ईजलास रजिष्ट्रारविहीन


ईजलास रजिष्ट्रारविहीन

नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलास रजिष्ट्रारविहीन बनेको छ । ईजालासमा कार्यरत रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीको सरुवा भएपछि उक्त इजालास रजिष्ट्रारविहीन भएको हो ।

तत्कालिन रजिष्ट्रार भण्डारी ‘वकिललाई चोर’ भनेर विवादमा आएका थिए । विवादमा आएको दुई दिनमै उनको जनकपुर सरुवा भएको छ । नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश विष्णुदेव पौडेलले रजिष्ट्रार भण्डारीको सरुवा भएको जानकारी दिएका छन् ।

भण्डारीको आईतबार उच्च अदालत जनकपुरमा सरुवा भएको उनी बताउँछन् । तर, सरुवाका कारण भने अझै खुल्न नसकेको उनी बताउँछन् । रजिष्ट्रार भण्डारीको सरुवा भए पनि नेपालगन्ज ईजलासमा अर्को रजिष्ट्रार भने पठाइएको छैन ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासले सिटिजन बैंकको सुनकाण्डमा अभियुक्तहरुको धरौटी सम्बन्धी आदेशपछि नेपालगन्जका कानून व्यवसायी र अदालत प्रशासनबीच दरार सुरु भएको थियो ।

अदालतका रजिष्ट्रार भण्डारीले फेसबुकमा ‘नपाउनेले पद पायो भने आफ्नो हैसियत बिर्संदो रहेछ । त्यो चोर हो’ स्टाटस लेखे लगतै उक्त स्टाटसको स्क्रिन सट कानून व्यवसायीबीच आदान–प्रदान चलिरहेकै बेला भण्डारीले आफ्नै स्टाटसको कमेन्टमा ‘वकिल चोरहरु’ लेखेर स्पष्ट पारेपछि कानून व्यवसायी र अदालत प्रशासन बीच दरार शुरु भएको हो ।