दैनिक प्रतिवेदन तयार गर्दै उपमहानगर


दैनिक प्रतिवेदन तयार गर्दै उपमहानगर

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको दैनिक कामकाजलाई अझ प्रभावकारी बनाउन कर्मचारीको दैनिक प्रतिवेदन तयार गर्न थालिएको छ ।

नागरिक सहायता कक्ष संचालन गरेको उप–महानगरपालिकामा दैनिक कर्मचारीको कामको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउनुपर्ने नियम बनाइएको छ । नागरिक सहायता कक्ष मार्फत कर्मचारीले दिनभर गरेको कामको प्रतिवेदन पुग्ने गरेको छ । कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कार्यसम्पादन सम्झौता गर्ने तयारी गरिरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले नगर प्रमुख डाक्टर धवलशम्शेर राणासँग कार्य सम्पादन सम्झौता गर्ने, शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग सम्झौता गर्ने र अन्य कर्मचारीले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्ने तयारी गरिएको छ ।

उपमहानगरपालिकामा विद्युतीय हाजिरीसँगै कर्मचारीका लागि लगबुक समेत राखिएको छ । कर्मचारीले विदामा बस्दा अनिवार्य स्वीकृतिसँगै आफ्नो अनुपस्थितीमा काम गर्ने कर्मचारी समेत दिनुपर्ने नियम राखिएको छ । हरेक उप–महानग पालिकाबासीको स्वास्थ्यमा ध्यान दिदै कार्यालयमा स्टाफनर्स सहित निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिएको प्याकुरेल बताउँछन् ।

उप–महानगरपालिकाले सेवाग्राहीका लागि पिउने पानीसँगै बस्ने ठाउँको पनि ब्यवस्था गरेको छ । गुनासो आएको ५ मिनेटभित्रै सम्बोधन हुने गरि तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए ।