नेपालगन्ज : बाँकेका जनप्रतनिधी तथा होटल व्यवसायीले नेपालगन्ज–पोखरा हवाई सेवा उडान गर्नुपर्नेमा जोड् दिएका छन् । एयरलाईन्स कम्पनीका प्रतिनिधिले ‘अप्रेशन कष्ट’ उठाउन नसक्ने चिन्ता गरिरह्ेका बेला यहाँका जनप्रतिनिधि, होटल तथा उद्योगी, व्यवसायीले ‘‘प्रशस्त मार्केट’ पाइने भन्दै नेपालगन्ज पोखरा उडान शुरु गर्न आग्रह गरेका छन् ।
आईतबार नेपालगन्जमा आयोजित एक कार्यशालामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले मार्केटका लागि सबै मिलेर माहोल बनाउनतिर लाग्नुपर्ने बताए । मेयर राणाले नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर पश्चिम नेपाल मात्र नभई पोखरा र काठमाण्डौंमा भारतीय पर्यटकलाई लैजान सकिने प्रशस्त सम्भावना रहेको बताए । उनले भने,–‘तर त्यसका लागि कसरी हुन्छ । फ्लाईट शुरु गर्नतर्फ लागौं ।’
पहिले बुद्ध एयरले नेपालगञ्ज– पोखरा उडान गर्ने चर्चा चलेको थियो । उक्त चर्चा सेलाएसंगै फेरी यति एयरले उडान भर्ने कुरा बहसमा आएको छ । नेपालगन्जमा ‘बिजनेश’ बढाउन पोखरासंग सिधा हवाई सम्पर्क जोड्ने बिषयलाई यहाँ महत्वका साथ हेरिएको छ । नेपालगञ्ज–पोखरा हवाई उडानको चर्चा चल्दा भैरहवाबाट भने साउन १५ गतेबाट शुरु गर्ने यति एयरले सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्ज–पोखरा जस्ता घरेलु उडान शुरु गर्न नसके नेपालगन्ज– दिल्ली उडान पनि हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन ।
बैश्यले भने,–‘घरेलुमै हामी सफल भएनौं भने कसरी अन्र्तराष्ट्रिय उडान गर्न कसरी सक्छौ ।’ छलफलमा सहभागि होटल व्यवसायीले नेपालगञ्ज–पोखरा उडानसंगै आफुहरुले पर्यटकिय पूर्वाधार प्रर्बद्धनमा महत्वपुर्ण भूमिका निभाउने उल्लेख गरेका थिए ।
भारतीय पर्यटकलाई नेपालगन्ज हुँदै काठमाण्डौं र पोखरा घुमाउन सके बिजनेश बढ्ने उनीहरुले बताएका छन् । त्यसका लागि होटल व्यवसायी मात्र नभई सबैले प्रचार, प्रसारमा भूमिका खेल्नुपर्ने सुझाव दिइएको छ ।
एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुले उडान शुरु भएपनि बिजनेशको अभावमा सञ्चालन खर्च नजुट्ने बताएका छन् । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहले सानो जहाज उडाउँदा टिकट महङ्गो हुने भएकाले यात्रुले प्रयोग नगर्ने अवस्था आउने बताए ।
उनले भने,–‘तत्काल ठुलो जहाज उडाउने सम्भावना देखिन्न् । सानो जहाज उडाउँदा टिकट महङ्गो पर्न जान्छ ।’