अदालत र कानून व्यवसायीबीच दरार

सिटिजन बैंकको सुनकाण्ड


अदालत र कानून व्यवसायीबीच दरार

नेपालगन्ज : कानून व्यवसायीको मानमर्दन गरेको भन्दै आक्रोसित बाँकेका कानून व्यवसायीले चित्त बुझ्दो रुपमा माफी नमागे साईबर क्राइम अन्तर्गत मुद्दा दायर गर्ने र बेञ्च बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासले सिटिजन बैंकको सुनकाण्डमा अभियुक्तहरुको धरौटी सम्बन्धी आदेशपछि नेपालगन्जका कानून व्यवसायी र अदालत प्रशासनबीच दरार सुरु भएको हो ।

अदालतका रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले फेसबुकमा ‘नपाउनेले पद पायो भने आफ्नो हैसियत बिर्संदो रहेछ । त्यो चोर हो’ स्टाटस लेखे लगतै उक्त स्टाटसको स्क्रिन सट कानून व्यवसायीबीच आदान–प्रदान चलिरहेकै बेला भण्डारीले आफ्नै स्टाटसको कमेन्टमा ‘वकिल चोरहरु’ लेखेर स्पष्ट पारेपछि कानून व्यवसायी र अदालत प्रशासन बीच दरार शुरु भएको हो ।

अदालतको प्रशासनिक व्यवस्थापन फितलो हुँदा समस्या आएको उच्च बार नेपालगन्जका अध्यक्ष विकास आचार्य बताउँछन् । ‘अदालतको आदेश राति अबेर आउँदा अदालत प्रशासनले आदेशपछिको व्यवस्थापन यो वा ऊ कारण देखाएर पन्छिन मिल्दैन । धरौटी बुझाउन खोज्दा कोही पनि कारागार चलान हुनु दुर्भाग्य हुन्छ ।

दालतले यसको दीगो समाधान खोज्नुपर्छ’, अध्यक्ष आचार्यले भने, ‘फेसबुक स्टाटसले साथीहरु आक्रोसित हुनु भएको छ । आईतबारको बैठकले समाधान निकाल्नेमा हामी आशावादी छौं ।’

जिम्मेवार पदमा बसेको व्यक्तिले सामाजिक सञ्जालमा जे पायो त्यही लेख्न नहुने नेपाल वार एशोसियशन प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष सुनील श्रेष्ठ बताउँछन् । बाँके जिल्ला मात्र होइन, अरु जिल्लाका कानुन व्यवसायीले पनि यो विषयमा चासो दिइरहेको उनले जानकारी दिए ।

उच्च अदालतमा छलफल गर्न गएका कानून व्यवसायी समक्ष आफूले माफी समेत मागीसकेको रजिष्टार भण्डारी बताउँछन् । रजिष्ट्रार भण्डारीले ‘आईन्दा त्यस्तो नगर्ने’ भनेर सबै कुरा मिलिसकेको र समस्याको समाधान भइसकेको दाबी गरेका छन् ।

तर, बाँकेका कानून व्यवसायीले भने देशैभरीका ‘वकिलको मान मर्दन गरेकाले सामान्य माफी’ ले सन्तुष्ट हुन नसकिने बताएका छन् । आइतबार बिहान बस्ने जिल्ला र उच्च अदालत बारको संयुक्त बैठकबाट एउटा निर्णयमा पुग्ने कानून व्यवसायी बताउँछन् ।