कर्णालीका कार्यालय नेपालगन्जमै


कर्णालीका कार्यालय नेपालगन्जमै

नेपालगन्ज : कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् ।

कतिपय प्रहरीका महत्पवूर्ण कार्यालयहरु प्रदेश पाँचबाट चलिरहेका छन् । कर्णाली प्रदेशबाट सञ्चालन हुनुपर्ने करिब आधा दर्जन कार्यालय अहिले पनि नेपालगन्जमै छन् । कर्णाली प्रदेशमा आफनै भवन नहुँदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय नेपालगन्जबाट सञ्चालन भइरहेका छन् ।

प्रहरीका महत्वपूर्ण कार्यालय भवन अभावमा प्रदेश पाँचको नेपालगन्जबाट सञ्चालन हुन बाध्य हुनुपरेको कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी बताउँछन् ।

कर्णाली प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी दगा नियन्त्रण गण, संघीय प्रहरी एकाइ कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा, प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगन्जबाट सञ्चालन भइरहेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १ सय ८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको जोशीले जानकारी दिए । जोशीका अनुसार जाजरकोटमा १३, रुकुम पश्चिममा १२, दैलेखमा १०, कालीकोट र हुम्लामा नौरनौ, सुर्खेतमा आठ, सल्यानमा आठ, डोल्पामा ६, मुगुमा ६ र जुम्लामा चार प्रहरी कार्यालय भाडामा छन् ।

जनतासँग प्रत्यक्षरूपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्य सम्पादनमा असर पर्ने उनले बताए । सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उनको भनाइ छ ।

प्रदेशको आफ्नो जग्गा छैन, जग्गा प्राप्तिका लागि पहल भएको छ, जग्गा पाएपछि भवन निमार्ण गर्ने योजना रहेको उनी बताउँछन् ।