राष्ट्र बैंक विरुद्ध उत्रिए नेपालगन्जका उद्योगी–व्यवसायी


राष्ट्र बैंक विरुद्ध उत्रिए नेपालगन्जका उद्योगी–व्यवसायी

नेपालगन्ज ७ असोज : नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर विरुद्ध नेपालगन्जका उद्योगी ब्यावसायीहरु आन्दोलनमा उत्रिएकाछन् । चर्को ब्याजदर विरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा उनीहरुले शुक्रबार विहान नेपाल राष्ट्र बैंक अगाडी धर्ना दिएका हुन् ।

कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै संघले बिहीबार पत्रकार सम्मेलनमार्फत चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

यही असोज १ गतेदेखि लागु हुने गरि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने भन्दै संघले बिहीबार मात्र आन्दोलन घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंक नेपालगन्जको मुलगेटमा धर्नामा बसेका उद्योगी, ब्यवसायीले ब्यानर तथा विभिन्न प्ले कार्ड बोकेका थिए ।

कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले एकपछि अर्को प्रावधानहरू ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास नै सिर्जना गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

धर्नामा बसेका संघका अध्यक्ष मन्सुरीले ऋण लिएका ब्यवसायीको अवस्था दयनीय बनेको बताए । उनले भने, ‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ ।’

चाडबाडको समयमा समेत नेपालगन्ज बजार सुनसान रहेका कारण अहिले ८० प्रतिशतले ब्यापार घटेको अध्यक्ष अन्सुरीले बताए । बैंकले कारोबारको २०–२५ प्रतिशत लगानी गर्दा नेपालगन्जको ब्यापार, ब्यवसाय धरासायी भएको उनले जिकिर गरे ।

ब्यापार, ब्यवसाय नभएर मर्कामा परेको बेला नेपाल राष्ट्र बैंकले लगानी गरेको छैन । उनले भने –‘ब्याज तिर्न नसकेर धितो राखेको जग्गा, जमिन र घर लिलाम हुने अवस्था छ, राष्ट्र बैंकको नीतिका कारण ब्यापारीलाई मर्नु न बाच्नु बनाएको छ ।’

बैंकले अहिले ल्याएको प्रावधानले व्यावसायीहरुलाई मानसिक तनाव दिएको र कुनै व्यवसायीले धेरै तनावले आत्महत्या गरे बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले जिम्मा लिनुपर्ने अध्यक्ष मन्सुरीको भनाईछ । व्यवसायीहरुको आन्दोलनलाई कमजोर ठानिए अझ सशक्त आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।

संघको धर्नामा सहभागी राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डाक्टर धवलसम्शेर राणाले नेपाललाई कंगाल हुने स्थिती राष्ट्र बैंक र सरकारले गरिरहेको आरोप लगाए ।
उनले भने, ‘ब्यापारीहरु देशभर आन्दोलित भएका छन्, ब्यापारीको आन्दोलनलाई राप्रपाले पूर्णरुपले सहयोग गर्ने निर्णय गरका छौं,’ उनले भने ।

यस्तै संघका महासचिव चिरञ्जिवी ओलीले चर्को ब्याज तिर्नुपर्दा उद्योग, ब्यवसाय माथी उठ्न नसक्ने बताए । बैंकको चर्को ब्याजका कारण बजारमा महंगी बढेको उनको तर्क छ ।

बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, ब्यवसायी मर्कामा परेको बेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको ब्यापार झनै धरासायी भएको संघका महासचिव ओलीको टिप्पणी छ ।

घरायसी सामान ल्याउने नाममा दैनिक करोडौँको सामान भित्रिने गरेको दावी गर्दै महासचिव ओलीले १०–२० हजार रुपैँया बराबरका सामान पनि शुल्क नलिएर छोड्ने गरेको आरोप लगाए । उनले भने –‘यसले एकातिर राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपालगन्जको ब्यापार, ब्यवसायलाई प्रत्यक्ष असर पारेको छ ।’

व्यवसायको प्रकृतिअनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड रुपैयाँभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा हरेक थरिका व्यवसायको लागि २५ प्रतिशतमात्र गरिनु अव्यवहारिक देखिएको भन्दै उद्योगी व्यापारि आन्दोलित भएका हुन् ।

चालू पुँजी कर्जा मार्गदर्शन–२०७९ मा राखिएका व्यवस्थालाई सहज र सरलीकृत गर्न उनीहरुले माग पनि गरेका छन् । आन्दोलन अन्तरगत शनिबार (भोली) बिहान ८ बजे जमुनाहा नाकामा पनि उपभोक्ता सचेतना एवम् दवावमुलक कार्यक्रम गरिने भएको छ ।

थप समाचार

राष्ट्र बैंक विरुद्ध नेपालगन्जका ब्यवसायी आन्दोलित