नेपालगन्ज: अविरल वर्षाका कारण तराई–मधेसका विभिन्न जिल्लामा आएको बाढी तथा डुबानबाट पीडित भएकाहरुले पानीको सतह घटेसँगै केही राहत महसुस गर्न थालेका छन् ।
बाढीका कारण घर आँगनमा जमेको पानीको सतह कम हुन थालेपछि पीडितहरुले राहत महसुस गर्न थालेका हुन् । शनिबाररातिदेखि पानी नपरेपछि डुवान क्षेत्रमा पानीको सतह कम हुँदै गइरहेको छ ।
पानीको सतह कम भए पनि बाढी तथा डुवान पीडितलाई खान, बस्न र लगाउने कपडाको समस्या भएको पीडितहरु बताउँछन् । बढी पीडितहरुका लागि हालसम्म केन्द्रीय सरकारको कुनै राहत पुगेको छैन । स्थानीय तहका जनप्रतिनिधिले भ्याएसम्म सहयोग गरिरहेको छन् ।
स्थानीय सरकारले आफ्नो क्षमताअनुसार कुनै वडा विशेषमा केही राहतको व्यवस्था गरे पनि सबैको पहुँचमा छैन । अहिलेको मुख्य समस्या भनेको खानेकुरा र पानीको हो । त्यसको अभावमा बाढीपीडितहरु झन् पीडित हुँदै गइरहेकाछन् ।
बाढीपीडित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि सरकारको तर्फबाट खाद्यान्न र लताकपडा नपुगेको उनीहरुको जीवन कष्टकर बन्दै गएकोछ ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढीबाट पीडित बन्नेहरुको सङ्ख्या धेरै छन् तर, त्यसको तुलनामा राहत अझै पनि पुग्न सकेकोछैन । बाढी पीडितहरुका लागि अहिलेसम्म न त सरकारले न त सामाजिक सङ्घसंस्थाले राहत पु¥याउन सकेका छैनन् । पीडितहरु छिमेकी गाउँकै सहयोग र सहारामा गुजारा चलाइरहेकाछन् ।
दुई दिनदेखि पर्याप्त खानेकुरा नखाएका कारण कतिपय पीडितहरु अहिले बिरामी हुन थालेका छन् । जबसम्म केन्द्रीय सरकारले यसमा चासो लिँदैन तबसम्म पीडितले राहत महसुस गर्न पाउदैनन् ।
हिजो–अस्तिको तुलनामा पानी कम भइरहेको छ । त्यसले जनताको अनुहारमा खुशी देखिएको छ । तर, जनताका घर आँगनमा पानी पसेका कारण सबै सामान भिजेका छन् । खानेकुरा पनि छैन, घरआँगनमा हिलो छ । कतिपयको घर बगाएको छ भने कतिपयको घर भत्केको पनि छ ।
बाढीका कारण तराईका जिल्लाका सदरमुकाम तथा सहरबजारको सम्बन्धविच्छेद भएको छ । जहाँत्यहीँ सम्पर्क सडकहरु भत्काइएको छ । एक गाउँबाट अर्को गाउँमा जाने, गाउँबाट सहरबजार जाने अवस्था छैन । जनकपुरको सात किलोमिटर वरिपरि कुनै इमरजेन्सी भयो भने निस्कन सक्ने अवस्था छैन । पानीमा पौडी खेलेर वा हिँडेर जानेबाहेक अरू कुनै उपाय छैन ।
धनुषामाको कमला नदीमा पानीको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पानीको सतह हेर्दा जनता अझै त्रासमा रहेकोछन् । धनुषाको मलहनिया नजिक कमला नदीको बाँध फुट्दा जनकनन्दनी नगरपालिका–६ निकै प्रभावित भएको छ । त्यहाँ बढी क्षति भएका कारण हेलिकप्टरबाट उद्धारका लागि आईतबार बिहान सीडीओ पुगेका थिए ।
बाढीबाट क्षति भएको ठाउँमा खानेकुरा, पानी, त्रिपाल, मेडिसिनको आवश्यकता भए पनि कहीँबाट पुगेको छैन । राहत पु¥याउनमा सरकारले कन्जुस्याँई मात्र होइन ढिलाइ समेत गरिरहेकोछ ।
यस्तै मोरङको दक्षिणको केसरिया र पूर्वको सिङ्गियाही नदीले सबैभन्दा बढी क्षति गरेको छ । केसरिया नदीबाट ६, ४, १२ र १६ वटा वडा निकै प्रभावित भएका छन् । ६ नम्बर वडा मुसहर, मुस्लिम समुदायको बस्ती रहेको छ । कतिपयको घर ढलिसकेको छ भने कतिपयको घरसमेत बगाइसकेको छ ।
बाढी पीडितका लागि मागअनुसार राहत पुगेको छैन । विराटनगर बजार अझै जलमग्न छ । पानी नपरेको कारण पानीको चाप कम हुँदै गए पनि कपितयको घर आँगनमा अझै पनि पानी रहेको छ । बाढी पीडितहरुले दुई दिनदेखि चाउचाउ र बिस्कुट खाएर गुजारा चलाइरहेकाछन् ।
यस्तै महोत्तरीमा स्थानीय सरकारले अलिअलि राहत वितरण गरे पनि सबै पीडितसम्म पुग्न सकेको छैन । यतिखेर त्यहाँ पानीको सतह कम हुँदै गएका कारण जनताले केही राहत महसुस गरे पनि खाद्यान्न, लत्ताकपडाको आवश्यकताले उनीहरुलाई चिन्तित बनाइरहेकोछ ।
यसपटकको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा गरेको छ । पानीको चाप कम भइरहे पनि अहिले पनि गौर भन्सार र नगरपालिका डुबेको छ तर, विस्तारै–विस्तारै पानी कम भइरहेको बुझिएकोछ ।