वडा अध्यक्ष मल्लको तलब सामाजिक कार्यमा


वडा अध्यक्ष मल्लको तलब सामाजिक कार्यमा

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको पारश्रमिक सामाजिक कामका लागि सहयोग गरेकाछन् । उनले खजुरा गाँउपालिका वडा नम्बर ४ ईगाउँमा समशानघाट निर्माणका लागि आफ्ना तीन महिनाको तलबबापत ६० हजार रुपैँया सहयोग गरेका हुन् ।

समशानघाट ब्यवस्थापन समितिका अध्यक्ष उज्ववल विसीले वडा अध्यक्ष मल्लबाट प्राप्त सहयोगले निर्माण कार्य पुरा हुने बताए । पछिल्लो समय वडा अध्यक्ष मल्लले मासिक पारिश्रमिक मात्र नभएर ब्यक्तिगतरुपमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएकाछन् ।

सामाजिक कार्यमा अग्रसर युवा नेता वडा अध्यक्ष मल्लले गत वर्ष कार्तिक ३० गते खजुरा वडा नम्बर ४ डि गाउँकी प्रतिमा शर्मालाई डाक्टर अध्ययनका लागि तीन महिनाको तलब स्वरुप ५९ हजार ४०० रुपैयाँ सहयोग गरेका थिए । उनले प्रतिमाकै घरमा पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

यस्तै गत वर्ष साउन ६ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार हरी अधिकारीको उपचारका लागि वडा अध्यक्ष सुमन मल्लले १५ हजार रकम सहयोग गरेका थिए ।

यी र यस्ता थुप्रै उदाहरणीय काम गरेकै कारण छोटो समयमै वडा अध्यक्ष सुमन मल्लको चर्चा चुलिएकोछ । वडामा मात्र नभएर जिल्लामै समस्या तथा अप्ठेरामा परेकालाई सक्दो सहयोग गर्न अग्रसर वडा अध्यक्ष मल्लको नाम जनजनको बोलिमा झुण्डिएको छ ।

सामाजिक कार्यमा अग्रसर वडा अध्यक्ष मल्ल कसैलाई आर्थिक, कसैलाई भौतिक त कसैलाई साथ दिएर सहयोग गरिरहेकाछन् । ‘एक मानव अर्को मानवका लागि यदि काम लाग्दैन भने त्यस्तो मानवको अस्तित्व हुदैन । म जे गर्छु त्यो मानवता र पाएको दायित्वका आधारमा नै गरिरहेकोछु ।’ वडा अध्यक्ष मल्ल बताउँछन् ।
जनप्रतिनिधीले जनताको काममा दत्तचित्त भएर लागेमा जनताबाट पनि सम्मान पाउन सकिन्छ भन्ने वडाध्यक्ष सुमन मल्ल एक उदाहरण हुन् ।

वडाबासीको हरेक सुखदुखमा सहभागी हुने गरेका मल्ल वडाबासीको कामका लागि गाउँपालिका होस्, सदरमुकाम नेपालगन्ज वा अन्यत्र ढिलासुस्ती भएमा सहजिकरणका लागि स्वयम पुग्ने गर्छन् ।

गाँउटोलमा भएका समान्य विवाद हुन् वा विकास निर्माणका कार्य हुन् अथवा वडा कार्यालयले प्रदान गर्ने सेवासुविधानै किन नहोस् उनी प्रभावकारी नेतृत्वसगैं जनताकै पक्षमा रहेर काम गर्दै आएका छन् । सामाजिक सेवाको क्षेत्रमा मल्लले खेलेको भूमिकाकै कारण उनले जनताको मन जित्न सफल भएको स्थानीयको बुझाई छ ।

उनले खजुरा गाँउपालिकाको मुख्य समस्या मध्ये एक कर्णाली डिष्ट्रिलरीलाई जरिवाना समेत तिराएर सर्वत्र चर्चा बटुले । गरे के हुन्न भन्ने उदाहरण उनले
डिष्ट्रिलरीलाई कारबाही गर्दै जरिवाना तिराएर सावित गरे । सो डिष्ट्रिलरीबाट निस्केको पासले खजुरा गाउँपालिकाका वडा नम्बर १,२ र ३ सबैभन्दा बढि प्रभावित हुँदा वडामा खाद्यान्न उत्पादनमा ह्रास हुनुका साथै मानव स्वास्थ्यमा असर पुगेको गुनासो बढेपछि मल्लले तत्काल एक्सन लिएका थिए ।

