नेपालगन्ज : पश्चिम नेपालमै पहिलो पटक सम्पन्न सद्भाव टूर दि ठाकुरद्वारा–२०७५ बाट उत्साहित नेपालगन्ज साईकलिङ्ग क्लबले नेपालगन्ज कोरा साइक्लिङ्गको आयोजना गरेकोछ ।
विभिन्न धार्मिक समुदायलाई आपसमा जोड्दै सामाजिक सद्भाव अभिबृद्धि गर्ने उद्देश्यसका साथ नेपालगन्ज कोरा साइक्लिङको आयोजना गरिन लागेको हो ।
जिल्लाका विभिन्न धार्मिक स्थलहरुको साइकलबाट परिक्रमा गरि हिन्दू, मुस्लिम, बौद्ध, शिख र ईशाइ समुदाय विच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालगन्ज कोरा साइक्लिङ्गको आयोजना गरिन लागेको कार्यक्रमका संयोजक सतिश निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज लगायत आसपासका क्षेत्रमा रहेका धार्मिकस्थलमा साईकल यात्री पुगेर एकआपसमा धर्म, संस्कृति, रितिरिवाज र परम्पराबारे जानकारी आदान–प्रदान गर्दै सद्भावको सन्देश दिन नेपालगन्ज कोरा साइक्लिङ सहयोगी हुने उनले बताए ।
आयोजक साइक्लिङ क्लबले बिहीबार पत्रकार सम्मेलन गरी साउन ४ गते शनिबार बिहान साढे ६ बजे न्यूरोडस्थित बौद्ध गुम्बाबाट नेपालगन्ज कोरा साईक्लिङ्गको सुरुवात हुने बताए । सो कोरा साईक्लिङ्गमा बाँके लगायत विभिन्न जिल्लाका १ सय ५० भन्दा बढिसाइकल चालकहरुको सहभागिता हुनेछ ।
काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, धरानमा गरिँदै आएको यस्तो कोरा (परिक्रमा) कार्यक्रम पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा आयोजना हुन लागेको हो ।
सद्भाव टूर दी ठाकुरद्वारा–२०७५ को सफलतासगंै हौसियका नेपालगन्जका साइकल प्रेमिहरुका लागि यो यात्राले थप पृष्ठपोषण गर्ने नेपालगन्ज कोरा–२०१९ का संयोजक सतिश निरौला बताउँछन् । आयोजकले नेपालगन्ज कोरामा १० वर्षदेखि ६५ वर्षसम्मका साइक्लिस्टहरुले नाम दर्ता गराएको जनाएकोछ ।
नेपालगन्ज कोरामा सहभागि हुन चाहने विद्यार्थीहरुका लागि सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने अन्यलाई तीन सय रुपैयाँ तोकिएकोछ । यसअघि भएको सद्भाव टूर दी ठाकुरद्वारा–२०७५ मा सहभागि विभिन्न साईकल यात्रीहरुको पनि विशेष उपस्थिती रहेने आयोजकले जनाएकोछ ।
कार्यक्रममा साहसिक पारा साइक्लिस्ट यमलाल रसाइली, कैलालीका साइक्लिस्ट भरतबिक्रम शाह, दाङ साइक्लिङ संघका अध्यक्ष रेशम केसी, नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा लगायत चिरपरिचित अधिकारकर्मी, व्यवसायी, वकिल, पत्रकार, चिकित्सकहरुको पनि नेपालगन्ज कोरा–२०१९मा सहभागिता हुनेछ ।
यस्तो छ कार्यतालिका
विभिन्न धर्म गुरुहरुको सहभागितामा साउन ४ गते शनिबार विहान ६ बजे नेपालगन्ज स्थित बौद्ध गुम्बाबाट नेपालगन्ज कोरा साइक्लिङ्ग–२०१९ को सुरुवात गरिनेछ ।
उद्घाटन शत्रमा सहभागि विभिन्न धर्मगुरुहरुले धार्मिक झण्डा साइकलयात्रीलाई प्रदान गरि सामुहिक रुपमा साइकल यात्राको सुरुवात गरिनेछ ।
न्यूरोड स्थित बौद्ध गुम्बाबाट सुरु गरिएको यात्रामा सहभागि साइक्लिस्टहरु न्यूरोड हुदैँ बागेश्वरी मन्दिर परिक्रमा गर्नेछ । बागेश्वरी मन्दिर परिक्रमा गरेको साईकल टोलीले त्रिभुवन चोक हुदै विपी चोक स्थित गुरुद्वारा परिक्रमा गर्नेछ ।
त्यहाँबाट कोरियनपुरहुदै भेरी प्राविधिक शिक्षालय नजिक रहेको ज्योती चर्चको परिक्रममा गर्नेछ । चर्च परिक्रमा गरे लगत्तै साईकल टोली त्यहाँबाट हुलाक कार्यालय नजिक रहेको त्रिमुर्ती मन्दिरमा जम्मा हुनेछन् । साइकल यात्रीले विहानको नास्ता त्रिमुर्ती मन्दिरमा खाएपछि पुनः त्रिवेणीमोड हुदैँ एकलैनी भित्र रहेको जामा मस्जिद जानेछ । जामा मस्जिद परिक्रमा गरेको साईकल यात्री राप्तीपथ हुदैं फुल्टेक्रा स्थित हडिबाबा मन्दिर परिक्रमा गर्नेछ ।
सो साईकल यात्रीले हडियाबाबा रोडभएर बुलबुलिया हुदैं हिरमिनिया पुग्नेछ । भवनियापुरको बाबुगाँउ भएर साइकलयात्री चौलिक्का पुग्नेछ । त्यहाँबाट साइकलयात्रीले थुकैला, नदैगाँउ हुदँै जोगागाउँ भएर ईन्द्रपुरको बाटोबाट नेपालगन्जको धम्बोझी पुग्नेछ । नेपालगन्जको धम्बोझी स्थित गायत्री मन्दिर परिक्रमा गरेर साईकलयात्री धम्बोझीमा रहेको जेष्ठ नागरिक प्रतिक्षालय पुग्नेछ जहाँ उपमहानगरपालिकाका प्रवक्ता एवंम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल सहित वडा सदस्य, स्थानीयबासीहरुले साईकलयात्रीलाई स्वागत गर्दै पानी र फ्रुटी खुवाइनेछ ।
त्यसपछि साईकल यात्री सुर्खेतरोड हुदँै कारकाँदोको कृष्ण मन्दिर परिक्रमा गरेर बाईपास रोड हुदैँ पुनः न्यूरोडबाट बौद्ध गुम्बा हुदैं धम्बोझी चोक भएर नेपाल बायु सेवा निगमको अफिस अगाडी रहेको नेपालगन्ज बाइसाइकल प्रालिमा पुग्नेछ । त्यही नेपालगन्ज कोरा साइक्लिङ्ग–२०१९ को समापन गरिनेछ । यस अवधिमा साईकल यात्रीले ३० किलोमिटर दुरी परिक्रमा गर्नेछन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाको प्रमुख आतिथ्यतामा नेपालगन्ज कोरा साईक्लिङ्ग–२०१९को समापन गरिनेछ ।
विभिन्न धर्मका धार्मिक गुरुहरु समेत सहभागि हुने भनिएको यो आयोजकले कार्यक्रमबाट संकलन भएको रकम साईकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपालगन्जका गोबिन्द रिजालका छोराको पढाई खर्चका लागि उपलब्ध गराउने जनाएकोछ ।