प्रभावहिन ट्राफिक कम्युनिकेसन एप्स


प्रभावहिन ट्राफिक कम्युनिकेसन एप्स

नेपालगन्ज : गत माघ २७ गते ट्राफिक प्रहरीले तामझामका साथ लामो दुरीका सवारी चालकहरुलाई प्रविधिको प्रयोग गरेर निगरानी गर्न सुरु ग¥यो । ट्राफिक प्रहरीले ट्राफिक कम्युनिकेसन एपमार्फत लामो दुरीका सवारी चालकको निगरानी गर्न भन्दै कोहलपुर–१२ स्थित चप्परगौडी पोष्टमा सञ्चालनमा ल्याएको प्रविधि प्रभावहिन बन्दै गएको छ ।

विशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइए पनि ट्राफिक प्रहरीको लाहपर्वाहीका कारण ट्राफिक कम्युनिकेसन एप प्रभावहिन बनेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लामो दुरीका यात्रुबाहक सवारी चालकको फोटोसहितको विवरणमार्फत सवारीको निगरानी गर्न कम्युनिकेसन एप सञ्चालनमा ल्याए पनि पछिल्लो समय प्रयोगमा आउन छाडेको छ । ट्राफिक प्रहरी नै असुली धन्दातर्फ केन्द्रीत भएपछि एप सञ्चालनमा मनपरी सुरु भएको हो । एक जना ट्राफिक प्रहरी जवानले भने, ‘चिनेका गाडीहरुको विवरण खासै राख्दैनौं । नचिनेका गाडी भएमा विवरण राख्ने गरेका छौं ।’

राजमार्ग सुरक्षाका लागि भन्दै सञ्चालनमा ल्याएइको कम्युनिकेसन एपको प्रयोग सवारी चालकले खाजा खर्च दिने नदिने भन्नेमा भर पर्छ । सञ्चालनमा ल्याएको एक महिनाजति देखावटी रुपमै भए पनि निकै कडाई गरिएको थियो ।

एप प्रयोगमा आएपछि लामो दूरीमा सञ्चालन हुने सवारी साधनले कानूनी व्यवस्था अनुसार २५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने र यसबाट दुर्घटना न्यूनीकरण हुने विश्वास गरिए पनि खाजा खर्च असुलीका आधारमा एप प्रयोग हुन थालेपछि सञ्चालनमै समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार कुन गाडीबाट कति रकम आउँछ सोही अनुसार एपमा विवरण इन्ट्री गरिन्छ ।

पहिलो चरणमा काठमाडौंको नागढुंगा, सर्लाहीको कर्मैया, नवलपरासीको भूमही र कोहलपूरमा एप सञ्चालनमा आएको एपमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्थासमेत रहेकोले लामो दुरीका सवारी चालकको निगरानी एप सहायताले मोबाइलमा नै गर्न सकिने व्यवस्था थियो ।

तर, ट्राफिक प्रहरी नियम कार्यान्वयनभन्दा असुलीतर्फ बढी केन्द्रीत भएकै कारण एप सञ्चालनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले भनेको छ ।
एपको प्रयोगले समयको पालना, तीव्र गतिमा नियन्त्रण भइ सवारी दुर्घटना न्यूनिकरण हुने र प्रभावकारी सवारी व्यवस्थापन एवं सुरक्षित गन्तव्यका लागि एप उपयोगी हुने विश्वास गरिएको थियो । तर, ट्राफिक प्रहरी असुलीतर्फ केन्द्रीत भएकै कारण पछिल्लो समयमा एप प्रभावहिनजस्तै बनेको छ ।

लामो दुरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिँदै आएको थियो ।

मोबाइलमा राखिएको एप हेरेर ट्राफिक प्रहरीहरुले चेकिङ पोइन्टहरुमा चेकजांचको क्रममा चालकको फोटो र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने गरी प्रविधिको विकास गरिएको थियो ।

ट्राफिक प्रहरीहरुले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर, टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकाले चालकले झुक्याउने सम्भावना निकै कम हुन्थ्यो । तर सवारी चालकको विवरण गाडी चालकले दिने खर्चका आधारमा इन्ट्री गर्न थालेपछि एपको प्रयोग प्रभावहिन बनेको छ ।
यति हुँदाहुँदै पनि ट्राफिक कम्युनिकेशन एपको निगरानीमा परेका जम्मा १२३ वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यसो त बाँकेमा नयाँ ट्राफिक प्रहरी प्रमूख आएलगत्तै नयाँ योजना सुरु हुन्छन् ।

ट्राफिक नियम कार्यान्वयनमा निकै कडाई हुन्छ । तर एक/दुई महीनाभन्दा बढी न योजना टिक्छन, न कार्यान्वयनमा ध्यान दिइन्छ । सुरुमा आएर निकै कडाई गर्ने अनि दुई÷तीन महिनापछि रकम असुलीमा केन्द्रीत हुने ट्राफिक प्रहरी प्रमूखको हालसम्मकै परम्परा हो ।

यसअघि २०७५ मंसीर १ गते नेपालगन्ज उपमहानगरपालिकामा ध्वनि प्रदुषण न्यूनीकरण गर्न भन्दै ‘नो हर्न अभियान’को घोषणा गरिएको थियो । तामझामका साथ हर्न निषेध अभियान सुरु गरेको ट्राफिक प्रहरीले घोषणापछि कार्यान्वयनमा भन्दा असुलीमै ध्यान दिँदा हर्न निषेध अभियान असफल बनेको छ । नेपालगन्जमा सवारी साधनका हर्न बजाउन नपाइने नियम लागेको आठ महीना पुगिसक्दा पनि कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको छ ।