ईन्धन र जनशक्ति अभावमा खुम्चिदै वडा प्रहरी

भगवान भरोसामा ‘वडा प्रहरी भेन’


ईन्धन र जनशक्ति अभावमा खुम्चिदै वडा प्रहरी

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको वडा प्रहरी कार्यालयको काम नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा शान्ति सुरक्षा कायम गर्ने हो । तर, वडा प्रहरीले अहिले उपमहानगरका सबै वडामा आफ्नो सुरक्षा गस्ती बढाउन सकेको छैन ।

सुगम शहरको सुगम नगरमै आफनो पहुँच विस्तार गर्न नसकेको वडा प्रहरी नेपालगन्ज बजारभित्र मात्रै सीमित रहँदा आमनागरिकले उचित सुरक्षाको अनुभति गर्न नसकेको उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरका स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार राँझा क्षेत्रका केही होटलहरुमा गलत क्रियाकलाप भइरहँदा समेत प्रहरीको भूमिका देखिएको पाइदैन ।

उपमहानगरका सबै वडामा सुरक्षा प्रदान गर्नेगरी स्थापना भएको वडा प्रहरी कार्यालय नेपालगन्जमा दुईवटा सवारी साधन छन् । तर, ती सवारी साधन विहानदेखि रातीसम्म नेपालगन्ज बजारभन्दा बाहिर जाँदैनन् । उपमहानगरका वडाको सुरक्षा जिम्मेवारी लिएको वडा प्रहरी कार्यालय अहिले नेपालगन्ज बजारका चार÷पाँच वटा वडामा मात्रै सक्रिय देखिदै आएको स्थानीय टिएन शर्मा बताउँछन् ।

बाँकेमा प्रहरीका ६९ ईकाइ छन् । यद्यपी कोहलपुरमा रहेको प्रहरीले कोहलपुर नगरपालिका क्षेत्रभरी आफनो गाडी कुदाउँदै शान्ति सुरक्षा कायम गरेको छ ।
तर, नेपालगन्जको वडा प्रहरीले ओल्लो र पल्लो बजार गर्दै दिनरात बिताउँने गरेको आम नागरिकको गुनासो छ ।

प्रहरी ऐनअनुसार प्रहरीको प्रमुख कार्य संगठित अपराध, राज्यविरुद्धको अपराध, लागुऔषध, जासुसी, आतंकवाद, मानव बेचविखन तथा ओसारपसार जस्ता गम्भीर अपराधको अनुसन्धान गर्ने रहेको छ । तर, वडा प्रहरी नेपालगन्जले यस बिषयमा केही सकारात्मक काम गरे पनि आफनो कार्य क्षेत्रभित्रै पहुँच बढाउन नसक्दा उपमहानगरबासीले वडा प्रहरीबाट पर्याप्त सुरक्षाको महसुस गर्न नसकेको बताएका छन् ।

प्रावधानअनुसार वडा प्रहरी कार्यालयले उपमहानगरभित्रका सबै वडाको सुरक्षा जिम्मेवारी लिनुपर्ने देखिन्छ । वडा प्रहरी खुम्चिदै आएको छ नगरपालिकाको क्षेत्र विस्तार भइरहेको छ । उपमहानगरका २३ वटै वडामा सुरक्षा प्रवन्ध मिलाउनुपर्ने वडा प्रहरी अहिले नेपालगन्ज बजार बाहिर जान नसकेको प्रहरी नै बताउँछन् ।
नेपालगन्ज वडा प्रहरी कार्यालयले २३ वटा वडाको शान्ति सुरक्षामा पहुँच पु¥याउन एकदमै कठिनाई भएको वडा प्रहरी प्रमुख हरिबहादुर बस्नेतले बताए ।

उनकाअनुसार सबै वडामा उचित र प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउनका लागि वडा प्रहरीले छलफल चलाईरहेको छ । अबको केही दिनमा उपमहानगरका सबै क्षेत्रमा वडा प्रहरीको पहुँच विस्तार हुन्छ ।

कार्यालयमा रहेका दुईवटा गाडी दैनिक कुदाउँदा करिब ४० देखि ५० लिटर तेल आवश्यक पर्ने उनले बताए । तर, वडा कार्यालयको क्षमताले यतिको तेल खर्च गर्न नसक्ने हुँदा सबै वडामा वडा प्रहरीको पहुँच नदेखिएको बस्नेतको भनाई छ । यी सबै समस्याका बाबजुद उपमहानगरपालिकाका सबै वडाका अध्यक्षहरुसँग एक चरणको छलफल भएको छ उनले भने ‘आगामी दिनमा सुधार हुन्छ ।’ वडाले सबै वडामा पहुँच विस्तार गर्न नसकेको हुँदा सम्बन्धीत वडा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयहरूको सहयोग लिने गरेको उनी बताउँछन् ।

९९ जनाको दरबन्दी रहेको वडा प्रहरीमा अहिले करिब ४० जना मात्र प्रहरी कार्यरत रहेको वडा प्रहरी कार्यालयका असई बिष्णु शाहीले बताए । गाउँमा वडा प्रहरीको उपस्थिति हुन नसकेकै कारण आम नागरिक विभिन्न खालका घटना, धम्कीबाट त्रसित जीवन विताइरहेका छन् । वडा प्रहरी कार्यालयले पहुँच विस्तार गर्न नसक्दा नेपालगन्ज बजारभित्रै खुम्चिँदा विभिन्न स्थानमा रहेका इलाका प्रहरी कार्यालयले वडाको समेत काम गर्दै आएका छन् ।

उपमहानगरका २३ वटा वडामै वडा प्रहरीको सुरक्षा व्यवस्था मजबुद छैन । वडामा अहिले २३ वडाको सुरक्षामा पहुँच विस्तार र उपस्थितिका लागि दुईवटा गाडी छन् । तर, यी गाडी पनि भगवान भरोसाको भरमा बजारभन्दा बाहिर जादैनन् । एउटा गाडी इन्जिनसिज भएको छ असई शाहीले भने अर्कोको हालत पनि उस्तै छ । उनकाअनुसार पुराना र जीर्ण साधनको भरमा वडा प्रहरी चलिरहेको छ ।

‘वडाको गाडी दिनमा एक÷दुई पटक गाउँमा आइदिए पनि धेरै शान्तिको महशुस हुने थियो,’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरको जोगीडाडाँ नजिकैकी एक महिला दीपा चालिसेले भने, ‘दिनमा एक÷दुई पटक त, के महिनामा एक पटक पनि प्रहरी आउँदैनन् ।’

‘गाउँमा केही समस्या भइहाल्यो भने पनि प्रहरी खोज्न नेपालगन्ज वा कोहलपुर जानुको विकल्प छैन,’ स्थानीयले प्रश्न गर्दै भने, ‘हामी पनि नगरभित्रकै वडाबासी हौं, हाम्रो पनि सुरक्षा वडा प्रहरीले गर्नुपर्ने होइन र ?’ नेपालगन्ज विविधतामा एकताको शहर भएकाले पनि यहाँ पहाडी, मधेसी, मुस्लिम र थारू समुदायको बसोबास रहेको छ । 

साना गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्छ । यो कुरा विगतका घटनाले देखाइसकेको छ । घटनास्थलमा समयमा प्रहरी पुग्नु अत्यावश्यक नै देखिएको छ ।