नेपालगन्ज बसपार्क निर्माणमा चरम लापरबाही
नेपालगन्ज: नेपालगन्जमा निर्माण भइरहेको अत्याधुनिक बसपार्कमा चरम लापर्वाही देखिएको छ । बसपार्क निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी यूनाईटेड विल्डर्सको बदमासी र नेपालगन्ज उपमहानगरपालिकाको उदासिनताका कारण लामो समयसम्मपनि बसपार्क निर्माण अधुरै रहेको हो ।
साउन १५ देखि सञ्चालन हुने भनिएको उक्त बसपार्क दुवै निकायको उदासिनताका कारण कहिले सञ्चालन हुन्छ भन्ने बारे अझै अन्यौलता छाएको छ । पालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुमार पौडेलका अनुसार निर्माण कम्पनीका ढिलासुस्तीका कारण तोकिएको पछिल्लो समयमा पनि बसपार्क सचालनमा आउन सकेन । अझै बसपार्कलाई पूर्णरुप दिनका लागि धेरै काम बाँकी छ उनले भने त्यसैले बसपार्क कहिले सञ्चालन हुन्छ भन्ने बारे अझै अनिश्चित छ ।
बसपार्क निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी युनाइटेड बिल्डर्सको बद्मासी र नेपालगन्ज उपमहानगरपालिकाको चरम उदासिनताका कारण अन्तिम पटक तोकिएको सयम (साउन १५) मा पनि निर्माण कार्य सम्पन्न हुन सकेन ।
‘आजैदेखि बसपार्क सञ्चालन गर्ने तयारी गरिएको थियो तर, काम नसकिएकाले त्यो सम्भव छैन,’ नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुमार पौडेलले भने, ‘ठेकेदारकै कारण समयमै काम सम्पन्न हुन नसक्दा बासपार्क सञ्चालन कहिले हुन्छ भन्ने अन्यौलता थपिएको छ ।’
१५ महिनाभित्र सम्पन्न गर्ने गरी २०१६ अप्रिलमा सुरु भएको बसपार्क निर्माणको काम करिब चार बर्षमा सकिने चरणमा फेरि अन्यौलता थपिएको छ । आजैदेखि सञ्चालनमा आउने भनिएको बसपार्क यसपटक पनि सुरु नभएपछि नेपालगन्जबासी निराश बनेका छन् ।
१५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा चार वर्षपछि सकिने चरणमा पुगेको बसपार्क सञ्चालनमा अन्यौलता थपिएको नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले बताए ।
अत्याधुनिक बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण लगभग सकिएको उनले बताए । ‘ठेकेदारसँग जरिवाना (पेनाल्टी) असुलेरै भए पनि नयाँ मिति तोकेर काम सम्पन्न गराउँछौं,’ सूचना अधिकारी पौडेलले भने ।
यता निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालनमा नआउँदै दुर्गन्धित बन्न थालेको छ । निर्माण कार्यमा भएको सुस्तताले संरचनाहरुे जोखिममाछन् ।
बसपार्कमा निर्माण भएको शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भएपनि प्रयोगमा आउन सकेको छैन । शौचालयको उचित संरक्षण र स्यहार नहुदाँ शौचालय दुर्घन्धित बन्दै गइरहेकोछ । शौचालय सरसफाईका लागि समेत निर्माण कम्पनी र नगरपालिकाले चासो दिएका छैनन् ।
त्यस क्षेत्र भएर हिँड्ने बटुवा, यात्रु, सेवाग्राहीदेखि जो कोहीले बसपार्कमा बनेका संरचनालाई शौचालयका रुपमा प्रयोग गरेका छन् । शौचालयमा बनेका सटरहरुभित्र समेत शौच गर्ने गरेको काममा संलग्न कामदारहरुले बताएका छन् ।
बसपार्कभित्र अत्याधुनिक संरचना निर्माणसँगै एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालयहरु बन्द भएका कारण बसपार्कभित्र खुला शौच गर्ने गरिएको छ ।
बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरिसकिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य सुरु गरिएको हो ।
ठेकेदार कम्पनीकै लापरवाहीका कारण नेपालगन्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउण्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ ।
साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीहरुको गुनासो छ ।
यात्रु तथा सवारी साधनलाई सहज हुने गरी निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसक्ने भएपछि अत्याधुनिक बसपार्क निर्माणको काम थालिएको थियो ।
यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । नेपालकै उदाहरणीय अत्याधुनिक बसपार्क बनाउने योजना सुरु भए पनि हालसम्म निर्माण कार्य पुरा नहुँदा बीचमै अल्झिएको छ ।
‘गाडी कहाँ पार्किङ्ग गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको छैन, सडकको हालत उस्तै छ,’ नेपालगन्ज–जाजरकोट रुटका गाडी चालक गोपाल महताराले भने, ‘निर्माणको गति हेर्दा बसपार्क सञ्चालनमा आउन अझै समय लाग्ने देखिन्छ ।’
बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकै सडक छेउका खाली स्थानहरुमा पार्किङ्ग गर्ने गरिएको उनले बताए । बस खोज्न र टिकट काउण्टर पत्ता लगाउन यात्रुलाई समेत मुस्किल पर्ने गरेको छ । सडकमा पार्किङ गर्दा बसहरु असुरक्षित हुने गरेको उनको भनाई छ ।
‘टिकट काउन्टरसमेत भद्रगोल छन्,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी यात्रुले सुरक्षित टिकट काट्ने र हामीले बसपार्कबाट गाडी सञ्चालन गर्न सक्छौं ?’ नेपालगन्ज बसपार्कबाट राजधानी लगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक तीन सय बढी साना ठूला बसहरू सञ्चालनमा रहेका छन् ।