नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले २०५४ सालबाट शुरु भएको ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ लाई ब्यूँताएको छ । अति बिपन्न परिवारको आर्थिक अवस्था उकास्न तत्कालिन समयमा यूएनडिपीको सहयोगमा सञ्चालित कार्यक्रम २०६९ सालदेखि बन्द अवस्थामा थियो ।
जनप्रतिनिधि आएसंगै ‘नगर साझेदारी’ कार्यक्रम शुरु भएको उपमहानगरपालिकाले बताएको छ । बिपन्न परिवारलाई व्यवसायीक काममा संलग्न गराउने प्रमुख उदेश्यका साथ कार्यक्रम लागू भएको उपमहा नगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताए ।
उनका अनुसार टोलमा समूह गठन गरेर समूहको आवश्यकताका आधारमा प्रति व्यक्ति २५ हजारदेखि एक लखासम्म सहुलियत ब्याजमा कर्जा प्रवाह गरिन्छ ।
गत आर्थिक वर्षमा मात्र २ सय ५६ जनालाई १ करोड ६९ लाख कर्जा प्रदान गरिएको थियो ।
टोलमा गठन भएको समूहको निवेदन र वडा कार्यालयको सिफारिसका आधारमा ऋण प्रवाह गरिन्छ । प्रत्येक महिनामा बस्ने समूहको बैठकमा सामाजिक परिचालकको उपस्थिती रहने गर्छ । यसरी प्रवाह भएको ऋण एक वर्षभित्र चुक्ता गरिसक्नु पर्छ ।
सहुलियत कर्जा प्रवाहबाट सानो लगानी पनि नभएर व्यवसाय गर्नबाट बन्चित भएकाहरुले लाभ उठाएको उपमेयर उमा थापामगरले बताईन । उनकाअनुासर सामान्य आर्थिक अवस्था भएकालाई कुनै व्यवसायमा संलग्न गराउँ यसले महत्वपूर्ण भूमिका खेलेको छ ।