नेपालगन्ज : डुडुवा गाउँपालिका–५, कम्दीस्थित कम्मर शाह बाबा मजारमा हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रुपमा रहेको छ । मजारमा आशिर्वाद लिन, माग्न वा भाकल गर्न, सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
जसका कारण नेपाली मात्रै नभएर भारतीय नागरिक पनि दर्शनका लागि आउने गरेका छन् । मजारका पुजारी नजिर मोहम्मदका अनुसार दीर्घरोगका बिरामी, उपचार गराएर निको नभएका बिरामी निको हुने विश्वास लिएर मजारमा आउने गर्छन् ।
मजारमा पूजापाठका लागि काठमाडौं, भारतको राजधानी दिल्ली, मुम्बई, राजस्थान, पटना, लखनउजस्ता सहरबाट आशीर्वाद लिन आउने गरेको पुजारी मोहम्मदले बताए ।
‘निम्न वर्गदेखि उच्च घरानाका समेत पूजापाठका लागि आएको पाइन्छ,’ उनले भने । सरकारले उत्कृष्ट एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भने पर्यटकले भौतिक संरचना नहुँदा पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ ।
हिन्दू र ईस्लाम धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा रहेको मजारमा धार्मिक आस्था बोकेर पुग्ने पर्यटकहरु जंगलमा शौच गर्न बाध्य छन् । मजार संरक्षणको अभाव मात्र होइन पूजापाठ गर्न आउनेहरुले समेत जंगलमा शौच गर्नुपर्ने बाध्यता छ । नेपालगन्जबाट आठ किलोमिटर पूर्वमा रहेको मजारमा नेपालीका मात्र होइन भारतका हिन्दू र इस्लाम धर्मावलम्बीको समेत पूजापाठ गर्न आउने गरेका छन् ।
पुजारी मोहम्मदले शौचालय नहुँदा भक्तजन र पुजारी नजिकको जंगलमा शौच गर्दै आएको बताए । उनले सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्ने
आश्वासन दिए पनि काम नभएको बताए ।
मजारमा आउने भक्तजनका लागि ओत लाग्ने ठाउँसमेत छैन । गर्मीमा वास बस्न समस्या नभए पनि बर्षात् र चिसोयाममा भक्तजनलाई समस्या हुने गरेको छ ।