बाघले तान्यो निकुञ्जमा पर्यटक


बाघले तान्यो निकुञ्जमा पर्यटक

नेपालगन्ज: २०६७ सालमा बाँकेमा राष्ट्रिय निकुञ्जको स्थापना भयो । निकुञ्ज सञ्चालनपछि बाघ मात्र होइन वन्यजन्तुको संरक्षण हुन थाले । स्थानीय र निकुञ्जबीचको प्रभावकारी सञ्चार, एकबद्धता र सहकार्यले तिव्रता लिन थाल्यो । जसका कारण बाँके राष्ट्रिय निकुञ्जमा बाघ लगायत वन्यजन्तुको संरक्षण र चोरीसिकारीमा संलग्नहरुलाई निकुञ्जले निस्तेज पार्दै अघि बढ्यो । फलस्वरुप निकुञ्जमा प्रत्येक बर्ष बाघको संख्या बढ्दै गयो ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको साल ४ वटा मात्र पाटे बाघ रहेको गणना गरियो । सन् २०१३ मा गणना भएको उक्त बाघको संख्यामा एकाएक बढोत्तरी भयो । ठिक ५ वर्ष पछि सन् २०१८ मा गरिएको बाघको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या २१ पुग्यो ।

छोटो समयमा नै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, वासस्थान, चित्तल, बँदेल, जरायो, लंगुवा लगायतका बाघका आहारा जन्य वन्यजन्तुमा भएको वृद्धिले पनि बाघको संख्या बढ्दै गए । जसका कारण यतिवेला ‘निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण पर्यटक आउने क्रम बढेको छ,’ बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भने ।

उनका अनुसार, बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी शिकारी नियन्त्रण हुँदा गएपछि बाघको संख्या बढेको हो । उचित आहारा, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको संख्या बढ्दै गएको हो । पर्यटन ब्यवसायी कृष्ण चौधरीले बाघ लगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए ।

‘यहाँ बाघ, गैंडा, हात्ती सहजै देख्न सकिन्छ,’ उनले भने, ‘वन्यजन्तु हेर्न मन पराउने पर्यटकको संख्या बढेको छ ।’ निकुञ्जमा आव.२०७५/०७६ मा १४८ नेपाली, ११ सार्क र एक जना विदेशीसहित १६० जना पर्यटक निकञ्ज घुमेका छन् । निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको सहायक संरक्षण अधिकृत थपलियाले बताए । आव.२०७५/०७६ मा रु.एक करोड ४ लाख ४९ हजार ९८२ राजस्व संकलन भएको छ ।

२०० मारिए, ४३१ को उद्दार
निकुञ्जमा तीन आर्थिक वर्षमा २०० वन्यजन्तु मारिएका छन् । आव.२०७५/०७६ मा भएको सडक दुर्घटनामा ४५ वटा वन्यजन्तु मारिएका छन् निकुञ्जमा आव.२०७४/०७५ मा ७२ वटाको वन्यजन्तुको मृत्यु भएको थियो भने आव. २०७३/०७४ मा ८३ वटा वन्जन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताए । उनका अनुसार निकुञ्जले आव. २०७५/०७६ मा वर्षमा ४३१ वटा वन्यजन्तुको उद्दार गरेको छ । निकुञ्जले आव. २०७४/०७५ मा ११ वटा वन्यजन्तु उद्दार गरेको थियो ।

निकुञ्जमा ५४ मुद्दा, ३७ अदालतमा

वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ थान मुद्दा बाँके राष्ट्रिय निकुञ्जमा दर्ता भएका छन् । निकुञ्जमा दर्ता भएकामध्ये ३७ थान मुद्दा बाँके जिल्ला अदालतमा पठाइएको छ । १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् । यी मुद्दा अदालतमा दर्ता भई विचाराधिन अवस्थामा रहेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाका अनुसार चोरीसिकार गरेको आरोपमा ३३८ जना व्यक्ति पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । १२७ व्यक्ति पक्राउ परेको उनले बताए । अदालतमा दर्ता भएका मुद्दा फैसला भने हुन सकेका छैनन् । निकुञ्जमा रहेका कतिपय मुद्दामा छलफल तथा बहस भए पनि मेलमिलाप तथा कारबाहीका लागि मुद्दा फैसला हुन नसकेको निकुञ्जले जनाएको छ ।

७५ लाख क्षतिपूर्ति

निकुञ्जमा रहेका वन्यजन्तुका भएको क्षतिवापत दुई आर्थिक वर्षमा रु.७५ लाख २१ हजार ११४ वन्यजन्तु पीडितलाई उपलब्ध गराइएको छ । आव.२०७४/०७५ मा रु.१४ लाख २८ हजार ७२ र आव.२०७५/०७६ मा रु.६० लाख ९३ हजार ४२ उपलब्ध गराएको हो । त्यस्तै आव.२०७५/०७६ मा ४१८ घरधुरी र आव. २०७४/०७५ मा ३०५ घरधुरीमा वन्यजन्तुले क्षति पुर्याएको निकुञ्जले जनाएको छ ।