१६ वर्षमै विवाह गर्न पाउँ भन्दै चक्काजाम


१६ वर्षमै विवाह गर्न पाउँ भन्दै चक्काजाम

नेपालगन्ज : १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगन्जका महिलाहरुको एउटा समूहले मंगलबार दिउँसो दुई बजेदेखि तीन बजेसम्म चक्काजाम गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका अगाडी धर्ना दिदै उक्त समूहले चक्काजाम गरेको हो । चक्काजामका कारण नेपालगन्जको सवारी सञ्चालन केहीबेर प्रभावित भएको थियो ।

कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै चक्काजाम गर्ने उक्त समूह कुनै संगठित शक्ति भने होइन । जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्रले दुधे बालक सहितका आमा र बृद्धालाई उचालेर चक्काजाम गर्न लगाएको खुलेको छ ।

सामाजिक कार्यकर्ताका रुपमा चिनाउन चाहने मिश्रले जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाबाट दर्जनौ महिलालाई सडकमा उतारेका थिए ।
यही समूहले यसअघि जानकी गाउँपालिकामा छोरीको बिवाहको सम्पुर्ण खर्च दिनुपर्ने माग सहित धर्ना दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा मिश्रकै समूहले १६ वर्षमुनीका किशोरीले बिहे गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । उपमहानगरपालिकाका कार्यवहाक मेयर जुम्मन खाँलाई पनि ज्ञापनपत्र बुझाउँदै २० वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समूदाय’का चेलीलाई समस्या हुने दावी गर्दै १६ वर्षमै बिवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको मिश्रले बताए ।