डिष्ट्रिलरीलाई ५ लाख रुपैयाँ जरिवाना गराएका मल्लले सो रकमलाई राधापुरमा सडक निर्माणमा खर्चिए । अहिले ग्रामीण क्षेत्रको उक्त सडक नमूनायोग्य सडक बनेको छ ।

समाजिक क्षेत्रमा मात्र नभइ प्रशासनिक कार्यमा पनि दख्खल राख्ने मल्लको नेतृत्वसंगै यतिवेला राधापुर विकास निर्माणमा मात्रै होइन, आर्थिक पारदर्शितामा समेत जिल्लाकै नमूना वडा बन्न सफल भएको वडासचिव चिरञ्जीवी पाण्डेले बताउँछन् ।

वडा कार्यालयले बोर्डमा मासिक आम्दानी र खर्चको हिसाव सार्वजनिक गर्ने गरेको छ । ‘वडा अध्यक्षज्यूले हरेक काममा पारदर्शिता र सुशासनलाई अनिवार्य आधार बनाउनुभएको छ,’ सचिव पाण्डेले भने, ‘जसबाट वडालाई गाउँपालिकाको मात्रै नभएर जिल्लाकै नमूना वडा बनाउन सफल भएका छौं ।’ राधापुरले देखाएको पारदर्शिताको नमूनालाई गाउँपालिकाले समेत अन्यत्र प्रस्तुत गर्ने गरेको छ ।

वडा अध्यक्ष मल्ल गाँउपालिकाकै उदाहरणीय वडाअध्यक्षका रुपमा परिचित छन् । कम बोल्ने, सटिक बोल्ने मल्ल जनविरोधी कार्यका विरुद्ध खरोरुपमा उत्रिन्छन् ।
सुमन मल्ललाई तत्कालिन नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाउँदा धेरैले आश्चर्य ब्यक्त गरेका थिए । तर, छोटो समयमै वडाध्यक्ष मल्लले वडाबासीमाझ सकारात्मक छाप बसाल्न सफल भएपछि उनको डाहा गर्नेहरुको समेत शीर निहुरिएको मल्ल बताउँछन् ।

वडाध्यक्ष मल्लले आफुलाई नेता भन्दा पनि जनताको प्रतिनिधीको रुपमा चिनाउँदा खुशी लाग्ने बताउँछन् । आफुले बहुसंख्यक वडाबासीको सुझाव अनुसार काम गर्ने गरेको मल्लको भनाई छ ।

५ वर्षभित्र राधापुरलाई नमूना वडा बनाउने अभियानमा लागेका वडाध्यक्ष मल्लले वडा कार्यालयका कर्मचारी र वडाबासीको सम्पूर्ण साथ पाएको बताउँछन् । राजनीतिक आस्थाका आधारमा भन्दा पनि आम नागरिकबाट सहयोग पाएको उनको भनाई छ ।

मल्लले राधापुरका लागि गर्नुपर्ने अल्पकालिनदेखि दीर्घकालिन विकास निर्माणका योजना समेत तयार पारेका छन् । आफुले बनाएको योजना कार्यान्वयनका लागि वडाध्यक्ष मल्लले गाउँपालिकादेखि प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गराइरहेकाछन् ।

राधापुरलाई पक्की सडकसञ्जालले जोड्दै मानखोलाको कटान नियन्त्रणका लागि बारम्बार राज्यका निकायको ध्यानाकर्षण गर्ने गरेको बताए । वडामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा शिविर होस्, पूर्ण साक्षर र पूर्ण खोप वडा निर्माण सवै क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएका छन् वडाअध्यक्ष मल्लले ।
आफ्नो कारणले कुनै पनि सेवाग्राहीले दुःख नपाउन भन्नेमा सधैं सचेत रहेने वडाध्यक्ष मल्ल कुनै दिन सेवाग्राहीको कामले अन्य सरकारी कार्यालयमा समेत पुग्ने गरेका छन् ।

युवा संघ नेपालको क्षेत्रीय अध्यक्ष रहेका मल्ल ब्यक्तिगतरुपमा समेत सहयोगी मन भएका ब्यक्ति हुन् । वडा अध्यक्ष मल्लले चर्चा भन्दा पनि गुणस्तरीय र अर्थपूर्ण कार्यमा आफुले विश्वास गर्ने बताउँछन् । उनी काम कम हल्ला बढि गर्नेलाई पटक्कै रुचाउँदैनन् । मेरै कारणले सर्वसाधरणले दुःख नपाउन भन्ने धारणा बोकेका मल्लले जनताको विश्वास र मतको सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउँछन् ।