी कतिपय खेल अघि सारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौंमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौंमै हुनेछ । बाँकी खेलहरू अधिकांश पोखरा रङ्गशालामा हुनेछन् ।

पोखरामा २७ खेलहरू हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरू गोरखा, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुर गरी छ जिल्लामा हुँदैछ ।

प्रतियोगिताका लागि सबै खेलस्थलहरु तयारी अवस्थामा रहेको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए । केही खेलका सामान्य मर्मत र सरसफाईका काम बाँकी रहेको गुनासो आएको छ ।
खेल सञ्चालन अघि खेलस्थलमा सबै काम सकिने गुरुङले बताए । उनले भने, ‘तोकिएका सबै खेलस्थलहरुको मर्मत तथा स्तरोन्नतिको काम सकिएको छ । प्रतियोगिता सञ्चालनका लागि अब कुनै समस्या छैन ।’

राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि रु एक करोड बजेट छुट्टाएकामा पूर्वाधार स्तरोन्नतिको कामका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको बताइन्छ ।

राष्ट्रिय खेलकुदकमा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली (एनआरएनए)को गरी ११ टोलीको सहभागिता छ । प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्मको पदक तालिकामा बागमती प्रदेशले अग्रता बनाएको छ ।

स्थानीय सरकारको साथ

राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी सङ्घीय सरकारको हो । स्थानीय आयोजकका रूपमा गण्डकी प्रदेश सरकारले काम गरेको छ । प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले पनि प्रतियोगिता भव्य बनाउन प्रचारप्रसारमा साथ दिएको छ ।

यसैगरी, महानगरले प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई पुरस्कार घोषणा गरेर प्रोत्साहन गरेको हो । महानगरले प्रचार प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकाहरुमा स्वागतद्वार र प्रचार सामग्री राखेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नो तर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसाबले प्रतियोगिताको प्रचार प्रसार गरिएको बताए ।
उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने बनाउन विद्युतीय डिस्प्ले बोर्ड, रोड ब्यानर, स्वागत गेट लगायतबाट प्रचार प्रसार गरेका छौँ ।’

महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई यातायात, होटल, सपिङ मल लगायतमा छुट तथा सहुलियतका लागि समेत सम्बन्धित पक्षसँग आग्रह गरिएको जनाएको छ ।

‘राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सानो भएपनि योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग आह्वान गरेका छौँ’, आचार्यले भने ।

महानगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता महानगरका खेलाडीहरुलाई व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गर्ने घोषणा गरेको छ ।

यसैगरी, टिम खेलतर्फ पदक विजेतालाई नगद रु पाँच÷पाँच हजार दरले पुरस्कार दिइने महानगरले जनाएको छ ।

थप समाचार

पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै