बेवारिसे बालबालिका भेटिने क्रम बढ्दो


बेवारिसे बालबालिका भेटिने क्रम बढ्दो

नेपालगन्ज : एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् । आर्थिक वर्ष ०७५/७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् ।

आर्थिक वर्ष ०७४/७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए । सिविन बाल हेल्पलाइन नेपालगन्जका प्रमुख शिद्धराज पनेरूका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार भएको छ ।

जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई आपत्कालीन उद्धार, परामर्श, राहत, उपचार, आवधिक संरक्षण तथा पारिवारिक पुनस्र्थापना गरिएको बताए । ‘गत आवमा एक सय ८३ बालक र एक सय ५८ बालिकालाई आपतकालीन उद्धार, परामर्श, राहत, उपचार, आवधिक संरक्षण तथा पारिवारिक पुनस्र्थापना सेवा प्रदान गरिएको छ,’ पनेरूले भने, ‘आधुनिकता र प्रविधिको विकाससँगै बालबालिका जोखिममा पर्दै गएका छन् ।’ उनका अनुसार, जोखिमपूर्ण अवस्थामा रहेका ५५ बालक र १७ बालिकाको उद्धार गरी परिवारमा पुनस्र्थापना भएको छ ।

दुई बालक र एक बालिका हराएको भन्दै खोजतलासका लागि अभिभावकले निवेदन दिएका थिए । उनले २५ बालक र सात बालिकालाई आपत्कालीन राहत प्रदान गरेको बताए । ६० बालक र १२ जना बालिकालाई आवधिक बालगृहमा राखेर सेवा प्रदान गरेको बताए । एक वर्षको अवधिमा १८ जना बालकले बाल बिज्याइँ गरेको प्रहरीलाई उदृद्ध गर्दै सिविन बाल हेल्पलाइनले बताएको छ ।

बालकले कानूनविपरीत चोरी, लागुऔषध ओसारपसारजस्ता गैरकानूनी काम गरेकाले उनीहरूलाई बालसुधारगृह र अभिभावकको जिम्मा लगाइएको स्पष्ट पारेका छन् । ‘आव ०७४/७५ मा बाल बिज्याइँ गर्ने बालकको संख्या एकदमै थोरै थियो,’ उनले भने । सिविन बाल हेल्पलाइनले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई पारिवारिक परामर्श समेत दिँदै आएको छ । गत आवमा ७० जना बालक र १८ जना बालिकालाई पारिवारिक परामर्श दिएको सिविन नेपालगन्जका प्रमुख पनेरूले जानकारी दिए ।