नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा बढाउन प्रत्येक वडामा विभिन्न क्रियाकलाप गरिरहेको छ ।
गाउँपालिकाले आठवटै वडामा निशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य परीक्षण गर्दै आइरहेको अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । उनले भने, ‘गाउँपालिकाको कुन वडामा कति जना नागरिक कुन रोगबाट पीडित छन् भन्ने तथ्यांक निकाल्ने तयारी गरिरहेका छौं ।’
स्वास्थय परीक्षणसँगै जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष कक्षपतिले लामो समयसम्म जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनताले प्रत्यक्ष महशुस गर्ने गरी सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए ।
उनले भने, ‘जेष्ठ नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै उहाँहरुका अनुभव बटुल्दै अघि बढ्ने हाम्रो प्रयास हो ।’ गाउँपालिकाले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपागतामैत्री भौतिक पूर्वाधारहरु पनि निर्माण गर्ने योजना बनाएको छ ।
गाउँपालिकाले सबै वडा कार्यालयबाट घुम्ती सेवा सञ्चालन गरी अपागता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष एकमाया बिकले जानकारी दिइन् । गाउँपालिकामा रहेका जेष्ठ नागरिकलाई पनि परिचय पत्र र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए ।
‘सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिकामै पुग्नुपर्ने अवस्था थियो । जेष्ठ नागरिकलाई समस्या नहोस् भनेर बैंकमार्फत घरदैलोमै पुगेर वितरण गरिरहेका छौं,’ उनले भने । गाउँपालिकामा रहेका अग्रज जेष्ठ नागरिकहरुको योगदानको पूर्ण कदर गर्दै उहाँहरुलाई सम्मान गर्दै आएको गाउँपालिका अध्यक्ष कक्षपतिले बताए ।
उनले भने, ‘बुढेसकालमा एक्लै जीवन निर्वाह गरी दैनिक जीवन कष्टकर रुपमा बिताउनुपर्ने जेष्ठ नागरिकहरुका लागि चालु आर्थिक वर्ष कम्तीमा एउटा वडामा एउटा नमुना सेवा केन्द्र स्थापना गर्नका लागि आवश्यक तयारी भइरहेको छ । यसले जेष्ठ नागरिकलाई सहज हुनेछ ।’
खजुरा गाँउपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपागता भएका व्यक्ति लगायत गरी ६ हजार ६० जनालाई ९५ करोड ६९ लाख ५ हजार ४ सय सामजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेल बताउँछन् ।