प्रतिकात्मक तस्विर
नेपालगन्ज : गत आर्थिक वर्षमा प्रदेश पाँचमा गाडी खरीदका लागी करिव ३० करोड रुपैयाँ सकिएको छ । प्रदेशसभा सचिवालयले मात्रै ८ करोड ६१ लाख ६७ हजार रुपैयाँका गाडी खरिद गरेको छ ।
विषयगत समितिका सभापतिहरुका ११ वटा टाटा स्ट्रोम किनिएका छन् । तीनको सजावटका लागि ५ लाख समेत खर्च गरिको छ । यस्तै सचिवलाई ५४ लाख पर्ने निशानको टेरानो कार, ३५ लाख ८५ हजारमा एउटा महिन्द्रापिकअप समेत किनिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ४ करोड १३ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ । यसले सो मूल्यमा ३ वटा निशान टेरानो, २ वटा महिन्द्रा पिकअप र २ वटा महिन्द्रा स्कार्पियो खरिद गरेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ करोड १० लाख ४० रुपैयाँ खर्चेर मन्त्रीको लागि टाटा स्ट्रोम, सचिवको लागि डस्टर र अन्य ३ ओटा गाडी किनेको छ । उसले विद्युतीय बस खरीद गर्न बिनियोजन गरेको ५ करोड ५० लाख भने फ्रिज भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले २ करोड ३५ लाख रुपैयाँ खर्च गरेर २ वटा महिन्द्रा स्कार्पियो र २ वटा बोलेरो पिकअपका साथै १० वटा मोटरसाइकल र ५ वटा स्कूटर किनेको छ । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ५७ लाख खर्च गरेको छ । सो मूल्यमा ३ वटा गाडी र ५ ओटा मोटरसाईकल खरीद गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले ३ करोड १७ लाख २६ हजार खर्च गरेर मन्त्रीको लागि टाटा स्ट्रोम, सचिवको लागि स्कर्पियो र मन्त्रालयका लागि ४ वटा महेन्द्र पिकअप किनेको छ । यस्तै,१६ वटा मोटरसाइकल र ५ वटा स्कूटर किनिएका छन् ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले २ करोड २४ लाख ५९ हजार खर्च गरेर २ वटा महेन्द्रा पिकअप र १२ वटा मोटरसाइकल खरीद गरेको छ । भूमि, कृषि तथा सहकारी मन्त्रालयले ३ करोड ४८ लाख ७० हजार खर्च गरेर मन्त्रीलाई टाटा स्ट्रोम, सचिवलाई स्कार्पियोसहित ७ वटा गाडी किनेको थियो ।
उसले कर्मचारीहरुका लागि १२ वटा मोटरसाइकल र ५ वटा स्कूटर पनि खरिद गरेको थियो । यस प्रदेशमा न्यायाधिवक्ताको कार्यालयका लागि ५९ लाख ६४ हजारको सवारीसाधन खरिद भएको छ । यस मूल्यमा एउटा स्कार्पियो र केही दुई पाङग्रे किनिएको हो ।