नेपालगन्जमा परोपकारी सहयोग कक्ष


नेपालगन्जमा परोपकारी सहयोग कक्ष

नेपालगन्ज: नेपालगन्जमा परोपकारी सहयोग कक्ष शुरु भएको छ । नेपालगन्ज उप—महानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उप—प्रमुख उमा थापा मगरले उक्त परोपकारी सहयोग कक्षको आज एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घघाटन गरेका छन् ।

बास नेपालगन्जको व्यवस्थापन, गैसस महासंघ नेपाल बाँके शाखा र नेपालगन्ज उप—महानगरपालिकाको सहकार्यमा स्थापित सहयोग कक्षको उद्ध्घाटन समारोहमा बोल्दै नेपालगन्ज उप—महानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नेपालगन्जमा परोपकारी सहयोग कक्षको शुरुवात हुनु भनेको नेपालमै नयाँ कामको सुरुवात भएको बताए ।

बिभिन्न बिकसित मुलुकहरुमा बिभिन्न परोपकारी कार्यहरु संचालन हुदै आएको सुन्दै आएकोमा आज आफ्नै नगरमा यस्तो कार्यको उद्ध्घाटन गर्ने अवसर प्राप्त भएको भन्दै प्रमुख राणाले गरिवीको रेखामुनिका सिमान्तकृत समुदायका नागरिकहरुलाई सहयोग कक्षले सहयोग पुग्ने बताए ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर १ को धम्बोझी चोकमा स्थापना भएको उक्त सहयोग कक्षमा लगाउन मिल्ने पुराना कपडा, जुत्ताचप्पल, भाडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामान नियमित रुपमा राखिने छ । अनाथ तथा गरिब व्यक्तिरुले त्यस्ता सामानहरु सित्तैमा प्रयोग गर्न पाउनेछन् भने सहयोग कक्षका लागि जो कोहीले पनि कपडा लगायतका सामानहरु उपलब्ध गर्न सकिने छ ।

एउटै लुगा धेरै पटक नलगाइ राखेका, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका सामनलाइ व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएर उक्त परोपकारी सहयोग कक्षको स्थापना गरिएको हो ।

बासका महासचिब शिव कुमार वर्माले संचालन गरेको कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका निवर्तमान अध्यक्ष मन भण्डारीले पारेका थिए भने समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा बिभिन्न वडा अध्यक्ष, वडा सदस्यहरु, संघ संस्थाका ब्यक्ति तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो ।