नेपालगन्ज ११ पुष : नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर विरुद्ध नेपालगन्जका उद्योगी ब्यावसायीहरु पुनः आन्दोलित भएकाछन् ।
चर्को ब्याजदर विरुद्ध उद्योगी, ब्यवसायीको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा उनीहरुले सोमबार विहान नेपाल राष्ट्र बैंक अगाडी धर्ना दिएका हुन् ।
विभिन्न ७ बुँदे माग राखि आन्दोलनमा उत्रिएका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय नेपालगन्जको मुल गेटमा करिव एक घण्टासम्म धर्ना दिएका उनीहरुले विभिन्न नाराबाजी समेत गरेका थिए ।
धर्नाका क्रममा केन्द्रिय सदस्य चक्र अधिकारी, संघका पदाधिकारी, पुर्वअध्यक्ष तथा पदाधिकारी लगायत नेपालगन्जका उद्योगी, ब्यवसायीहरु ठुलो संख्यामा उपस्थित भएका थिए ।
यस्तै व्यवसायीहरुको आन्दोलनलाई साथ दिनका लागि बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डाक्टर धवल शम्सेर राणा, नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले समेत धर्ना दिएका थिए ।
संघका महासचिव चिरञ्जीवी ओलीले पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभएपछि दोस्रो चरणको आन्दोलन गर्नु परेको बताए । ‘यो दोस्रो चरणको आन्दोलन हो, राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायीहरु आतंकित हुने परिस्थिती छ अहिले,’ ओलीले भने ‘ब्यवसायीले लिएको ऋण हरेक वर्ष एक पटक चुक्ता गर्नुपर्ने, ब्यवसायीको सामान गोदाममा छ, अब पैसा लिएर कसरी ऋण चुक्ता गर्न सकिन्छ ?’
कर्जा लिने कारोबारको २०/२५ प्रतिशत मात्रै ऋण पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको र त्यो अब्यवहारिक रहेको महासचिव ओलीले सुनाए । उनले थपे, ‘आज अकस्मात लागु गर्न खोज्दा ब्यवसायीहरु चल्न सक्ने अवस्था छैन ।’
राष्ट्र बैंक कार्यालयमा धर्ना दिनुअघि संघको कार्यालय त्रिभुवन चोक पुर्वी लाइनबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा उद्योगी, ब्यवसायीले प्रर्दशन गरेका थिए ।
उक्त प्रर्दशन सदरलाईन, न्युरोड, धम्बोझी चोक हुदँै राष्ट्र बैंक नेपालगन्जको कार्यालय अगाडी पुगेर धर्नामा परिणत भएको थियो । प्रर्दशनका क्रममा कालो ब्यानर र प्लेकार्ड सहित उद्योग, ब्यवसायीले चर्का नारा लगाएका थिए ।
कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन गर्न बाध्य भएका हुन् ।
यसअघि उनीहरुले गत असोज पहिलो साता नेपाल राष्ट्र बैंकको मुल गेटमा एक घण्टा धर्ना दिनुका साथै जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवावमुलक कार्यक्रम गर्दै आन्दोलन गरेका थिए ।
पहिलो चरणको आन्दोलनबाट आफ्ना मागहरुको सुनुवाई नभएपछि विभिन्न ७ बुदेँ बिषयबस्तु अघि सारेर संघ आन्दोलित भएको हो ।
व्यवसायीहरु राष्ट्र बैंकको अव्यवहारिक निति खारेज गर ।, वर्षमा एक पटक चालु पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज गर ।, चालु रहेको ओभरड्रफ्ट लोन यथावत राख ।, कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर । (२० र २५ प्रतिशत), बैंक ब्याज सिंगल डिजिट कायम गर ।, ब्याजदर नियन्त्रण गर । र, बैंकहरुको आतंक बन्द गरसहित ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएकाछन् ।
थप समाचार
राष्ट्र बैंकविरुद्ध पुनः व्यवसायी आन्दोलित माग पुरा नभए आन्दोलन सशक्त बनाउने संघको चेतावनी